ग्राहकको गुनासो सुन्न टोल फ्री नम्बर नराख्ने सेवा प्रदायकलाई कारबाही गर्दै दूरसञ्चार प्राधिकरण

Technology Khabar १९ आश्विन २०७७, सोमबार

ग्राहकको गुनासो सुन्न टोल फ्री नम्बर नराख्ने सेवा प्रदायकलाई कारबाही गर्दै दूरसञ्चार प्राधिकरण

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई निशुल्क टोल फ्री नम्बर राख्न दिएको निर्देशनअनुसार जम्मा ४ कम्पनीहरुले मात्र हालसम्म टोल फ्री नम्बर राखेका छन्।

प्राधिकरणकाअनुसार हालसम्म नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड, सुबिसु केबलनेट प्रालि र ब्रोड ब्याण्ड नेपाल प्रालिले मात्र टोल फ्री नम्बर राखेका छन् ।

सो बारेमा प्राधिकरणले उनीहरुको टोल फ्री नम्बरसमेत सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाल टेलिकमले ग्राहक सेवा तथा सेवाको गुनासोको लागि १४९८ र १९८ उपलब्ध गराएको छ भने वर्ल्डलिंक, सुविसु र ब्रोड ब्याण्ड नेपालले एक/एक वटा टोल फ्री नम्बर ग्राहकहरुको गुनासो सुन्नका लागि राखेका छन् ।

यसअघि प्राधिकरणले गत असारमा सबै सेवा प्रदायकहरुलाई निर्देशन दिँदै टोल फ्री नम्बरको व्यवस्था गर्न भनेको थियो जसअनुसार कम्पनीहरुले ग्राहकलाई सेवा दिएपछिको सो सेवाको मर्मत तथा सहयोगको लागि निशुल्क सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ।

तर पटक-पटकको निर्देशन पालना गर्नबाट सेवा प्रदायकहरु भाग्दै आएका छन् ।

ग्राहकहरुको गुनासोलाई सम्बोधन गरेर समाधान गर्नुपर्ने दायित्वबाट पन्छिनका लागि उनीहरुले टोल फ्री नम्बर नराखेको भन्दै सेवाग्राहीले चर्को विरोध गर्दै आएका थिए ।

यसैबिच प्राधिकरणले अब पनि टोल फ्री नम्बर नराख्ने दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई कारबाही गर्ने तयारी गरेको छ।

प्राधिकरणका निर्देशक विजय कुमार रोयले टोल फ्री नम्बर नराख्ने र ग्राहकको समस्या सम्बोधनमा ध्यान नदिने सेवा प्रदायकहरुलाई कारबाही गर्ने तयारी गरिएको बताए ।

‘हामीलाई पनि यस बारेमा निकै गुनासोहरु आईरहेको छ, अब पनि टोल फ्री नम्बर नराख्ने कम्पनीलाई कानूनअनुसार कारबाही गर्नेछौं, यसमा छिटै कडा कदम चाल्नेछौं,’ उनले भने।

यसअघि सरकारसँग सर्पोट र मेन्टिनेन्सको लागि भनेर छुट्टै रकम ग्राहकहरुसँग उठाउन पाउनुपर्ने माग गरेर ५० प्रतिशत रकम ग्राहकहरुसँग उठाईरहेका छन् । तर उनीहरुलाई समयमा नै दिनुपर्ने मर्मत संभारको सेवा भने दिएका छैनन् ।

मोबाइल सेवा प्रदायकहरु बाहेक अहिले टोल फ्री नम्बर राखेका इन्टरनेट सेवा प्रदायकहरुले समेत हालसम्म ग्राहकहरुबाट दोहोरो रकम उठाउँदै आएका थिए ।

बिलमा नै ग्राहकसँग सपोर्ट एण्ड मेन्टेनेन्सको लागि ५० प्रतिशत लिने गरेका छन भने ग्राहकको गुनासो सुन्न राखिएको टेलिफोन नम्बरबाट चर्को शुल्क सहित मात्र सेवा दिँदै आएका थिए ।

यी हुन् टोल फ्री नम्बर र सेवा प्रदायकहरु-

सेवा प्रदायक टोल फ्री नम्बर
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) १४९८ र १९८
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड १६६००१-५५०५०
सुबिसु केबलनेट प्रालि १६६००१-५९९९९
ब्रोड ब्याण्ड नेपाल प्रालि १६६०७१-५२००४

यदि यी उल्लेखित कम्पनीहरुको सेवाको बारेमा कुनै समस्या वा गुनासो भएमा सिधै टोल फ्री नम्बरमार्फत कल गर्न सकिनेछ र यसमा कल गर्दा कुनै शुल्क लाग्ने छैन् ।

यो पनि हेर्नुस्-

इन्टरनेट सेवा कम्पनीमा मर्मतको लागि ग्राहकले फोन गर्दा पैसा नलाग्ने, ‘टोल फ्री’ नम्बर राख्न निर्देशन

easy care

प्रकाशित: १९ आश्विन २०७७, सोमबार