इन्टरनेट सेवा कम्पनीमा मर्मतको लागि ग्राहकले फोन गर्दा पैसा नलाग्ने, ‘टोल फ्री’ नम्बर राख्न निर्देशन

Technology Khabar १० असार २०७७, बुधबार

इन्टरनेट सेवा कम्पनीमा मर्मतको लागि ग्राहकले फोन गर्दा पैसा नलाग्ने, ‘टोल फ्री’ नम्बर राख्न निर्देशन

इन्टरनेट सेवाका ग्राहकहरुलाई राहत हुनेगरि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टोल फ्री नम्बर राख्न निर्देशन दिएको छ।

प्राधिकरणले हालै इन्टरनेट सेवा प्रदायकहरु सबैलाई पत्र पठाउँदै टोल फ्री नम्बरको व्यवस्था गर्नका लागि भनेको हो । सो पत्रमा अनुमतिपत्रको शर्तअनुसार ग्राहकको गुनासोलाई तोकिएको समयवधिभित्र समाधान गर्नुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्न र ग्राहकहरुको गुनासोको समाधान गर्नका लागि टोल फ्री(Toll Free) नम्बर उपलब्ध गराउनुपर्ने भनेको छ।

‘इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायकले अनुमतिपत्रको शर्तअनुसार शुल्क सम्बन्धि विवरण निशुल्क उपलब्ध गराउनुपर्ने, सेवाको गुणस्तर सम्बन्धमा ग्राहकको गुनासो तोकिएको समयभित्र समाधान गर्नुपर्ने व्यवस्थालाई प्रभावकारी बनाउन र सेवाग्राहीहरुले सपोर्ट एण्ड मेन्टेनेन्स तथा अन्य सेवा सम्बन्धि गुनासो र सोको समाधानको लागि सम्पर्क गर्ने प्रयोजनको लागि टोल फ्री नम्बरको व्यवस्था गर्न,’ निर्देशन दिएको छ ।

प्राधिकरणका निर्देशक बिजय कुमार रोयले ग्राहकहरुबाट सेवा शुल्क, सपोर्ट तथा मर्मतको लागि सोध्दा पनि फोनमा महंगो शुल्क लिने गरेको गुनासो आएको हुँदा त्यसलाई सम्बोधन गर्न नयाँ निर्देशन दिएको बताए ।

‘मर्मतका लागि फोन गर्दा आन्सरिङ्ग मेसिन बोलेर पटक/पटक म्यूजिक मात्र सुनाउने, इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीले रेस्पोन्स नगर्ने तर ग्राहकहरुको धेरै पैसा काटिनेलगायत गुनासो आएपछि टोल फ्री नम्बर राख्न निर्देशन दिएको हो,’ निर्देशक रोयले भने ।

ग्राहकहरुले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई मर्मत तथा अन्य सेवा सम्बन्धि सम्पर्क नम्बरमा फोन गर्दा महंगो दरमा शुल्क तिरिरहनुपरेको छ । तर ग्राहकसँग कम्पनीहरुले प्याकेजमा नै मर्मत तथा सर्पोटको लागि सम्पूर्ण शुल्क लिईसकेका हुन्छन् ।

प्राधिकरणको निर्देशनपछि भने ग्राहकहरुले कम्पनीहरुले उपलब्ध गराएको टोल फ्री नम्बर अर्थात ग्राहकले कल गर्दा पैसा नलाग्ने नम्बरमा कल गरेर इन्टरनेट सेवाको बारेमा गुनासो तथा सपोर्ट एण्ड मेन्टेनेन्सको लागि फोन गर्न सक्नेछन् ।

TK Viber

प्रकाशित: १० असार २०७७, बुधबार

Loading...