वानप्लस ब्राण्ड विरुद्ध भारतमा खुद्रा विक्रेताहरूको विद्रोह, बिक्री प्रतिबन्धको घोषणा

Technology Khabar ६ बैशाख २०८१, बिहीबार

वानप्लस ब्राण्ड विरुद्ध भारतमा खुद्रा विक्रेताहरूको विद्रोह, बिक्री प्रतिबन्धको घोषणा

काठमाडौं ।

वानप्लसले भारतका खुद्रा विक्रेताहरूलाई रुस्ट बनाएको छ। तसर्थ ४,३०० ब्रिक एण्ड मोर्टार स्टोरहरूको प्रतिनिधित्व गर्ने अर्गनाइज्ड रिटेलर्स एसोसिएसन (ओआरए) ले आगामी मे महिनाको १ तारिखदेखि आफ्ना सदस्यहरूलाई वानप्लस उत्पादनहरू बेच्नबाट प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

त्यसैगरी १ लाख ५० हजार भन्दा बढी स्टोरहरूको प्रतिनिधित्व गर्ने अल इन्डिया मोबाइल रिटेलर्स एसोसिएसन (एआईएमआरए) ले पनि यस्तै प्रतिबन्धको बारेमा विचार गरिरहेको इन्डिया टुडेको रिपोर्टमा उल्लेख छ।

फोन निर्माताले पर्याप्त स्टक आपूर्ति नगरेको, उनीहरूलाई कमजोर मार्जिन दिएको, सर्भिस क्लेम्स (सेवा दाबीहरू) सही रूपमा ह्यान्डल नगरेको र खुद्रा बिक्रेताहरूलाई प्रमोटरहरू र नयाँ उत्पादनहरू प्रदर्शन गर्ने व्यक्तिहरूको भ्रमणमा संलग्न नगरेको खुद्रा बिक्रेताहरूले आरोप लगाएका छन्।

त्यसैगरी ओआरएले दक्षिणी भारतमा रहेका स्टोरहरूको प्रतिनिधित्व गर्दछ भने एआईएमआरएको धेरै फराकिलो पहुँच रहेको उल्लेख छ। यदि एआईएमआरए संघले ओआरए प्रतिबन्धको पछाडि आफ्नो निर्णय कायम राखेको खण्डमा यसले भारतमा अफलाइन वितरण च्यानलहरूबाट वानप्लसलाई पूर्ण रूपमा हटाउन सक्ने बताईएको छ।

“वानप्लसले विगत ७ वर्षमा हाम्रा विश्वसनीय खुद्रा साझेदारहरूबाट प्राप्त गरेको सबै समर्थनलाई मूल्यवान सोचेको छ। बलियो र समृद्ध सम्बन्धलाई अगाडि बढाउने हाम्रो निरन्तर प्रतिबद्धता सुनिश्चित गर्दै वर्तमानमा, हामी हाम्रा साझेदारहरूसँग हाइलाइट गरिएका क्षेत्रहरूलाई सम्बोधन गर्न काम गरिरहेका छौं,” वानप्लसका प्रवक्ताले भने।

वानप्लस मात्र उक्त समस्यामा नपरेको जनाइएको छ। शाओमी स्वामित्वको ब्रान्ड पोको अनलाइन बिक्रीको पक्षमा रहेको महसुस गरिएको र यसले अवैध च्यानलहरूमार्फत बिक्री गरेको आरोप लगाइएको हुनाले एआईएमआरएले पोकोलाई पनि दबाब दिइरहेको उल्लेख छ।

easy care

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार