Technology Khabar २ असार २०७९, बिहीबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति नै नलिई इन्टरनेट सेवा प्रदान गरिरहेको कम्पनी लमजुङ मालिका नेटवर्क प्रा.लि.को सेवा बन्द गराउने निर्णय गरेको छ।
लमजुङ सुन्दरबजारमा रहेको र अनुमति बिना सेवा दिईरहेको सो कम्पनीलाई कारबाही गर्दै सेवा बन्द गराउन र अन्य कारबाही गर्ने निर्णय गरेको छ।
लमजुङ मालिका नेटवर्क प्रा.लि. ले अनुमतिपत्र बिना इन्टरनेट सेवा संचालन गरेको भन्ने उजुरीको आधारमा यस प्राधिकरणले स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो । स्थलगत अनुगमन तथा निरीक्षणको प्रतिवेदन र कम्पनीहरुसँग गरिएको पत्राचार र प्राप्त स्पष्टिकरणको आधारमा वेभसर्फर नेपाल कम्यूनिकेशन सिस्टम प्रा.लि. र म्याक्स नेट सोलुशन्स प्रा.लि. ले अनुमतिपत्रको शर्त नं. १५.५ र १५.६(१) विपरित कार्य गरेको पाइएको तथा लमजुङ मालिका नेटवर्कले दूरसञ्चार ऐन, २०५३ को दफा २१ विपरित इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र विना आफ्नै लगानीमा नेटवर्क विस्तार गरी इन्टरनेट सेवा प्रदान गरेको पाइएको थियो।
सोहि आधारमा दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले सो कम्पनीको सेवा बन्द गराउनुका साथै राजस्व हिनामिना गरेको आशंकामा अनुसन्धानको लागि आन्तरिक राजस्व विभागलाई अनुरोध गरेको छ।
प्राधिकरणकाअनुसार उक्त संस्थाहरुलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउन व्यवस्थापनबाट प्रस्ताव पेश भएकोले वेभसर्फर नेपाल कम्यूनिकेशन सिस्टम, म्याक्स नेट सोलुशन्स र लमजुङ मालिका नेटवर्कलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम किन कारवाही नगर्ने भनी १५ दिन भित्र स्पष्टीकरण माग गरी प्राधिकरणमा पेश गर्न व्यवस्थापनलाई निर्देशन दिएको छ। यसका साथै लमजुङ मालिका नेटवर्कले प्राधिकरणबाट अनुमतिपत्र नलिई सञ्चालन गरिरहेको इन्टर्नेट सेवा तत्काल बन्द गर्न उक्त प्रा.लि. लाई निर्देशन दिएकोे छ।
प्राधिकरणले सो कम्पनीले मूल्य अभिवृद्धि कर सहितको विल विजक जारी नगरेको, आय विवरण लुकाएको सम्वन्धमा आवश्यक अनुसन्धानको लागि आन्तरिक राजस्व विभागलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ।
प्रकाशित: २ असार २०७९, बिहीबार