सूचना महामार्ग पूर्वाधारअन्तरगत अप्टिकल फाइबर २४० किमी बिछ्याईयो, प्रगति ११.५२ प्रतिशत मात्रै

Technology Khabar १ जेष्ठ २०७७, बिहीबार

सूचना महामार्ग पूर्वाधारअन्तरगत अप्टिकल फाइबर २४० किमी बिछ्याईयो, प्रगति ११.५२ प्रतिशत मात्रै

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषअन्तरगत संचालित सूचना महामार्ग पूर्वाधार निर्माण अन्तरगत हालसम्म २४० किलोमिटर अप्टिकल फाइबर बिछ्याईएको जानकारी दिएको छ ।

प्राधिकरणकाअनुसार कुल ६ हजार ३३१ किलोमिटरमध्ये ११.५२ प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ।

प्राधिकरणले आज ब्रोडब्याण्ड इन्टरनेट एक्सेस र सूचना महामार्ग पूर्वाधार निर्माणमा भएका हालसम्मको प्रगति बिबरणहरु सार्वजनिक गरेको छ ।

जसअन्तरगत वैशाख मसान्तसम्म केबल २४० किलोमिटर अप्टिकल फाइबर प्याकेज १ अन्तरगत बिछ्याईएको छ ।

सूचना महामार्ग पूर्वाधार निर्माण (इन्फर्मेशन हाईवे) अन्तरगत मध्यपहाडी लोकमार्ग भएर सबै जिल्ला सदरमुकामसम्म ब्रोडब्याण्ड अप्टिकल फाइबर बिछ्याउने योजना रहेको छ ।

अप्टिकल फाइबर

सो योजनालाई तीनवटा प्याकेजमा विभागन गरिएकोमा २०७७ वैशाख मसान्तसम्म २४० किलोमिटर अप्टिकल फाइबर बिछ्याईएको छ ।

सम्झौताअनुसार प्याकेज १ को प्रदेश १, २ र ३ मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले २ हजार २७९ किलोमिटर, प्याकेज २ अन्तरगत प्रदेश नम्बर ४ र ५ मा यूनाइटेड टेलिकम लिमिटेड(यूटिएल)द्धारा २ हजार १६० किलोमिटर तथा प्याकेज ३ अन्तरगत प्रदेश नम्बर ६ र ७ मा नेपाल टेलिकमले १ हजार ९९२ किलोमिटर अप्टिकल फाइबर नेटवर्क निर्माण गर्नुपर्ने थियो ।

कुल ६ हजार ३३१ किलोमिटरमध्ये केबल नेपाल टेलिकमले प्याकेज १ अन्तरगत २४० किलोमिटरमात्र बिछ्याउन सफल भएको हो ।

प्रतिशतको आधारमा हेर्दा हालसम्मको अप्टिकल फाइबर बिछ्याउने कार्यको प्रगति ११.५२ प्रतिशत मात्र रहेको छ।

डिडब्लूडिएम जडान

सूचना महामार्गअन्तरगत नै डिडब्लूडिएम तथा राउटर उपकरण जडान गर्नेमा प्याकेज १ अन्तरगत डिडब्लुडिएम उपकरण २६ वटा, प्याकेज २ अन्तरगत २१ वटा र प्याकेज ३ अन्तरगत २८ वटा जडान गर्नुपर्ने सम्झौता रहेको छ । तर हालको अवधिसम्म डिडब्लूडिएम प्याकेज १ अन्तरगत नेपाल टेलिकमले मात्रै २५ वटा जडान गर्न सकेको देखिन्छ ।

कोर राउटर जडान

सम्झौता बमोजिम जडान गर्नुपर्ने जम्मा कोर राउटरहरु प्याकेज १ मा ४८ वटा प्याकेज २ मा ७३ वटा र प्याकेज ३ मा ५६ वटा रहेको थिए । जसमध्ये हालसम्म प्याकेज १ मा नेपाल टेलिकमले १७ वटा मात्र जडान गर्न सफल भएको छ ।

सोहि योजनाअन्तरगत माईक्रोवेभ लिंक जडानमध्ये प्याकेज ३ अन्तरगत नेपाल टेलिकमले १८ वटा जडान गर्नुपर्ने हुन्छ जसमा कुनैपनि जडान भएका छैनन् ।

प्याकेज १ अन्तरगत नेपाल टेलिकमले सुधारोन्मुख कार्य गरेको देखिएपनि प्याकेज २ मा यूटिएलले काम नगर्दा प्राधिकरणले समय थप गर्न अस्विकार गरेर सम्झौता स्वत खारेज भएको थियो । त्यसपछि यूटिएलले अदालतमा मुद्धा दायर गरेकामा हालसम्म विचाराधिन रहेको छ भने प्याकेज ३ को कामको लागि प्राधिकरणले स्मार्ट टेलिकमले पाएको ठेक्का अघिल्लो वर्ष नेपाल टेलिकमलाई दिएको थियो ।

स्मार्ट टेलिकमले समयमा काम सम्पन्न गर्न नसकेको भन्दै प्राधिकरणले समय थप गर्न अस्विकार गरेपछि सो सम्झौता स्वत खारेज भएको थियो । त्यसपछि लगत्तै सोहि ठेक्का नेपाल टेलिकमलाई दिएर गत माघमा सम्झौता गरिएको थियो ।

प्राधिकरणले प्याकेज ३ को हकमा २ वर्षभित्र कार्य सम्पन्न गर्ने गरी टेलिकमसँग सम्झौता भएको तर कोभिड-१९ को महामारीका कारण बोलपत्र आव्हान गरी खरिद प्रकृया अगाडि बढ्न नसकेको बताएको छ ।

यसबाहेक प्राधिकरणले भुकम्प प्रभावित जिल्लाहरु काभ्रे, सिन्धुपाल्चोक, रसुवा र नुवाकोटका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतमा संचालनमा नरहेका ठाउँमा ब्रोडब्याण्ड सेवा पुन: सुचारु गरी सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिईएको उल्लेख गरेको छ।

यसअघि सो स्थानमा जडान भएका ब्रोडब्याण्ड सेवाहरु २ वर्ष सम्झौता सकिएपनि बन्दको अवस्थामा रहेका थिए ।

यो पनि हेर्नुस्-

मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण शुरु, प्रधानमन्त्रीले गरे शिलान्यास

 

easy care

प्रकाशित: १ जेष्ठ २०७७, बिहीबार

ताजा समाचार