नेपालमा जस्तै भारतमा पनि टेलिकम कम्पनीले तिरेनन बाँकी बक्यौता, कम्पनीहरुबिच नै विवाद उत्पन्न

Technology Khabar १५ कार्तिक २०७६, शुक्रबार

नेपालमा जस्तै भारतमा पनि टेलिकम कम्पनीले तिरेनन बाँकी बक्यौता, कम्पनीहरुबिच नै विवाद उत्पन्न

काठमाडौं ।

काठमाडौं । नेपाली टेलिकम अपरेटरहरु तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्ये केहिले सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता नबुझाएको समाचारहरु नियमित जसो आईरहेका छन् । नेपालमा टेलिकम सेक्टरका कम्पनीहरुले बाँकी बक्यौता नतिर्दा खारेजीको अवस्थामा पुगेका छन् ।

नेपाली दूरसंचार सेवाप्रदायक कम्पनीहरुले बाँकी बक्यौता नबुझाएको बेलामा नै छिमेकी मुलुक भारतमा पनि यस्तै विवाद चर्किएको छ ।

भारतमा पनि टेलिकम अपरेटरहरुले सरकारलाई बुझाउनुपर्ने बाँकी बक्यौता नबुझाएको विषयमा टेलिकम कम्पनीहरुबिच विवाद नै शुरु भएको छ । टेलिकम अपरेटहरुको एउटा समुहले सो बाँकी बक्यौतालाई सरकारले मिलाउनुपर्ने भनेर लबिंग शुरु गरेको छ भने अर्को तर्फ धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स जियोले भने सो बक्यौता असुल गरिनुपर्ने बताएको छ ।

केहि साताअघि भारतको सुप्रिम कोर्टले सो बाँकी बक्यौता रकम टेलिकम अपरेटरहरुले सरकारलाई तिर्नुपर्ने निर्णय गरेसँगै यो विवाद शुरु भएको हो । अदालतले भारती एयरटेल र भोडाफोन आइडियाले बक्यौता रकम सरकारलाई करिब ९३ हजार करोड भारु बाँकी बक्यौता र ब्याजसहित तिर्न आदेश दिएको थियो ।

सो बारेमा भारतका टेलिकम अपरेटरहरुको संस्था सेलुलर अपरेटर्स एसोसिएसन अफ इण्डिया(सीओएआई)ले भारतीय टेलिकम मन्त्री रविशंकर प्रसादलाई पत्र पठाउँदै त्यस्तो भुक्तानीले कम्पनीहरुलाई संकटग्रस्त पार्ने र समग्र टेलिकम सेक्टर नै प्रभावित हुने उल्लेख गरेका थिए ।

सो पत्रमा लगानीमा असर पार्ने, सेवाहरु प्रभावित हुनसक्ने र रोजगारी गुम्नुका साथै लगानीकर्ताहरुको मनोबल गिर्ने दाबी गरिएको समाचार रिपोर्टहरुमा उल्लेख छ । सो संकटले टेलिकम उद्योगलाई नै दबाब दिने र समग्रमा भारतलाई नै प्रभावित बनाउने बताईएको छ ।

सो पत्रमा ९३ हजार करोड भारु तिर्दा हाल भारती एयरटेल र भोडाफोन आइडियाले वार्षिकरुपमा तिरिरहेको ६०० अर्ब भारु सरकारलाई भुक्तानी गर्न समेत कठिन हुने र त्यसले थप चुनौती ल्याउने उल्लेख छ ।

एयरटेल र भोडाफोनले सो बाँकी बक्यौता भुक्तानीमा राहत दिन आग्रह गरिरहेको बेलामा भने सोहि एसोसिएसनको अर्को सदस्य कम्पनी रिलायन्स इन्डष्ट्रिज अन्तरगतको जियोले भने त्यसलाई अस्विकार गरेको छ ।

रिलायन्स जियोले बुधबार भारतीय टेलिकम मन्त्रीलाई पत्र पठाउँदै एयरटेल र भोडाफोनबाट सुप्रिम कोर्टको फैसलाअनुसार नै सरकारले ती कम्पनीहरुबाट बाँकी बक्यौता असुल गर्नुपर्ने बताएको छ ।

समाचार रिपोर्टहरुकाअनुसार जियोले सीओएआई एयरटेल र भोडाफोनको कठपुतली भएको भन्दै दुबै कम्पनीलाई फाईदा पुर्याउन सो संस्थाले झुठो बिबरणहरु पेश गरेको दाबी गरेको छ ।

जियोले बाँकी बक्यौता तिर्न भनिएका कम्पनीहरुसँग बक्यौता तिर्नका लागि पर्याप्त आर्थिक क्ष्मता रहेको भन्दै ट्याक्सपेयर्सको रकमबाट टेलिकम कम्पनीहरुलाई बेलआउट प्याकेज नदिन भनेको हो । भुक्तानीको लागि एयरटेल र भोडाफोनले आफ्ना हालका सम्पत्ति र लगानीलाई मनिटाइज गर्न सक्ने र ताजा शेयरको पनि प्रयोग गर्न सक्ने जियोको भनाई छ ।

यी दुई कम्पनीहरुले सरकारी रकम तिर्नुपर्ने थाहा हुँदाहुँदै पनि कम्पनीहरु आफ्नो भनाईमा अडिग रहँदा बाँकी बक्यौता तिर्न समस्या भएको हो । कम्पनीहरुले भारतमा निकै आम्दानी गरेको तर लगानी गर्न नचाहँदा अहिले समस्या आएको जियोले पत्रमा उल्लेख गरेको छ ।

भारतको टेलिकम सेक्टरमा कुनै समय दर्जन भन्दा बढि मोबाइल अपरेटरहरु थिए तर हाल केबल तीन नीजि कम्पनीहरु भारती एयरटेल, भोडाफोन आइडिया र रिलायन्स जियो रहेका छन् । त्यस्तै दुई सरकारी कम्पनीहरु बिएसएनएल र एमटिएनएल संचालनमा छन् ।

यस बिषयमा सरकारले कुनै निर्णय नगरिसकेको र छलफल गरिरहेको समाचार रिपोर्टहरुमा उल्लेख छ । एजेन्सीका साथ

easy care

प्रकाशित: १५ कार्तिक २०७६, शुक्रबार

ताजा समाचार