टेलिकमले मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिस्तार गर्ने, ३ स्थानबाट शुरुवात हुँदै

Technology Khabar ५ जेष्ठ २०७६, आईतवार

टेलिकमले मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिस्तार गर्ने, ३ स्थानबाट शुरुवात हुँदै

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले जिम्मा पाएको मध्य पहाडी लोकमार्गअन्तरगत प्रदेश नम्बर १, २ र ३ मा गरिने अप्टिकल फाइबर बिस्तारको काम सोमबारदेखि शुरु हुनेभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन गरेर शुरु हुने सो अप्टिकल फाइबर बिछ्याउने कार्य एकै पटक तीन स्थानबाट गरिने टेलिकमले जानकारी दिएको छ ।

मध्य पहाडी लोकमार्गमा बिछ्याउने सो अप्टिकल फाइबर धादिङको गल्छि गाउँपालिका मासटारबाट शुरु हुनेछ भने सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि एकै पटक शुरुवातको घोषणा गर्ने तयारी नेपाल टेलिकमले गरेको छ ।

मध्य पहाडी लोकमार्ग अन्तगर्त प्रदेश १, २ र ३ मा पर्ने विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको थियो । मध्य पहाडी लोकमार्ग अन्तर्गत पूर्वको पाँचथर जिल्लाको चियो भञ्ज्याङदेखि पश्चिममा गोर्खा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउनका लागि नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच २०७३ असोज १२ गते सम्झौतामा हस्ताक्षर भएको थियो । सोहि सम्झौताअनुसार टेलिकमले अप्टिकल फाइबर बिछ्याउने काम शुरु गर्न लागेको हो ।

सो आयोजना समयमै सम्पन्न गर्नका लागि टेलिकमले ५ वटा कम्पनीसँग सम्झौता गरेको छ । गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा सम्पन्न सम्झौताअनुसार प्रदेश १ को ५ सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स र प्रदेश २ को १ हजार २८ किलोमिटरको काम आरोग्य कन्स्ट्रक्सन नेपाल, चाइना रेलवे र चाइना फ्युलको ज्वाइन्ट भेन्चरले जिम्मा लिएका छन् ।

यसैगरी प्रदेश ३ को ५ सय ५५ किलोमिटर फाइबर बिछ्याउने काम हङकङको सीसीएसआई (चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल)ले गर्ने भएको छ । DWDM इक्विपमेन्टका लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ भने राउटर इक्विपमेन्टका लागि सिंगापुरको सिटियस कम्युनिकेसन्ससँग सम्झौता गरिएको टेलिकमले उल्लेख गरेको छ ।

मध्य पहाडी लोकमार्गका उल्लेखित क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउने कार्यका लागि आवश्यक रकम नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत नेपाल टेलिकमलाई उपलब्ध गराउने छ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत चियो भञ्ज्याङदेखि आरुघाटसम्म कुल ८ सय ४ किलोमिटर तथा उक्त मार्गको उत्तर(दक्षिण क्षेत्रमा १ हजार ५ सय ७२ किलोमिटरको स्पर लींक गरी कुल २ हजार ३ सय ७६ किलोमिटर अप्टिकल नेटवर्कमा जोडिने योजना अघि बढाइएको छ । यसका साथै १००जी क्षमताको पूर्वाधार बिस्तार गर्ने योजनामा रहेकोे छ ।

नेपाल टेलिकमले लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने छ । त्यसैगरी लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर ४८ कोर र विभिन्न नगरपालिका जोड्ने अप्टिकल फाइबर २४ कोरको हुने बताईएको छ । उक्त सडक खण्डको उत्तर–दक्षिण क्षेत्रमा पर्ने प्रदेश नम्बर १, २ र ३ अन्तर्गतका ३२ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकाहरुमा अप्टिकल नेटवर्क विस्तार गर्नेछ ।

मुलुकभरका जिल्ला सदरमुकाम र यसमार्फत सम्पूर्ण गाउँपालिका, विद्यालय र स्वास्थ्य चौकी आदिमा ब्रोडब्यान्ड नेटवर्क पु¥याउने सरकारी नीति अनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्य द्रूत गतिमा अघि बढाउन लागिएको हो । ब्रोडब्यान्ड नेटवर्क र एफटीटीएच सेवाको उपलब्धतासँगै विद्यमान कपर (तामा) तारबाट सञ्चालित स्थानीय टेलिफोन सेवालाई अप्टिकल फाइबरमा रुपान्तरण गरिने टेलिकमको भनाई छ ।

एफटीटीएच सेवा अन्तरगत एउटै अप्टिकल फाइबर मार्फत प्रयोगकर्ताहरूलाई टेलिफोन, उच्च गतिको इन्टरनेट तथा आइपी प्रविधिमा आधारित टेलिभिजन तथा भिडियो सेवा पनि प्रदान गर्न सकिनेछ । चरणबद्धरूपमा हाल इन्टरनेट प्रयोगको लागि प्रदान गरिएको एडीएसएल सेवालाई एफटीटीएचमा रुपान्तरण गरिने र नयाँ ग्राहकहरूलाई पनि एफटीटीएच सेवा उपलब्ध गराउने टेलिकमले उल्लेख गरेको छ ।

easy care

प्रकाशित: ५ जेष्ठ २०७६, आईतवार