नेपाल टेलिकमलाई उछिन्दै एनसेल आजियाटा धेरै रोयल्टी तिर्ने कम्पनी, आईएसपीमा वर्ल्डलिंक अगाडी

Technology Khabar २६ श्रावण २०७८, मंगलवार

नेपाल टेलिकमलाई उछिन्दै एनसेल आजियाटा धेरै रोयल्टी तिर्ने कम्पनी, आईएसपीमा वर्ल्डलिंक अगाडी
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले सरकारलाई तिर्ने रोयल्टीमा नेपाल टेलिकमलाई जितेको छ।

एनसेल आजियाटाले गत आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई बुझाएको रोयल्टी रकममध्ये सबैभन्दा धेरै रकम बुझाएको हो। कम्पनीले नेपाल टेलिकमको भन्दा ४८ करोड रुपैयाँ बढी रकम सरकारलाई रोयल्टी बापत मात्र बुझाएको देखिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार एनसेलले गत आवमा १ अर्ब ८७ करोड ७ लाख ३५ हजार ५२८ रुपैयाँ ६२ पैसा बुझाएको छ ।

अर्कोतर्फ सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) भने एनसेलको भन्दा कम अर्थात १ अर्ब ३८ करोड ९३ लाख ३३ हजार ३८४ रुपैयाँ रोयल्टी सरकारलाई बुझाएको छ।

अर्ब रुपैयाँ रोयल्टी तिर्नेमा एनसेल र नेपाल टेलिकम मात्र रहेका छन भने करोड रुपैयाँमा रोयल्टी तिर्नेहरु ठूला इन्टरनेट सेवा प्रदायक (आईएसपी) रहेका देखिएका छन् ।

नेपालको सबैभन्दा ठूलो नेटवर्क भएको वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले इन्टरनेट सेवा प्रदायकहरुमध्ये सबैभन्दा धेरै रकम रोयल्टी तिरेकोछ । कम्पनीले गत आवमा ११ करोड ८२ लाख २५ हजार रुपैयाँ रोयल्टी बापत सरकारलाई बुझाएको छ ।

इन्टरनेट सेवा प्रदायकमध्ये दोस्रो धेरै रोयल्टी तिर्ने कम्पनीमा सुबिसु केबलनेट प्रालि रहेको छ । सुबिसुले सरकारलाई ५ करोड ७० लाख १४ हजार २१४ रुपैयाँ रोयल्टी बुझाएको छ भने तेस्रो स्थानमा भायनेट कम्युनिकेसन्स प्रालि रहेको छ । भायनेटले सरकारलाई ३ करोड २० लाख रुपैयाँ बुझाएको छ ।

यसपछिको सूचीमा अर्को इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइण्ड्स नेटवर्क प्रालि रहेको छ। टेकमाइण्ड्सले सरकारलाई २ करोड ५३ लाख ३७ हजार ७२३ रुपैयाँ रोयल्टी बापत बुझाएको देखिन्छ।

प्राधिकरणको तथ्यांकअनुसार सरकारलाई गत आवमा ८६ वटा दूरसञ्चार सेवा प्रदायकहरुले रोयल्टी बुझाएका थिए । जसअनुसार सरकारले सेवा प्रदायकहरुबाट कुल ३ अर्ब ५३ करोड १२ लाख २६ हजार ७४० रुपैयाँ ३१ पैसा रोयल्टी बापत आम्दानी गरेको छ । यसमध्ये केहि कम्पनीहरुले २ प्रतिशतको थप दस्तुरसहित सरकारलाई रोयल्टी बुझाएका छन्।

प्राधिकरणकाअनुसार सो सूचीमा बाहिरी जिल्लामा सेवा दिईरहेका केहि सेवा प्रदायकहरुको तथ्यांक आउन बाँकी रहेको हुँदा त्यसलाई समावेश गरिएको छैन् ।

यस्तो छ रोयल्टी बुझाउनुपर्ने कानूनी प्राबधान

दूरसञ्चार ऐन २०५३ को दफा ३२ अनुसार सेवा प्रदायकहरुले सरकारलाई रोयल्टी बुझाउनुपर्ने व्यवस्था रहेको छ । ऐनअनुसार अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले कबुल गरे बमोजिमको रोयल्टी नेपाल सरकारलाई बुझाउनु पर्नेछ । रोयल्टी बुझाउने तरीका र समय प्राधिकरणले तोकिदिए बमोजिम हुने प्रावधान छ।

सेवा प्रदायकहरुले समयमा नै रोयल्टी नतिरेको भन्दै सरकारले थप २ प्रतिशत दस्तुर लिन सकिने प्रावधानसाथ कानूनमा संसोधन गरेको छ । जसअनुसार तोकिएको समयमा सेवा प्रदायकले रोयल्टी नतिरेको खण्डमा त्यसमा थप २ प्रतिशत जोडेर बुझाउनुपर्ने हुन्छ।

easy care

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार

ताजा समाचार

एनसीआईसीके भर्चुअल एक्स्पो, २०२४ सुरु

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार