एमडिएमएस सिस्टमको लागि कम्पनी छनौट, मोबाइल फोनको अवैध कारोबार रोकिने

Technology Khabar ३ असार २०७६, मंगलवार

एमडिएमएस सिस्टमको लागि कम्पनी छनौट, मोबाइल फोनको अवैध कारोबार रोकिने

काठमाडौं ।

अनुज राज ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनहरु अवैध आयातलाई नियन्त्रण गर्ने प्रणाली जडान र संचालनको लागि कम्पनी छनौट गरेको छ । प्राधिकरणले हालै ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)’को लागि कम्पनी छनौट गरेसँगै अवैधरुपमा आयात हुने मोबाइल फोनहरु रोकिने भएको हो ।

प्राधिकरणले हालै दि राईजिंग नेपालमा एक सार्वजनिक सूचना प्रकाशित गर्दै एमडिएमएसको लागि मलेशियन कम्पनीलाई छनौट गरिएको जानकारी दिएको छ । प्राधिकरणले मलेशियाको कम्पनी नूमेरा(एम) एसडिएन, बर्हाद मलेशिया, ओएसआई कन्सल्टिंग प्रालि ईण्डिया र नमस्ते ग्लोबल कम्यूनिकेसन प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चरलाई छनौट गरेको हो ।

यो कम्पनीले एमडिएमएसको डिजाइन, विकास, आपूर्ति, जडान, परीक्षण, संचालनलगायतका सम्पूर्ण कार्यहरु गर्नेछ । सो कम्पनीले संचालन गर्ने उक्त प्रणालीमा नेपालभर संचालनमा रहेका मोबाइल फोनहरुको आईएमईआई दर्ता, सम्पूर्ण मोबाइल अपरेटरहरुको सिम कार्ड दर्ता, आईएमईआई राखिएका अन्य डिभाइसहरुको दर्ता लगायतका कार्यहरु गर्नेछ ।

सो कम्पनीलाई प्राधिकरणले ७० लाख ६६ हजार ८८८ अमेरिकी डलर अर्थात करिब ७९ करोड १४ लाख ९१ हजार रुपैयाँमा टेण्डरमार्फत एमडिएमएस जडानको लागि स्वीकृती दिएको हो ।

कम्पनीले सोहि मूल्यमा आगामी ५ वर्षसम्म सो प्रणाली प्राधिकरणको प्रत्यक्ष निगरानीमा संचालन गर्नुपर्नेछ ।

दूरसंचार प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले एमडिएमएसको टेण्डर प्रकृया लामो समय लगाएर भएपनि पुरा गर्न सकिएको बताए ।

‘यो टेण्डरमा विभिन्न चरणबद्धरुपमा कम्पनीहरु छनौट हुँदै अन्तिममा प्रकृयामा योग्य दुई कम्पनीहरुमध्ये नूमेराको जेभीलाई पत्र दिएका हौं, सो कम्पनीले अब काम अगाडि बढाउनेछ, आगामी आवभित्रै सिस्टम संचालनमा आउँछ,’ कार्यबाहक अध्यक्ष खनालले भने ।

यो सिस्टम जडान भएपछि मूख्यरुपमा डिभाइसहरुको आईएमईआई दर्ता हुने, इन्टरनेटशनल सब्सक्राइबर आईडेन्टिटी सिम कार्ड स्टोर हुने र मोबाइल स्टोर आईएसडिएन नम्बर यूज फर राउटिंग कल फर सब्सक्राइबको काम हुनेछ ।

टेण्डर पाएको कम्पनीलाई प्राधिकरणले लेटर अफ इन्टेन्ट जारी गरेको छ भने सो कम्पनीले ७ दिनको म्याद पाएको छ । टेण्डर पाएको कम्पनीले १५ दिनभित्र आफूले टेण्डर गरेको रकमको ५ प्रतिशत कार्यसम्पादन धरौटी राखेर सम्झौता गरेपछि काम अगाडि बढ्नेछ ।

एमडिएमएसको टेण्डर पारेको नूमेराले आगामी ६ महिनाभित्र सबै कार्य सकेर आईएमईआई दर्ता प्रकृया शुरु गर्नेछ भने ५ वर्षसम्म त्यसको लागि सपोर्ट समेत गर्नेछ ।

एमडिएमएस प्रणाली संचालन भएपनि नेपालमा आउने अवैध मोबाइलहरु नेटवर्कमा संचालन हुन सक्दैनन भने अनधिकृत मोबाइलहरुको प्रयोग घट्दै जान्छ । त्यसैगरि ग्रे मार्केट बन्द हुनेछ भने मोबाइल डिभाइसहरुबाट आउने राजस्वको दर वृद्धि हुनेछ । यसले गर्दा मोबाइल डिभाइस चोरी हुन बन्द हुनेछ । त्यसैगरि अवैध डिभाइसमार्फत हुने गलत कार्य रोकिनेछ ।

कार्यबाहक अध्यक्षकाअनुसार कम्पनीले सम्झौता गरेको करिब ३ महिनाभित्रै आईएमईआईको दर्ता शुरु गर्न सक्ने अवस्था हुन्छ, जसले गर्दा अवैध मोबाइल आयात रोकिन्छ ।

‘देशभित्र मोबाइल सर्भिसको बढ्दो प्रयोगलाई भरपर्दो र सुरक्षित बनाउन पनि यो सिस्टम आवश्यक पर्छ,’ उनले भने ।

प्राधिकरणले यसअघि गत वर्ष एमडिएमएम संचालनको लागि इच्छुक कम्पनीहरुसँग प्रस्ताव माग गरेको थियो । जसमा ६ वटा कम्पनीहरुले आवेदन दिएका थिए । प्रस्ताव हालेकोमध्ये केवल ४ कम्पनीहरुले मात्र प्राविधिक तथा वित्तिय प्रस्ताव दर्ता गराएका थिए । ती चार कम्पनीहरुमध्ये पनि दुई कम्पनीहरु प्राधिकरणले तोकेको मापदण्डमा पर्न सकेका थिएनन् । मापदण्ड पुरा गर्न नसक्ने कम्पनीहरुमा एफवान सफ्ट जेभी रहेको कम्पनी थियो भने अर्को स्विट्जरल्याण्डको कम्पनी सिक्याप स्वेज एजी रहेको थियो ।

मोबाइल आईएमईआई दर्ता प्रणाली यो वर्ष नआउने, एफवान सफ्ट प्रकृयाबाटै आउट

मापदण्डमा परेका दुई कम्पनीहरु मोबिलोन ट्रेड इन्टरनेशनल प्रालि नेपाल, इन्फ्रा डाटा एनभी बेल्जियम र ग्रिन आईटी सोल्यूशन प्रालि नेपालको ज्वाइन्ट भेन्चर कम्पनी र मलेशियाको कम्पनी नूमेरा(एम) एसडिएन, बर्हाद मलेशिया, ओएसआई कन्सल्टिंग प्रालि ईण्डिया र नमस्ते ग्लोबल कम्यूनिकेसन प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर मात्र टेण्डरमा सहभागी हुन योग्य रहेका थिए ।

मोबिलोनको ज्वाइन्टभेन्चरको भन्दा कम मूल्यमा नूमेराले सो प्रणालीको सम्पूर्ण काम गर्ने प्रतिबद्धता पछि सो कम्पनीलाई कामको जिम्मा दिन लागिएको हो । नूमेराले मोबिलोनको भन्दा ५ हजार अमेरिकी डलर कम मूल्यमा काम गर्न सहमत भएको थियो ।

प्राधिकरणको बहु वर्षिय योजनाअन्तरगत यो वर्षको बजेटमा एमडिएमएसको लागि ६० करोड रुपैयाँ बिनियोजन प्रस्ताव गरिएको छ ।

के हो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस)?

करिब एक अर्ब रुपैयाँ लगानीमा तयार गर्न लागिएको एमडिएमएसले मुलुकभित्र रहेका प्रत्येक मोबाइल ह्यान्डसेटको प्रयोग, विदेशबाट आयात हुने तथा बजारमा रहेका मोबाइल ह्यान्डसेटलाई व्यवस्थित गर्नेछ । यसले मोबाइल सेटको परिचय दिने आइएमइआई (IMEI) नम्बरको दर्ता गरेर सम्पूर्ण मोबाइल ह्यान्ड सेटको जानकारी संकलन गर्नेछ । यो प्रणालीले कम्तीमा १० करोड आईएमईआई नम्बर दर्ता गर्न सकिनेछ । यो प्रणालीमा आईएमईआई नम्बर राखिएका हरेक डिभाइसहरुको दर्ता र रेकर्ड हुनेछ ।

यो प्रणालीमा दर्ता भएका आईएमईआईको आधारमा तीनवटा सूची बनाईने छ । जसमा ह्वाईट लिस्ट, ग्रे लिस्ट र ब्ल्याक लिस्ट हुनेछ । ह्वाईट लिस्टमा हुने मोबाइल ह्यान्ड सेट प्रयोग गर्न पाईने र वैधानिक हुनेछन् । त्यस्तै ब्लाक लिस्टमा चोरी भएका, हराएका, अवैध भएका नम्बरहरु राखिने छ भने दर्ता भएका तर प्रयोग गर्न नमिल्ने, उजूरी परेर छानबिन हुँदै गरेका तथा संकास्पद नम्बरहरु ग्रे लिस्टमा रहने छन् ।

सिस्टम संचालनमा आएपछि ह्वाइट लिस्टमा राखिएका आइएमइआई नम्बरको ह्यान्डसेट मात्र दूरसञ्चार सेवा प्रदायकका नेटवर्कमा प्रयोग गर्न सकिनेछ। हराएका, चोरी भएका मोबाइल ह्यान्ड सेट ट्र्याकिङ र ब्लक गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ।

*हेडलाइन सच्याईएको ।

यो पनि हेर्नुस्-

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम संचालनका लागि ६ कम्पनी सर्टलिस्टमा, कसले मार्ला बाजी ?

Global Bank
easy care

प्रकाशित: ३ असार २०७६, मंगलवार