भुक्तानी रोकिँदा इन्टरनेट काटिने पत्र आयो, विदेशी मुद्रा सटही सिफारिस गर्न आइस्पानको आग्रह

Technology Khabar १३ बैशाख २०८१, बिहीबार

भुक्तानी रोकिँदा इन्टरनेट काटिने पत्र आयो, विदेशी मुद्रा सटही सिफारिस गर्न आइस्पानको आग्रह

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले सरकारले विदेशी मुद्रा सटही सिफारिस नगरे इन्टरनेट सेवा अवरुद्ध हुने चेतावनी दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरुजू बक्यौता नतिरेको भनेर विगत नौ महिनादेखि विदेशी मुद्रा सटही सिफारिस गरेको छैन।

सरकारले विदेशी मुद्रा सटही सिफारिस नगर्दा विगत एक वर्षदेखि अपस्ट्रिम प्रोभाइडरलाई भुक्तानी गर्न नसक्दा इन्टरनेट सेवा अवरुद्ध हुने अवस्था आएको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आइस्पानका अध्यक्ष सुधिर पराजुलीले बताए।

‘सरकारले नौ महिनादेखि विदेशी मुद्रा सटही सिफारिस गरेको छैन। मुद्रा सटही सिफारिस नपाउँदा अपस्ट्रिम प्रोभाइडरलाई भुक्तानी गर्न सकिएको छैन्,’ पराजुलीले भने, ‘ब्याण्डविथको रकम भुक्तानी नगरे इन्टरनेट सेवा अवरुद्ध हुने भन्दै यस साता भारती एयरटेलले पत्र पठाएको छ।’ विदेशी मुद्रा सटही सिफारिस गरेर सेवा प्रदायकलाई सहयोग गर्न उनले सरकारसँग आग्रह गरे।

इन्टरनेट सेवा प्रदायकहरुले अपस्ट्रिम प्रोभाइडरलाई बैंक ग्यारेन्टी उपलब्ध गराएकाले हालसम्म ब्याण्डविथ नरोकिएको उनले बताए। पछिल्लो समय नेपाल राष्ट्र बैंकले नियामकको स्वीकृतिमा मात्र बैंक ग्यारेन्टी दिने निर्णय गरेको छ।

‘अहिले नयाँ बैंक ग्यारेन्टी दिन सकिने अवस्था छैन। यसले गर्दा पनि दबाव बढेको छ। अपस्ट्रिम प्रोभाइडरले चाहेमा बैंक ग्यारेन्टी लग्न सक्छ,’ पराजुलीले भने, ‘अब हामीले अर्को बैंक ग्यारेन्टी दिन सक्ने अवस्थामा छैनौं। हामीले बैंक ग्यारेन्टी नलग्न अनुरोध गरेका छौं।’ त्यसैले यो मुद्दा एकदमै जेलिएर बसेको उनले बताए।

आइस्पानका पूर्व अध्यक्ष विनय बोहराका अनुसार इन्टरनेट सेवा प्रदायकहरुले एयरटेललाई करिब ३० मिलियन अमेरिकी डलर भुक्तानी गर्न बाँकी रहेको छ। उनका अनुसार नेपालमा आयात हुने ब्याण्डविथ मध्ये एयरटेलको हिस्सा करिब ७० प्रतिशत आसपास छ।

easy care

प्रकाशित: १३ बैशाख २०८१, बिहीबार