नेपाल टेलिकमको फाइभजी परीक्षण गर्न बाटो खुल्यो, पारित भयो फाइभजी सेवा परीक्षणको कार्यबिधि

Technology Khabar ११ श्रावण २०७८, सोमबार

नेपाल टेलिकमको फाइभजी परीक्षण गर्न बाटो खुल्यो, पारित भयो फाइभजी सेवा परीक्षणको कार्यबिधि

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणको लागि बाटो खुला गर्दै प्रकृयागत सहज बनाएको छ। यसको लागि प्राधिकरणले ‘फाइभजी लगायत नयाँ प्रविधिको परिक्षण सम्बन्धी कार्यविधि २०७८’ पारित गरेको छ।

नयाँ कार्यबिधिले फाइभजीको लागि परीक्षणको मोडालिटीसहित आवश्यक विषयहरुमा परिक्षण गर्न चाहने कम्पनीले निवेदनका साथमा बुझाउनुपर्ने आवश्यक कागजातहरुको बारेमा समेत उल्लेख गरेको छ ।

कार्यबिधिअनुसार अब परीक्षणको लागि निवेदन पेश गर्नुपर्नेछ भने त्यसमा परिक्षणको लागि आवश्यक फ्रिक्वेन्सीको बिबरण, ब्याण्ड,व्याण्डविथ, ब्याण्ड प्रयोग गर्ने कारण, ब्याण्डविथ खपत हुने आधार लगायतका विषयहरु उल्लेख गर्नुपर्नेछ ।

त्यसैगरि फाइभजीसहितको नयाँ प्रविधिको परीक्षण गर्दा ग्रामीण र शहरी दुबै क्षेत्र समेटिने गरि मात्र गर्न पाउने भएका छन् ।

यसका साथै प्राधिकरणले नयाँ प्रविधिको परीक्षणको लागि अध्ययन गरेर मात्र स्वीकृति दिने उल्लेख छ ।

फाइभजीसहितको नयाँ प्रविधि परीक्षण गर्नको लागि नेटवर्क निर्माण गर्नुपर्नेछ भने यसअन्तरगत आवश्यक पर्ने उपकरणहरुको आयात, जडानको कार्य स्वीकृत पाएको ३ महिनाभित्र गरिसक्नुपर्ने प्राबधान राखिएको छ । त्यसैगरि यस्तो अवधिभित्र आवश्यक उपकरणहरु आयात तथा जडान सम्बन्धी कार्यमा कुनै प्रगति नदेखिएको खण्डमा प्राधिकरणले स्वीकृति फिर्ता लिनसक्ने प्रावधान राखिएको छ ।

नयाँ प्रविधिको परीक्षणको लागि प्राधिकरणले फ्रिक्वेन्सी उपलब्ध गराउने तर त्यस्तो फ्रिक्वेन्सी परीक्षण समाप्त भएपछि कम्पनीले फिर्ता गर्नुपर्ने कार्यबिधिमा लेखिएको छ ।

यस्तो परीक्षण काल भने १ वर्षको लागि हुने र सो अवधिमा फ्रिक्वेन्सी दस्तुर छुट हुनेछ ।

यस्तो अवधिमा परीक्षण कालभरी सेवा प्रदायकले कुनैपनि ग्राहकसँग कुनैपनि प्रकारको शुल्क लिन नपाउने गरि कार्यबिधिले बन्देज लगाएको छ।

त्यसैगरि परीक्षण सम्पन्न भईसकेपछि त्यस्तो उपकरणहरु हालको फोरजी सेवामा प्रयोग हुने भएमा अनुमति लिई प्रयोग गर्न सकिनेछ भने नहुने खण्डमा शिल गरि राखिने वा बिक्रेतालाई नै फिर्ता गरिने व्यवस्था गरिएको छ ।

यसका साथै परीक्षणको अवधिभर सेवा प्रदायकले तीन तीन महिनामा बिबरणहरु प्राधिकरणमा पेश गरिने उल्लेख छ।

प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलले सो कार्यबिधिले फाइभजी परीक्षणको बाटो खुलाउने बताए।

‘यहि कार्यबिधिअन्तरगत अव निवेदन दिने र प्रकृयाअनुसार फाइभजी परीक्षण हुनेछ । यसले सबै सेवा प्रदायकहरुलाई नयाँ प्रविधि परीक्षणमा इक्वेल लेभल प्लेइङ्ग फिल्ड प्रदान गर्नेछ,’ उनले टेक्नोलोजीखबरसँग भने, ‘ कार्यबिधि आएपछि सबै सेवा प्रदायकका ग्राहकहरुले नयाँ प्रविधिको सेवा प्राप्त गर्ने अवसर श्रृजना गर्नेछन् ।’

कार्यबिधि पारित हुनु अगाडी नै नेपाल टेलिकमले आफ्नो फाइभजी सेवाको परीक्षणको लागि प्राधिकरणमा निवेदन दिईसकेको छ। जसमा आवश्यक फ्रिक्वेन्सी लगायत उपलब्ध गराउन माग गरिएको छ ।

सो निवेदन र कागतपत्रहरु समेत कार्यबिधिअनुसार नै समावेश हुने र सोही प्रकृयाअनुसार अगाडी बढ्ने यसअघि प्राधिकरणका निर्देशक अम्बर स्थापितले टेक्नोलोजीखबरसँग भनेका थिए ।

सम्बन्धित समाचार-

फाइभजी सेवा परीक्षणको प्रकृयाका लागि दूरसञ्चार प्राधिकरणले तयार पार्यो कार्यबिधि

नेपाल टेलिकमले यहि पुस मसान्तभित्र फाइभजी सेवाको परीक्षण शुरु गर्ने योजना लिएको छ ।

फाइभजी लगायत नयाँ प्रविधिको परीक्षणको लागि सेवा प्रदायकहरुलाई सहजीकरण गर्न र परीक्षणको शर्तहरु तोक्न नयाँ कार्यबिधि जारी गरेको प्राधिकरणले जनाएको छ।

यो पनि हेर्नुस्-

फाइभजीको प्रयोगलाई बढावा दिन अन्य क्षेत्रको संभावना बारे अध्ययन गराईने

easy care

प्रकाशित: ११ श्रावण २०७८, सोमबार