स्थानीय चुनावमा विद्युतीय भोटिङ मेशिनको प्रयोग: छैन कानूनी बाध्यता, सम्भावना प्रबल

Technology Khabar ५ फाल्गुन २०७८, बिहीबार

स्थानीय चुनावमा विद्युतीय भोटिङ मेशिनको प्रयोग: छैन कानूनी बाध्यता, सम्भावना प्रबल

काठमाडौं ।

-साजन सुवेदी

स्थानीय चुनावमा विद्युतीय भोटिङ मेशिन प्रयोगका सम्भावना बारेमा  सूचना प्रविधि निर्वाचन आयोगले गठन गरेको विज्ञ समूहले आयोगसमक्ष प्रतिवेदन बुझाएको छ।

गत माघ २६ गते आयोगले सरल र सस्तो हुने यो प्रविधि आगामी चुनावहरुमा प्रयोगमा ल्याउन कत्तिको सम्भावना छ भनेर नेपाल सरकारका विभिन्न निकायका सूचना प्रविधि विज्ञहरुको उपस्थितिमा छलफल गराएको थियो।

विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टलगायतका सूचना प्रविधि विज्ञहरुबीच भएको छलफलमा विद्युतीय भोटिङ मेशिन निर्माता रामलक्ष्मण इनोभेसन्सद्वारा विद्युतीय भोटिङ मेशिनमार्फत हुने मतदानको नमूना पनि प्रदर्शन गरिएको थियो।

सम्बन्धित समाचार-

स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ्ग बारे अध्ययन गर्न कार्यदल गठन

छलफलमा प्रविधिको प्रयोग प्रति सकारात्मक धारणा उठेका र यसको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तको नेतृत्वमा एउटा कार्यदल गठन गरिएको थियो।

सोही कार्यदलले आयोगसमक्ष बुधबार आफ्नो प्रतिवेदन बुझाएको सो कार्यदलका संयोजक दत्तले टेक्नोलोजीखबर लाई जानकारी दिए।

उनले भने, ‘हाम्रो कार्यदलले आयोगलाई प्रतिवेदन बुझाइसकेको छ र प्रतिवेदनमा विद्युतीय मतदान प्रति सकारात्मक छ। कानूनले पनि नछेक्ने र यसअघि प्रतिनिधि सभाको साथै उप निर्वाचनामा पनि प्रयोग गरिसकिएकाले यसलाई प्रयोग गर्न सकिने निष्कर्ष सहितको प्रतिवेदन बुझाइएको हो।’

दत्तका अनुसार प्राविधिक र सम्भाव्यताका हिसाबले यसलाई देशभर नभई कुनै निश्चित क्षेत्रमा प्रयोग गर्न सकिने तर कुन ठाउँमा र कति ओटा मेशिन प्रयोग गर्ने भन्ने कुरा निर्वाचन आयोगको निर्णयमा भर पर्ने उनले जानकारी दिए।

प्रतिवेदनमा विद्युतीय भोटिङ मेशिन प्रयोगबारे सकारात्मक निष्कर्ष आएकाले अब प्रयोग हुने मेशिनको गुणस्तर र विश्वसनीयताको जाँच पड्ताल गर्न एउटा प्राविधिक टोली गठन हुने र उक्त टोलीको निष्कर्षपछि मात्रै आयोगले निर्णय दिन सक्ने बुझिएको छ।

यस विषयमा जानकार स्रोतले काठमाडौंको कुनै क्षेत्रमा विद्युतीय भोटिङ मेशिनमार्फत मतदान गराउन सकिने संभावना बारेमा समेत प्रतिवेदनमा उल्लेख गरिएको बताएको छ।

नेपालमा पहिलो पटक २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा विद्युतीय मतदान भएको थियो। त्यसपछि २०६५ र २०७१ सालको निर्वाचनमा पनि विद्युतीय मेसिन प्रयोग भएको थियो।

२०६५ सालको उपनिर्वाचनमा ६ निर्वाचन क्षेत्र र २०७१ को संविधानसभा सदस्यको उपनिर्वाचनमा पाँच निर्वाचन क्षेत्रमा विद्युतीय मेसिन प्रयोग गरिएको थियो।

यो पनि हेर्नुस्-

विद्युतीय भोटिङ मेशिन प्रयोगबारे विज्ञहरुको छलफल: होला त आगामी निर्वाचनमा प्रविधिको प्रयोग?

easy care

प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार