नेपाल टेलिकमले ल्यायो ह्याप्पी लर्निङ प्याक, अनलाइन पठनपाठन गर्न रु.३१५ मा २४ जीबी डाटा

Technology Khabar २ भाद्र २०७७, मंगलवार

नेपाल टेलिकमले ल्यायो ह्याप्पी लर्निङ प्याक, अनलाइन पठनपाठन गर्न रु.३१५ मा २४ जीबी डाटा

काठमाडौं ।

कोभिड-१९ महामारीको कारणले आफ्ना सन्ततीहरुको पठनपाठनका लागि चिन्तित रहनुभएका अभिभावकहरुका सन्ततीहरुको पठनपाठनमा उपयुक्त हुने ह्याप्पी लर्निङ प्याक (Happy Learning Pack) नेपाल टेलिकमले भदौ ३ गते बुधबार बुवाको मुख हेर्ने दिन (कुसे औंसी) को अवसरमा कार्यान्वयनमा ल्याउने भएको छ ।

निकै सस्तो मूल्यमा उपलब्ध हुने सो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिनेछ ।

सो प्याकेज अन्तर्गत रु. ३१५ मा २४ जीबी र रु. ५०० मा ३५ जीबी डाटा उपलब्ध हुनेछ ।

२४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना [email protected] मा पठाउनु पर्नेछ ।

सिफारिश प्राप्त भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सुचना दिनेछ ।

एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिने छ ।

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत प्रयोग गर्न सकिने छ । यो प्याकेज आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ ।

विद्यार्थी अफर अन्तर्गत *1600# मा डायल गरी सिम रजिष्ट्रेसन गर्नुभएका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो सिमकार्ड भएको मोबाइलबाट *1441# डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २ भाद्र २०७७, मंगलवार

ताजा समाचार