अक्सनमा किनेको फ्रिक्वेन्सी अझै चलाउन पाएन एनसेलले, ‘फ्रिक्वेन्सी रिफार्म’ गर्दै दूरसंचार प्राधिकरण

Technology Khabar २७ फाल्गुन २०७६, मंगलवार

अक्सनमा किनेको फ्रिक्वेन्सी अझै चलाउन पाएन एनसेलले, ‘फ्रिक्वेन्सी रिफार्म’ गर्दै दूरसंचार प्राधिकरण
१८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सनमा सहभागी हुँदै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चाङ्गलगायत अधिकारीहरु । फाइल फोटो

काठमाडौं ।

अनुज राज

काठमाडौं । केहि महिनाअघि अक्सन गरिएको १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीलाई नेपाल दूरसंचार प्राधिकरणले रिफार्म गर्ने भएको छ ।

प्राधिकरणले टेलिकम कम्पनीहरुको लागि निकै महत्वपूर्ण र अधिक माग रहेको सो १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीलाई व्यबस्थित सुधार गर्दै कम्पनीहरुलाई नयाँ रेन्ज तोक्ने योजना गरेको छ ।

दूरसंचार प्राधिकरणले सो मेगाहर्ज ब्याण्डका टेलिकम कम्पनीहरुलाई हाल दिएको र आगामी दिनमा दिने फ्रिक्वेन्सीहरुलाई व्यवस्थापन गर्न फ्रिक्वेन्सी रिफार्म गरिएको जानकारी दिएको छ ।

फ्रिक्वेन्सी रिफार्मको कारण दूरसंचार प्राधिकरणले अक्सनबाट दिएको १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी एनसेलले भने अझै उपयोग गर्न पाएको छैन् । कम्पनीले गत मंसिरमा अक्सनमार्फत १८०० मेगाहर्ज ब्याण्डमा ९ मेगाहर्ज फ्रिक्वेन्सी ५ करोड ८० लाख प्रति मेगाहर्जमा किनेको थियो ।

तर कम्पनीले अझै सो फ्रिक्वेन्सी नपाएको एनसेलका एक अधिकारीले बताए ।

‘दूरसंचार प्राधिकरणल फ्रिक्वेन्सी रिफार्म गर्न लागेको जानकारी दिँदै अझै हामीलाई फ्रिक्वेन्सीको रेन्ज तोकेको छैन्,’ उनले भने ।

दूरसंचार प्राधिकरण बोर्डले एनसेललाई फ्रिक्वेन्सी दिने निर्णय भएपनि दूरसंचार प्राधिकरणले अझै सो फ्रिक्वेन्सीको लागि एनसेललाई दिने रेन्ज तोकेको छैन् ।

फ्रिक्वेन्सी रिफार्म बारेमा बोर्डमा प्रस्ताव गएको दूरसंचार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

‘हामीले १८०० मेगाहर्ज ब्याण्डलाई रिफार्म गर्ने प्रयास गरेका छौं, जसले गर्दा बाँकी रहने फ्रिक्वेन्सीको पनि अधिकतम उपयोग गर्ने प्रयास गरिएको छ,’ उनले भने ।

प्रवक्ता अर्यालकाअनुसार ४जी प्रविधिको लागि अन्य प्रविधिभन्दा बढि च्यानल ब्याण्ड आवश्यक पर्नेहुँदा कम्पनीहरुलाई समेत अधिकतम उपयोगी हुनेगरि फ्रिक्वेन्सी रिफार्म गरिएको छ ।

‘४जी प्रविधिका लागि च्यानल ब्याण्ड बढि नै चाहिने हुन्छ र एकै ठाउँमा दिँदा उच्च क्षमतामा चल्ने र गुणस्तरमा पनि सुधार हुन्छ, यसको लागि च्यानल फिल्टर थप गर्नुपर्ने बाध्यता पनि रहँदैन्,’ प्रवक्ता अर्यालले भने ।

फ्रिक्वेन्सी रिफार्म गरेर कम्पनीहरुलाई आफूले पाएको फ्रिक्वेन्सी ब्याण्डविथलाई निरन्तररुपमा प्रयोग गर्नेगरि व्यवस्था गरिने उनले बताए । सो फ्रिक्वेन्सी रिफार्म भएपछि मात्र प्राधिकरणले एनसेललाई रेन्ज तोकिदिने र एनसेलले अक्सनमा पाएको फ्रिक्वेन्सी प्रयोग गर्न सक्ने उनको भनाई थियो ।

१८०० मेगाहर्ज ब्याण्डमा १७१० देखि १७८५ सम्मको फ्रिक्वेन्सी हाल प्रयोगमा रहेको छ जसमध्ये नेपाल टेलिकमले १५ मेगाहर्ज, एनसेलले ११ मेगाहर्ज, नेपाल स्याटेलाइट टेलिकमले ९ मेगाहर्ज, स्मार्ट टेलिकमले १२ मेगाहर्ज र यूनाइटेड टेलिकमले १२ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गरिरहेका छन् ।

दूरसंचार प्राधिकरणका अर्का एक अधिकारीकाअनुसार एनसेललाई दिने फ्रिक्वेन्सी हालको अवस्थामा दिँदा बाँकी हुने सिमित फ्रिक्वेन्सी अन्य कम्पनीले प्रयोग गर्न नसक्ने अवस्था रहेको छ।

‘त्यसैले पनि फ्रिक्वेन्सी रिफार्म गरेर अन्य कम्पनीलाई समेत बाँकी हुने फ्रिक्वेन्सी प्रयोग गर्न सहज होस भनेर रिफार्म गरिएको हो,’ ती अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

उनकाअनुसार एनसेललाई नयाँ फ्रिक्वेन्सी दिँदा पहिले पाएको र अक्सनको फ्रिक्वेन्सी फरक फरक रेन्जमा हुने कारण पनि त्यसलाई मिलाउने प्रयास गरिएको हो।

easy care

प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार