६ अर्ब रुपैयाँ भन्दा धेरै मूल्यको ल्यापटप भित्रियो, सरकारले उठायो ८३ करोड रुपैयाँ भन्सार राजस्व

Technology Khabar ३२ श्रावण २०७८, सोमबार

६ अर्ब रुपैयाँ भन्दा धेरै मूल्यको ल्यापटप भित्रियो, सरकारले उठायो ८३ करोड रुपैयाँ भन्सार राजस्व

काठमाडौं ।

-साजन सुवेदी

कम्प्युटर, ल्यापटपजस्ता डिभाइसहरु हिजोआज पढाइ तथा कामका लागि अति आवश्यक उपकरणमा पर्छन्।

कार्यालयहरुले पनि कागज घटाएर अनलाइन वा कम्प्युटराइज्ड हिसाबले विवरणहरुदेखि बिलिङ र भुक्तानीमा पनि डिजिटल प्रविधि अपनाउन थालिसकेका छन्।

विद्यालय तथा कलेजमा पनि  प्राविधिका विषयका साथै अन्य विषयहरुका लागि पनि ल्यापटप र कम्प्युटर लगभग अपरिहार्य जस्तै भैसकेको छ।

हिजोआज प्राय सबै विषयहरुमा व्यवहारिक अंक समावेश हुने हुनाले विद्यार्थीहरुले प्रोजेक्ट पनि ल्यापटप वा कम्प्युटरकै सहारामा बनाउनु पर्ने हुन्छ।

अझ गत वर्षदेखि कोरोनाका कारण लकडाउन भएपछि त वर्क फ्रम होम तथा अनलाइन कक्षाका कारण सबैजसोले चाहेर वा नचाहेर पनि ल्यापटप, कम्प्युटर वा नसके स्मार्टफोनसम्म भए पनि जोडेर इन्टरनेट कनेक्शन लिएर काम र पढाइलाई अगाडि बढाइरहेका छन्।

यसरी हरेक क्षेत्रलाई आवश्यक ल्यापटप वा कम्प्युटरहरु कहाँबाट र कति परिमाणमा आयात हुन्छन् होला भन्ने जिज्ञासा लाग्नु स्वाभाविक हो।

हालै भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको पछिल्लो ११ महिनाको तथ्याङ्क हेर्दा गत आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा जम्मा १ लाख १८ हजार ४७५ ओटा ल्यापटपहरु विभिन्न देशबाट आयात भएको देखिन्छ।

तथ्यांकअनुसार समग्र ल्यापटपहरु विश्वका विभिन्न ४९ देशसहित केही नाम नखुलेका ठाउँबाट पनि आयात भएका देखिन्छन्।

यी सबैको मूल्य करिब ६ अर्ब ५९ करोड रुपैयाँ हाराहारी पर्ने तथ्याङ्कमा उल्लेख छ।

यी परिमाणमा आएका ल्यापटपहरुमार्फत् यो ११ महिनामा सरकारले कूल ८३ करोड ९४ लाख रुपैयाँ राजस्व उठाएको छ।

पछिल्लो एक महिनामा कति भित्रिए?

भन्सार विभागको तथ्याङ्क केलाउँदा एक महिना अर्थात् २०७८ वैशाख मसान्तदेखि जेठ मसान्तको बिच एक महिनाको अवधिमा जम्मा ९ हजार ९४४ थान ल्यापटप आयात भएका देखिन्छ।

२०७७ श्रावणदेखि २०७८ वैशाख मसान्तसम्ममा कुल १,०८,५३१ थान ल्यापटप नेपाल भित्रिएकामा १ महिनाको अवधिमा ९,९४४ थान थपिएर जेठ मसान्तसम्ममा १,१८,४७५ थान पुगेको छ।

सबैभन्दा धेरै चीनबाट

पछिल्लो एक महिनाको तथ्यांक हेर्दा यीमध्ये सबैभन्दा धेरै ४९ करोड ७० लाख रुपैयाँ बराबरको ८,८५७ थान ल्यापटप आयात भएको छ।

यसपछि ६ करोड ४ लाख ७५ हजार रुपैयाँ बराबरको ९८८ थान ल्यापटप मलेसियाबाट भित्रिएको देखिन्छ।

यसबाहेक अमेरिकाबाट ३० लाख २७ हजार बराबरको ४७ थान, ताइवानबा‍ट १६ लाख ८८ हजार बराबरको २० थान, ६ लाख ८८ हजार बराबरको ८ थान सिंगापुरबाट, चेक रिपब्लिक र युक्रेनबाट ५-५, अस्ट्रेलियाबाट ४, बेलायतबाट ३ र जापानबाट २ तथा अफगानिस्तान, इटली जर्मनी, कतार र नेदरल्यान्ड्सबाट १-१ थान ल्यापटप भित्रिएका तथ्याङ्कले देखाएको छ।

easy care

प्रकाशित: ३२ श्रावण २०७८, सोमबार

ताजा समाचार