विद्युतीय भोटिङ मेशिन प्रयोगबारे विज्ञहरुको छलफल: होला त आगामी निर्वाचनमा प्रविधिको प्रयोग?

Technology Khabar २६ माघ २०७८, बुधबार

विद्युतीय भोटिङ मेशिन प्रयोगबारे विज्ञहरुको छलफल: होला त आगामी निर्वाचनमा प्रविधिको प्रयोग?

काठमाडौं ।

-साजन सुवेदी

निर्वाचन आयोगले विद्युतीय भोटिङ मेशिन प्रयोगका सम्भावना बारेमा सूचना प्रविधि विज्ञहरुसँग छलफल गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भविष्यमा आउने चुनावहरु र सम्भव भए आसन्न स्थानीय निकयको चुनावमा पनि विद्युतीय भोटिङ मेशिनमार्फत् मतदानको सम्भाव्यता अध्ययनका लागि सरकारका विभिन्न निकायका सूचना प्रविधि विज्ञहरुका बीच छलफल र भोटिङ मेशिनमार्फत् मतदानको प्रदर्शन पनि गरिएको जानकारी दिए।

दिउँसो आयोगमा विज्ञान तथा प्रविधि पतिष्ठान नास्टलगायतका सूचना प्रविधि विज्ञहरुबीच छलफल तथा विद्युतीय भोटिङ मेशिन निर्माता रामलक्षमण इनोभेसन्सद्वारा विद्युतीय भोटिङ मेशिनमार्फत हुने मतदानको नमूना प्रदर्शन गरिएको थियो।

सम्भाव्यता छलफल, कार्यदल गठन: प्रवक्ता पाैडेल

‘आजको छलफल निर्वाचनमा विद्युतीय मतदानको सम्भाव्यताबारेको विषय प्रवेश मात्र हो। छलफलपछि विज्ञहरुको एउटा कार्यदल गठन भएको छ र यसले सात दिनभित्र विद्युतीय भोटिङ मेशिन प्रयोगको सम्भावनाबारे प्रतिवेदन बुझाउनेछ’, आयोगका प्रवक्ता पौडेल टेक्नोलोजी‍खबरलाई बताए।

आ‍योगमा भएको सम्भाव्याता छलफल तथा नमूना प्रदर्शनीबारे बताउँदै संस्थाका संस्थापक लक्ष्मण रिमालले नास्ट, उद्योग विभागलगायतका नेपाल सरकारका उच्चपदस्थ आईटी विज्ञहरुका अगाडि आफ्नो यसअघि धेरै संस्थाका निर्वाचनमा सफलतापूर्वक प्रयोग भइसकेको विद्युतीय भोटिङ मेशिनको कामको नमूना प्रदर्शन गर्न पाउँदा खुसी लागेको बताए।

सकारात्मक प्रतिक्रिया: लक्ष्मण रिमाल

उनले छलफलबाट विज्ञहरुको एउटा कार्यदल बनेको र उक्त कार्यदलले भोटिङ मेशिन प्रयोगको सम्भाव्यताबारे १ हप्तापछि प्रतिवेदन बुझाउने बताउँदै नमूना प्रदर्शनप्रतिको सहभागीहरुको प्रतिक्रियाले देशभर नभए पनि निश्चित क्षेत्रमा भोटिङ मेशिनको प्रयोगका लागि आयोगबाट सकारात्मक निर्णय आउनेमा आशावादी रहेको पनि उल्लेख गरे।

‘आयोगमा यो भोटिङ मेशिनमार्फत् कसरी काम गर्न सकिन्छ, यसलाई कसरी अगाडि बढाउन सकिन्छ तथा सर्टिफिकेशन कसरी गर्न सकिन्छ भन्ने लगायतका विषयमा छलफल भयो’, रिमालले भने।

उनले कार्यदलको प्रतिवेदन आएपछि यसको प्रक्रिया अघि बढ्ने र छलफलमा विज्ञहरुको सकारात्मक प्रतिक्रिया आएकोले आशावादी रहेको पनि बताए।

‘आगामी निर्वाचनमा काठमाडाैं उपत्यकाभरी विद्युतीय मतदान गराउन सक्छाैं ‘ 

‘कार्यदलको प्रतिवेदनपछि सरकारले अनुमोदन गरेर इजाजत दिएमा हामी देशभर नभए पनि काठमाडाैं उपत्यकाभित्र विद्युतीय मतदान गराउन सक्षम छाैं’, रिमालले थपे।

आफूहरुले पछिल्लो समयमा राप्रपा तथा एमालेको अधिवेशनजस्तो जटिल चुनावमा आफूहरुले सफलतापूर्वक विद्युतीय भोटिङ मेशिनमार्फत् विद्युतीय मतदान सम्पन्न गराएकाले सरकारले इजाजत दिएमा आवश्यक उपकरणहरु खरिदको प्रक्रियामा जाने उनको भनाई छ।

आजको छलफलमा सहभागीहरु विद्युतीय मतदानका बारेमा निकै उत्साहित रहेको र आसन्न चुनावका कहीँ बाट शुरु गर्नुपर्छ भन्ने विचार उठेको र आफूहरु पनि मतदान गराउन सक्नेमा विश्वस्त भए पनि सरकारी कामको अलि लामो प्रक्रिया हुने भएकाले प्रतिवेदन र निर्णय आएपछि नै काम अगाडि बढाउने उनले बताए।

‘हामी आन्तरिक कार्यमा जुटिसकेका छाैं तर आयोगबाट निश्चित हिसाबले यति सङ्ख्यामा भोटिङ मेशिन चाहिन्छ भन्ने लिखित पत्र र खरिद प्रक्रियाको सुनिश्चितता नभई हामी मेशिनको बृहत् उत्पादन शुरु गर्न सक्दैनाैं, रिमालले थपे।

मेशिनको सङ्ख्या र खरिद प्रक्रियाको सुनिश्चितता लिखित रुपमा आएपछि भने विज्ञहरुले भने झैं आगामी स्थानीय निर्वाचनमा कमसेकम काठमाडाैं उपत्यकाभित्र विद्युतीय मतदान गराउन सक्ने रिमाललको दावी छ।

यो पनि पढ्नुहोस्

विद्युतीय भोटिङः कांग्रेसले पत्याएन, अन्यत्र बढ्दैछ माग

तस्बिर साैजन्य: लक्ष्मण रिमाल

easy care

प्रकाशित: २६ माघ २०७८, बुधबार

ताजा समाचार