यूटिएलको ब्रोडब्याण्ड बिस्तारको परियोजना फिर्ता लिएर नयाँ ढंगबाट शुरु गर्नुपर्छ– संचार मन्त्री बाँस्कोटा

Technology Khabar १५ भाद्र २०७६, आईतवार

यूटिएलको ब्रोडब्याण्ड बिस्तारको परियोजना फिर्ता लिएर नयाँ ढंगबाट शुरु गर्नुपर्छ– संचार मन्त्री बाँस्कोटा
फाइल

काठमाडौं ।

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सूचना प्रविधिको दूरुपयोग रोक्ने कानून आईसकेको भन्दै त्यस्तो गतिविधिमा संलग्नलाई कारबाही गर्ने बताएका छन् ।

संचार मन्त्री बाँस्कोटाले ह्याकिंग गर्ने बैंकिंग कसूर गर्ने र साइबर अपराध गर्नेलाई कारबाही गर्ने प्रकृया शुरु भईसकेको बताएका हुन् ।

राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा साइबर सेक्यूरिटी केन्द्र र डाटा सेन्टर स्थापनाको भईसकेको भन्दै उनले भने, ‘कहाँबाट ह्याकिंग भईरहेको छ, त्यो थाहा पाउने प्रविधि जडान भईसकेको छ । इमेल निर्देशिका बनाएर कार्यान्वयन गरिसकेका छौं, डाटा रिकभरी सेन्टर हेटौंडामा खोलिएको छ ।’

सूचना महामार्गको काम शुरु भईसकेको भन्दै संचार मन्त्री बाँस्कोटाले प्रदेश १, २, र ३ को जिम्मा नेपाल टेलिकमलाई दिएको बताए । उनले यूनाईटेड टेलिकमले काम गर्न नसकेको भन्दै त्यो परियोजना नयाँ ढंगबाट शुरु गर्नुपर्ने स्पष्ट पारे ।

‘गण्डकी प्रदेश र प्रदेश नम्बर ५ को ठेक्का भएर पनि काम हुन सकेको छैन्, त्यो दुखद छ, यूटिएलले गरेको काम नभएर दुई वर्षदेखि पेण्डिङ्ग र होल्डिङ्गमा छ, त्यसलाई परियोजना फिर्ता लिएर नयाँ ढंगले अगाडि बढाउनु पर्नेछ,’ उनले भने ।

उनले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि काम राम्ररी नभएको भन्दै नयाँ किसिमले शुरु गर्ने जानकारी दिए । त्यस्तै यहि वर्ष बुटवल र बिराटनगरमा इन्टरनेट एक्सचेन्ज सेन्टर स्थापना गर्ने तयारी भएको भन्दै डाटा सेन्टर पनि इटहरी र नेपालगंजमा राखिने बताए ।

त्यस्तै कर्णाली प्रदेश र २ नम्बर प्रदेशमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम अन्तिम चरणमा रहेको र नेपाल टेलिकमको फोरजी परियोजनामा पनि अगाडि बढिरहेको बताए । टेलिकमको फोरजी सेवा कात्तिकसम्म २५ वटा शहरहरुमा पुर्याउने र आउँदो वैशाख जेठभित्र यो परियोजना सक्ने बताए ।

मन्त्री बाँस्कोटाले गुणस्तरीय दूरसंचार सेवा दिनका लागि पूर्वाधार सहप्रयोग गर्नुपर्ने बताए । उनले सहप्रयोगबार्ट लागत र समय सबै घट्न जाने र मनिटरिंग र क्षमता अभिवृद्धिबाट पनि गुणस्तर कायम राख्न सकिने स्पष्ट पारे ।

उनले गुणस्तरीय दूरसंचार सेवाको लागि टेलिकमको तार जमीनमुनिबाट लैजाँदा त्यसमा पानी नपस्ने भन्दै फाइबर लगायतका नयाँ प्रविधिबाट पनि गुणस्तरीयतामा ध्यान दिन सकिने बताए ।

ब्रोडब्याण्ड कनेक्टिभिटी विद्यालयमा पुर्याउन लागिएको बताउँदै संचार मन्त्रीले एक हजार विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेटसहितको सूचना प्रविधि पुर्याउने काम गर्न लागेको र सात वटा विद्यालयमा शुरु भईसकेको बताए ।

संचार मन्त्री बाँस्कोटाले स्याटेलाइटले नेपालमा इन्टरनेट जेनेरेट गर्ने बताउँदै त्यसको लागि सम्झौताको बिन्दुमा पुगेको जानकारी दिए । ‘त्यसले हामीलाई आत्मनिर्भर पनि बनाउँछ, एकातिर बचत हुन्छ भने अर्कोतिर आत्मनिर्भर पनि हुन्छ,’ उनले भने ।

माध्यम

easy care

प्रकाशित: १५ भाद्र २०७६, आईतवार

ताजा समाचार