१८०० मेगाहर्ज ब्याण्डमा ‘फ्रिक्वेन्सी रिफ्रेमिंग’ गरियो, एनसेलले पायो २० मेगाहर्जको एउटै ‘ढिक्का’

Technology Khabar ३० फाल्गुन २०७६, शुक्रबार

१८०० मेगाहर्ज ब्याण्डमा ‘फ्रिक्वेन्सी रिफ्रेमिंग’ गरियो, एनसेलले पायो २० मेगाहर्जको एउटै ‘ढिक्का’
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

नेपाल दूरसंचार प्राधिकरणले केहि समयअघि अक्सन गराएको १८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डलाई रिफ्रेम गरेको छ । हालै बसेको बोर्ड बैठकले १८०० मेगाहर्ज ब्याण्डलाई रिफ्रेम गर्ने र दूरसंचार सेवा प्रदायकहरुले प्रयोग गरिरहेको फ्रिक्वेन्सीलाई रिफ्रेमिङ्गअनुसार प्रयोग गर्नेगरि व्यवस्था गराउने निर्णय गरेको छ ।

प्राधिकरणकाअनुसार सेवा प्रदायकहरुले १८०० मेगाहर्ज ब्याण्डमा प्रयोग गरिरहेको र थप हुने फ्रिक्वेन्सीलाई व्यवस्थापन गर्न फ्रिक्वेन्सी रिफ्रेम गरिएको हो ।

१८०० मेगाहर्ज ब्याण्डको अगाडि रहेको नेपाल दूरसंचार कम्पनी लिमिटेडले प्रयोग गरिरहेको फ्रिक्वेन्सी ब्याण्ड र अन्तिममा रहेको यूनाईटेड टेलिकम(यूटिएल)को फ्रिक्वेन्सी रेन्जमा भने कुनै परिवर्तन भएको छैन् । त्यसबाहेक एनसेल, नेपाल स्याटेलाइट टेलिकम प्रालि, स्मार्ट टेलिकमको फ्रिक्वेन्सी रेन्जमा हेरफेर भएको छ भने बिचमा दुई स्थानहरुमा ५ मेगाहर्ज र २ मेगाहर्ज ब्याण्डविथ खाली रहेको प्राधिकरणले जानकारी दिएको छ ।

रिफ्रेमिङ्गसँगै एनसेलले अक्सनमार्फत १८०० मेगाहर्ज ब्याण्डमा पाएको ९ मेगाहर्ज ब्याण्डलाई व्यवस्थापन गरिएको छ। सो रिफ्रेमिङ्गअनुसार अब एनसेलले आफूले अक्सनमार्फत पाएको ९ मेगाहर्ज ब्याण्ड र यसअघि नै प्रयोगमा रहेको ११ मेगाहर्ज ब्याण्डलाई ‘एकै ढिक्का’को रुपमा प्रयोग गर्न सक्दछ ।

यसको अर्थ अब एनसेलले १८०० मेगाहर्ज ब्याण्डको एकै स्थानमा २० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गर्न सक्दछ ।

सबै फ्रिक्वेन्सी एकै स्थानमा भएको खण्डमा दूरसंचार सेवा प्रदायकहरुले थप फिल्टर राख्नुनपर्ने र सेवाको गुणस्तर बढ्ने प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले बताए ।

‘कम्पनीहरुले प्रयोग गर्ने च्यानल ब्याण्ड एकै स्थानमा हुँदा अतिरिक्त फिल्टर राख्नुपर्दैन भने डाटा सेवाको गुणस्तर पनि सुधार हुन्छ,’ प्रवक्ता अर्यालले भने ।
उनले फ्रिक्वेन्सी रिफ्रेम गर्दा दूरसंचार सेवा प्रदायकहरुले आफूले प्रयोग गरिरहेको फ्रिक्वेन्सी रेन्जमा केहि हेरफेर भएको जानकारी दिए ।

प्राधिकरणले गरेको फ्रिक्वेन्सी रिफेर्मअनुसार नै दूरसंचार सेवा प्रदायकहरुले फ्रिक्वेन्सी रेन्ज व्यवस्थापन गर्नुपर्नेछ । प्रवक्ता अर्यालकाअनुसार त्यसको लागि सबै सेवा प्रदायकहरुलाई पत्र पठाएर फ्रिक्वेन्सी रिफ्रेमको बारेमा जानकारी दिने र कम्पनीहरुले सोहि अनुसार फ्रिक्वेन्सी प्रयोग गर्नुपर्नेछ ।

नयाँ फ्रिक्वेन्सी रेन्जको आधारमा दूरसंचार सेवा प्रदायक कम्पनीहरुले अपलिंक र डाउनलिंकको लागि उपलब्ध फ्रिक्वेन्सी प्रयोग गर्नेछन भने त्यसमा आवश्यक फिल्टर समेत राख्नेछन् ।

प्राधिकरणले सो बारेमा सबै सेवा प्रदायकहरुलाई रिफ्रेम गरिएको १८०० मेगाहर्ज ब्याण्डको नयाँ च्यानल ब्याण्डअनुसार व्यवस्था मिलाउन १ महिनाको समयावधि समेत दिने भएको छ ।

यो पनि हेर्नुस्-

अक्सनमा किनेको फ्रिक्वेन्सी अझै चलाउन पाएन एनसेलले, ‘फ्रिक्वेन्सी रिफार्म’ गर्दै दूरसंचार प्राधिकरण

easy care

प्रकाशित: ३० फाल्गुन २०७६, शुक्रबार