चीनका ह्याकरहरुले आफ्नो मेल सर्भरमा साइबर आक्रमण गरेको माइक्रोसफ्टको आरोप

Technology Khabar १९ फाल्गुन २०७७, बुधबार

चीनका ह्याकरहरुले आफ्नो मेल सर्भरमा साइबर आक्रमण गरेको माइक्रोसफ्टको आरोप

काठमाडौं ।

टेक जायन्ट माइक्रोसफ्टले चीनका ह्याकर समूहले आफ्नो मेल सर्भर सफ्टवेयरमा आक्रमण गरेको आरोप लगाएको छ।

माइक्रोसफ्टले ती ह्याकरहरु चीन सरकारले नै परिचालन गरेको र ‘उच्च क्षमताका तथा अनुभवी खेलाडी’ भएका आरोप लगाएको छ।

कम्पनीले हालै एउटा ब्लगमार्फत् आफ्ना विभिन्न भर्जनमा रहेका सफ्टवेयरका यसअघि पत्ता नलागेका कमजोरीहरुमा आक्रमण गरिएको बताएको छ। सुरक्षा कमजोरीका कारण ती ह्याकरहरुले इमेल इन्बक्सहरुलाई रिमोट एक्सेस गरेको उसको आरोप छ।

माइक्रोसफ्ट थ्रेट इन्टेलिजेन्स सेन्टरले यो आक्रमण चीन सरकारद्वारा प्रायोजित तथा चीनभन्दा बाहिरबाट सञ्चालित हाफ्नियम नामक ह्याकरहरुको संस्थाले गरेको ठोकुवा गरेको छ।

हाफ्नियमले विशेष गरी संक्रामक रोग अनुसन्धान, ल फर्महरु, उच्च शिक्षण संस्थाहरु तथा सुरक्षा ठेकेदारहरुका इमेलमा आक्रमण गरेको माइक्रोसफ्टकले आरोप लगाएको छ।

यस बाहेक नीति निर्माणका थिंक ट्याङ्क तथा गैर सरकारी संस्थाहरु पनि ह्याकरहरुको सुरुवाती निशानामा परेको बताइएको छ।

माइक्रोसफ्टले पछिल्लो १२ महिनामा कुनै राज्यद्वारा सञ्चालित समूहलाई आफ्ना नागरिकसँग सम्बन्धित संस्थाहरुलाई आघात पुर्याउन खोजेको भन्दै सार्वजनिक रुपमै आरोप लगाएको यो आठाैं पटक हो।

माइक्रोसफ्टका अनुसार हाफ्नियम चीनको कम्पनी भएपनि अमेरिकामा लिजमा लिइएका भर्चुअल प्राइभेट सर्भरमार्फत् यस्ता आक्रमण गरिरहेको छ।

यसबाहेक माइक्रोसफ्टले हाफ्नियमले आफ्ना अफिस ३६५ का प्रयोगकर्ताहरुसँग पनि कुराकानी गरेको आरोप लगाएको छ। यसैबीच सुरक्षा खतरालाई मध्यनजर गर्दै माइक्रोसफ्टले सफ्टवेयर अपडेट रिलिज गरेको छ।

माइक्रोसफ्टले यी आक्रमणहरु अमेरिकाका सरकारी निकायहरुमा गएको वर्ष आक्रमण गर्ने सोलर विन्ड्ससँग कुनै प्रकारले सम्बन्धित नरहेको प्रष्ट पारेको छ।

easy care

प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार

ताजा समाचार