परीक्षणको क्रममा नेपाल टेलिकमको ईसिम, पाइलट प्रोजेक्टको रुपमा काठमाडौंबाट शुरु गरिने

Technology Khabar २९ असार २०७९, बुधबार

परीक्षणको क्रममा नेपाल टेलिकमको ईसिम, पाइलट प्रोजेक्टको रुपमा काठमाडौंबाट शुरु गरिने
Global IME Bank

काठमाडौं ।

– निर्दोष घोरसाइने

नेपालमा ई-सिम चाँडै नै प्रयोगमा आउने भएको छ। नेपाल टेलिकमले ईसिम प्रयोगमा ल्याउने तयारी अघि बढाइरहेको छ।

ईसिम प्रयोगमा ल्याउनका लागि टेक्निकल इन्ट्रिग्रेसन (प्राविधिक समायोजन) र परीक्षणको काम भइरहेको नेपाल टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिए।

‘हामी एक दुई जनाले प्रयोग पनि गरिराखेका छौं। टेस्टिङ गर्न १०,१५ दिन लाग्छ,’ सहप्रवक्ता लोहियाले टेक्नोलोजीखबरसँग भने, ‘त्यसपछि व्यवसायिकरुपमा कहिले प्रयोगमा ल्याउने भनेर एउटा मिति तय गर्छौं।’

ईसिम प्रयोग गर्नका लागि उपभोक्ताको मोबाइलले ईसिम सपोर्ट गर्नुपर्ने हुन्छ। अहिले विशेषगरी एप्पलको आईफोनमा ईसिम सपोर्ट गर्छ। विश्वका अन्य देशहरुमा पनि ईसिमको प्रयोग भइरहेको छ। यस्तोमा अन्य मोबाइल ब्राण्डहरुले पनि ईसिम सपोर्ट गर्ने मोबाइल निर्माणमा केन्द्रित रहेका छन्।

टेलिकमले ग्राहकको मागको आधारमा ईसिम वितरण गर्ने योजना बनाएको छ। नेपाल टेलिकमका सिम (नम्बर) प्रयोग गरिरहेका ग्राहकले वेबसाइट वा एपका माध्यमबाट ईसिम माग गर्न सक्छन्। टेलिकमले ईसिम प्रयोग गर्न चाहने ग्राहकको केवाईसी विवरण प्राप्त गरेपछि मोबाइलमा ईसिम डाटा कन्फिगरेसन गरिदिनेछ।

हालका सबै प्रयोगकर्तासहित नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ईसिम लिन सक्ने टेलिकमले जानकारी दिएको छ।

टेलिकमले एकै पटकमा मुलुकभर ईसिम लागु गर्ने छैन। सह प्रवक्ता लोहियाकाअनुसार सम्भवत काठमाडौं उपत्यकामा पाइलट प्रोजेक्टको रुपमा लागु गरिनेछ। काठमाडौं उपत्यकाको सफलता र त्यसबाट प्राप्त नतिजाको आधारमा क्रमिक रुपमा मुलुकभर सेवा शुरु गरिनेछ।

के हो ईसिम ?

ईसिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो। ईसिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन।

तर यसका लागि ईसिम सपोर्ट गर्ने उपकरणको आवश्यक हुन्छ। यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ।

ईसिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक ईसिमलाई अन्य डिभाइस तथा स्मार्टवाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २९ असार २०७९, बुधबार