प्रविधि

पीएस५ गेमको बिक्री बढ्दा पनि कन्सोलको माग पूरा गर्न संघर्ष गर्दै सोनी

पीएस५ गेमको बिक्री बढ्दा पनि कन्सोलको माग पूरा गर्न संघर्ष गर्दै सोनी
Global IME Bank

जापानी प्रविधि कम्पनी सोनीले प्लेस्टेसन ५ (पीएस५) कन्सोलको बिक्रीमा गिरावट बेहोरे पनि गेम बिक्री र अनलाइन सेवाबाट हुने आम्दानी बढाएको छ।

सन् २०२६ को दोस्रो त्रैमासिकमा कम्पनीको गेमिङ व्यवसायको आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतले बढेको छ भने नाफा ८३ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले यस वर्षको दोस्रो त्रैमासिकमा २६ लाख थान पीएस५ कन्सोल बिक्री गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ४० लाख थान कन्सोल बिक्री भएको थियो। र्‍यामको अभाव र आयात शुल्कका कारण कन्सोलको मूल्य बढ्नु तथा बजारमा उपलब्धता घट्नुले बिक्री प्रभावित भएको बताइएको छ।

कन्सोल बिक्री घटे पनि गेमको बिक्री भने बढेको छ। अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा यसपटक पहिलो र तेस्रो पक्षका गेम गरी ९८ लाख थान बढी बिक्री भएका छन्।

सोनीका अनुसार यस त्रैमासिकमा बिक्री भएका पूर्ण गेममध्ये ७८ प्रतिशत डिजिटल डाउनलोडमार्फत बिक्री भएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा ७२ प्रतिशत थियो।

गेम सफ्टवेयरबाट कम्पनीले यस त्रैमासिकमा ७०८ अर्ब ५० करोड जापानी येन (करिब ४ अर्ब ४८ करोड अमेरिकी डलर) आम्दानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ६२९ अर्ब ३० करोड येन (करिब ३ अर्ब ९८ करोड डलर) थियो। त्यस्तै, प्लेस्टेसन नेटवर्कका अनलाइन सेवाबाट हुने आम्दानी १९.५ प्रतिशतले बढेर २१८ अर्ब ३० करोड येन (करिब १ अर्ब ३८ करोड डलर) पुगेको छ।

इन्ग्याजैटका अनुसार व्यक्तिगत गेममध्ये ‘मार्भल्स वुल्भरिन’ ले राम्रो बिक्री गरेको छ। नोभेम्बर ४ सम्ममा उक्त गेम २४ लाख प्रति बिक्री भएको सोनीले जनाएको छ। यो गेम सार्वजनिक भएको करिब ५० दिनको अवधिको बिक्री हो। त्यस्तै, सन् २०२५ अक्टोबर २ मा सार्वजनिक भएको ‘घोस्ट अफ योतेई’ ३३ लाख प्रति बिक्री भएको कम्पनीको पछिल्लो तथ्यांक छ।

सन् २०२० जुनमा सार्वजनिक भएको पीएस५ को कुल बिक्री ९ करोड ७९ लाख थान पुगेको छ। यससँगै सोनी १ करोड थानको बिक्री आँकडा नजिक पुगेको छ। आगामी बिदाको समयमा हुने बिक्रीले यो संख्या पार गर्ने अपेक्षा गरिएको छ।

तर, नोभेम्बर १९ मा सार्वजनिक हुन लागेको बहुप्रतीक्षित गेम ‘ग्रान्ड थेफ्ट अटो ६’ का कारण पीएस५ को माग थप बढ्ने अनुमान गरिएको छ। उक्त गेम पीएस५ र एक्सबक्स सिरिज एक्स तथा एसमा उपलब्ध हुनेछ। यसको अग्रिम अर्डरबाट मात्रै ७५ करोड डलर आम्दानी भएको दाबी गरिएको छ।

विशेषगरी पीएस५ प्रोको माग उच्च रहेको छ। केही खुद्रा विक्रेताले सीमित संख्यामा उपलब्ध कन्सोल किन्ने अवसर वितरण गर्न चिठ्ठा प्रणालीसमेत अपनाउन थालेका छन्। यसले कन्सोलको माग र उपलब्धताबीचको असन्तुलन देखाएको छ।

सोनीले यसअघि बढ्दो माग पूरा गर्न पर्याप्त मेमोरी भण्डारण सामग्रीको व्यवस्था गरेको बताएको थियो। तर, पछिल्लो समय कम्पनीले आफ्ना वितरण साझेदारलाई अस्थायी रूपमा बजारमा आपूर्ति सीमित हुने र माग उच्च रहने जानकारी दिएको बताइएको छ। यसका कारण आगामी वर्षसम्म पनि खुद्रा बजारमा पीएस५ कन्सोलको उपलब्धता प्रभावित हुन सक्नेछ।

Sajilo Visa
easy care