चालु आर्थिक वर्षमा फाइभजी परीक्षणको आशा तुहियो, भाका सार्दै नेपाल टेलिकम

Technology Khabar २२ असार २०७९, बुधबार

चालु आर्थिक वर्षमा फाइभजी परीक्षणको आशा तुहियो, भाका सार्दै नेपाल टेलिकम

काठमाडौं ।

चालु आर्थिक वर्षमा नेपालमा फाइभजी सेवाको परीक्षण नहुने भएको छ। आवश्यक उपकरण आपूर्तिमा ढिलाई हुँदा चालु आवमा योजना अनुरुपको फाइभजी परीक्षण गर्न सम्भव नदेखिएको सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन्।

२०७८ कात्तिक २९ गतेको नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले नेपाल टेलिकमलाई फाइभजी परीक्षणको अनुमति दिएको थियो।

प्राधिकरणले टेलिकमलाई फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ।

फाइभजी परीक्षणका लागि टेलिकमले २५०० मेगाहर्जदेखि २५६० मेगाहर्जबीच कूल ६० मेगाहर्ज फ्रिक्वेन्सी उपयोग गर्नसक्नेछ।

टेलिकमका निवर्तमान प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले २०७८ मंसिरमा टेक्नोलोजीखबरसँग कुराकानी गदै फाइभजीका लागि आवश्यक उपकरणहरु मगाउन र त्यसमा प्राविधिक कार्य गर्नका लागि करिब ४ महिना लाग्ने बताएका थिए।

तर अहिलेसम्म पनि नेपाल टेलिकमले फाइभजी सेवाको परीक्षण गर्न सकेको छैन्।

टेलिकमले फाइभजी उपकरणको आयातमा हुन गइरहेको ढिलाईलाई देखाउँदै चालु आवमा सेवा परीक्षण गर्न नसक्ने जनाएको हो।

चिनियाँ कम्पनी ह्वावेले फाइभजी परीक्षणका लागि आवश्यक उपकरण आपूर्ति गर्न ढिलाई गर्दा समस्या भएको टेलिकमले जनाएको छ।

‘वायरलेस उपकरणमा प्रयोग हुने फ्रिक्वेन्सीको डिजाइन फरक हुन्छ। फ्रिक्वेन्सीको आधारमा नेटवर्क, डिजाइन, बीटीएस टावर डिजाइन गर्नुपर्ने हुन्छ। डिजाइन तयार गर्न र उपकरण अर्डर गर्न पनि केही समय लाग्यो,’ प्रवक्ता अधिकारीले टेक्नोलोजीखबरसँग भने, ‘आपूर्तीकर्तालाई उपकरणको अर्डर दिइसका छौं। उपकरण आउने बित्तिकै जडानको काम शुरु गरेर परीक्षण थाल्ने छौं।’

टेलिकमले पहिलो चरणमा शहरी वा अर्ध शहरी क्षेत्रमा फाइभजीको परीक्षण गर्ने योजना बनाएको छ। उपकरण आपूर्ति भइनसकेकाले स्थान भने पहिचान भइनसकेको अधिकारीले जानकारी दिए।

उनका अनुसार सम्भवत चालु आव भित्रमै उपकरण आपूर्ति हुनेछ।

उपकरण प्राप्त भइसकेपछि स्थान पहिचान गरेर उपकरणहरु जडान प्रक्रिया अघि बढाइने छ। उपकरणको अभावमा चालू आवमा परीक्षण प्रक्रिया अघि बढाउन सम्भव नभएकाले आगामी आवको शुरुवातमै परीक्षण गरिने  शुरु गरिने उनको भनाइ छ।

यसअघि टेलिकमले फोरजी सेवा विस्तारका आवश्यक उपकरण जडानका लागि चिनियाँ कम्पनी ह्वावेसँग सम्झौता गरेको थियो। र उक्त सम्झौतामा नै ह्वावेले देशका ४ स्थानमा फाइभजी परीक्षणका लागि निशुल्क सहयोग गर्ने उल्लेख छ।

अर्कोतर्फ सो विषय सम्बद्ध स्रोतले भने आउँदो चुनाव अगाडी नै सरकारले ५जी सेवाको परीक्षण गर्ने गरी काम भईरहेको बताएको छ।

“सरकारले चुनाव अगाडी देशमा ५जी आएको भन्दै त्यसको फाइदा लिनसक्ने हुँदा त्यसैअनुसार काम हुनेछ,” स्रोतले दाबी गर्यो, “यसअनुसार दशैंको आसपासमा परीक्षण हुने संभावना छ।”

स्रोतकाअनुसार उपकरणहरु ल्याउन खासै समय नलाग्ने भएपनि नेपालको लागि भनेर उपकरण बनाउनुपर्ने हुँदा केहि ढिलो भएको हो।

नेपाल टेलिकमलाई सो उपकरणहरु सित्तैमा जस्तै दिईने हुँदा त्यसले खासै ठूलो लागत नलिने बताईएको छ। ५जी परीक्षणका लागि करिब २ देखि ३ करोड रुपैयाँको बीचमा उपकरण लागत हुने अनुमान गरिएको स्रोतले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: २२ असार २०७९, बुधबार