मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण शुरु, प्रधानमन्त्रीले गरे शिलान्यास

Technology Khabar ६ जेष्ठ २०७६, सोमबार

मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण शुरु, प्रधानमन्त्रीले गरे शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीबाट मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै । फाईल फोटो ।

काठमाडौं ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीबाट मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गरेका छन्।

अप्टिकल फाइबर बिछ्याउने कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको पूर्वको पाँचथरदेखि पश्चिमको बैतडीसम्म सूचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताए।

उनले जेठ १५ मा प्रस्तुत हुने आगामी वर्षको बजेटले देश विकासको गियर बढाउने समेत बताए ।

नेपाल टेलिकमले यो योजना आगामी २ वर्षभित्र सक्ने तयारी गरेको छ । मध्य पहाडी लोकमार्गमा बिछ्याउने सो अप्टिकल फाइबर धादिङको गल्छि गाउँपालिका मासटारका साथसाथै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि एकै पटक शुरुवातको घोषणा गरिएको नेपाल टेलिकमले जानकारी दिएको छ ।

मध्य पहाडी लोकमार्ग अन्तगर्त प्रदेश १, २ र ३ मा पर्ने विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको थियो ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत पूर्वको पाँचथर जिल्लाको चियो भञ्ज्याङदेखि पश्चिममा गोर्खा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउनका लागि नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच २०७३ असोज १२ गते सम्झौतामा हस्ताक्षर भएको थियो । सोहि सम्झौताअनुसार टेलिकमले अप्टिकल फाइबर बिछ्याउने काम शुरु गर्न लागेको हो ।

सो आयोजना समयमै सम्पन्न गर्नका लागि टेलिकमले ५ वटा कम्पनीसँग सम्झौता गरेको छ । गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा सम्पन्न सम्झौताअनुसार प्रदेश १ को ५ सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स र प्रदेश २ को १ हजार २८ किलोमिटरको काम आरोग्य कन्स्ट्रक्सन नेपाल, चाइना रेलवे र चाइना फ्युलको ज्वाइन्ट भेन्चरले जिम्मा लिएका छन् । यसैगरी प्रदेश ३ को ५ सय ५५ किलोमिटर फाइबर बिछ्याउने काम हङकङको सीसीएसआई (चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल)ले गर्ने भएको छ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत चियो भञ्ज्याङदेखि आरुघाटसम्म कुल ८ सय ४ किलोमिटर तथा उक्त मार्गको उत्तर(दक्षिण क्षेत्रमा १ हजार ५ सय ७२ किलोमिटरको स्पर लींक गरी कुल २ हजार ३ सय ७६ किलोमिटर अप्टिकल नेटवर्कमा जोडिने योजना अघि बढाइएको छ । यसका साथै १००जी क्षमताको पूर्वाधार बिस्तार गर्ने योजनामा रहेको छ ।

नेपाल टेलिकमले लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने छ । त्यसैगरी लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर ४८ कोर र विभिन्न नगरपालिका जोड्ने अप्टिकल फाइबर २४ कोरका हुने बताईएको छ । उक्त सडक खण्डको उत्तर–दक्षिण क्षेत्रमा पर्ने प्रदेश नम्बर १, २ र ३ अन्तर्गतका ३२ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकाहरुमा अप्टिकल नेटवर्क विस्तार गर्नेछ ।

मुलुकभरका जिल्ला सदरमुकाम र यसमार्फत सम्पूर्ण गाउँपालिका, विद्यालय र स्वास्थ्य चौकी आदिमा ब्रोडब्यान्ड नेटवर्क पु¥याउने सरकारी नीति अनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्य द्रूत गतिमा अघि बढाउन लागिएको हो । ब्रोडब्यान्ड नेटवर्क र एफटीटीएच सेवाको उपलब्धतासँगै विद्यमान कपर (तामा) तारबाट सञ्चालित स्थानीय टेलिफोन सेवालाई अप्टिकल फाइबरमा रुपान्तरण गरिने टेलिकमको भनाई छ ।

Global Bank
easy care

प्रकाशित: ६ जेष्ठ २०७६, सोमबार

ताजा समाचार