भारतमा जियोलाई इन्टरकनेक्सन नदिएको भन्दै टेलिकम कम्पनीहरुलाई ३ हजार ५० करोड भारु जरीवाना

Technology Khabar १३ श्रावण २०७६, सोमबार

भारतमा जियोलाई इन्टरकनेक्सन नदिएको भन्दै टेलिकम कम्पनीहरुलाई ३ हजार ५० करोड भारु जरीवाना

काठमाडौं ।

काठमाडौं । भारतको डिजिटल कम्यूनिकेसन कमीशनले टेलिकम कम्पनीहरु भारती एयरटेल र भोडाफोन आइडियालाई ३ हजार ५० करोड रुपैयाँ भारु जरीवाना गरेको छ ।

डिसीसीले तत्कालिन समयका तीनवटा टेलिकम कम्पनीहरुलाई यो जरीवाना रिलायन्स जियोलाई ३ साल पहिले इन्टरकनेक्शन पोर्ट उपलब्ध नगराएको आरोपमा लगाएको हो। भोडाफोन र आइडिया पछि मर्ज भएका टेलिकम कम्पनीहरु हुन् ।

जियोको प्रवेशपछि प्रतिस्पर्धा गर्न कठिन भईरहेका तीन कम्पनीहरु एयरटेल, आइडिया र भोडाफोनका लागि डिसीसीको यो जरीवाना अकस्मात आएको अर्को समस्याको रुपमा हुनसक्ने विश्लेषण गरिएकोछ ।

सो जरिवाना रकमअनुसार एयरटेल र भोडाफोन प्रत्येकले करिब १ हजार ५० करोड भारु तिर्नुपर्ने हुन्छ भने आइडियाको हकमा भने करिब ९५० करोड भारु जरीवाना लाग्नेछ। यो जरीवानामध्ये हाल मर्ज भएको भोडाफोन आइडिया भने भोडाफोन र आइडियाको दुबै जरीवाना रकम तिर्नुपर्ने हुन्छ ।

डिसीसीद्धारा लगाईएको सो जरीवानाको सिफारिश भारतको डिपार्टमेन्ट अफ टेलिकम्यूनिकेसनमा जानेछ र डिओटीले सो जरीवानाको बारेमा अन्तिम फैसला लिनसक्नेछ ।

उता सेलुलर अपरेशन एसोसियसन अफ इण्डियाले भने सो जरीवानाको बारेमा निराशजनक भएको बताएको छ । एसोसिएशनकाअनुसार वित्तीय समस्याहरु झेलिरहेका कम्पनीहरुका लागि यो अझ समस्या बढाउने फैसला हो । एयरटेलले पनि सो फैसला कम्पनीमाथि थप बोझ हुनसक्ने बताएको छ ।

यसअघि सन् २०१६ अक्टोबरमा भारतीय दूरसंचार क्षेत्रको नियामक निकाय ट्राईले पनि एयरटेल र भोडाफोनलाई १ हजार ५० करोड तथा आइडियालाई ९५० करोड भारुको जरीवाना लगाउने फैसला गरेको थियो । ट्राईले भने सो जरीवाना रकम परिवर्तन हुन नसक्ने अवस्थामा रहेको उल्लेख गरेको छ ।

भारतीय बजारमा जियोले २०१६ सेप्टेम्बरदेखि उपस्थित भएको थियो र त्यसको प्रवेशपछि यी कम्पनीहरुले जियोलाई इन्टरकनेक्सन पोर्ट उपलब्ध गराएका थिएनन् । सोहि कारणले गर्दा जियोका यूजर्सले ती कम्पनीहरुका नम्बरमा फोन गर्न सकेका थिएनन् । एजेन्सी

easy care

प्रकाशित: १३ श्रावण २०७६, सोमबार

ताजा समाचार