Technology Khabar १४ फाल्गुन २०७५, मंगलवार
काठमाडौं ।
अनुज राज ढुङ्गेल ।काठमाडौं । मोबाइल डिभाइसहरुको दर्ता प्रणााली अर्थात मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम यो आर्थिक वर्ष संचालनमा आउन नसक्ने भएको छ । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा मोबाइल डिभाइसहरुको आईएमईआई नम्बर दर्ता गर्नको लागि संचालन गर्न लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) चालु आर्थिक वर्ष भित्र नआउने निश्चित जस्तै भएको हो ।
हालसम्म प्राविधिक प्रस्तावको मुल्यांकन सकिएको र सो सिस्टमको लागि वित्तिय प्रस्ताव मूल्यांकनको तयारी हुँदै गरेको प्राधिकरणले जानकारी दियो ।
दूरसंचार प्राधिकरणका सह प्रवक्ता अच्यूतानन्द मिश्रले एमडिएमएसको प्राविधिक तथा वित्तिय मूल्यांकनको प्रकृया भईरहेको जानकारी दिए । ‘हाल प्राविधिक तथा वित्तिय मूल्यांकनको प्रकृया चलिरहेको छ, त्यसैले अन्य विषयवस्तुहरुको बारेमा थप केहि भन्न मिल्दैन्,’ सहप्रवक्ता मिश्रले भने ।
उनकाअनुसार छनौट भएर प्रस्ताव हालेका सबै कम्पनीहरुलाई यहि मार्च ११ तारिखमा मूल्यांकन बारे जानकारी दिन प्राधिकरणले बोलाएको छ ।
अर्कोतर्फ प्राधिकरण स्रोतले दुई कम्पनीहरु बिचमात्र वित्तिय मूल्यांकनको लागि प्रतिस्पर्धा हुने बताएको छ । ती दुई कम्पनीहरुमध्ये एउटाले मात्र सो सिस्टम संचालन गर्ने अनुमति प्राप्त गर्ने देखिएको छ ।
प्राधिकरणकाअनुसार सो सिस्टम संचालन गर्न इच्छा राख्दै ६ वटा कम्पनीहरुले प्रस्ताव हालेकोमा केबल ४ कम्पनीहरुले मात्र प्राविधिक तथा वित्तिय प्रस्ताव दर्ता गराएका थिए । ती चार कम्पनीहरुमध्ये पनि दुई कम्पनीहरु प्राधिकरणले तोकेको मापदण्डमा नै नपरेको प्राधिकरणका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा टेक्नोलोजीखबरलाई जानकारी दिए ।
‘हामीले तोकेको न्यूनतम मापदण्डअनुसार नहुँदा ती दुई कम्पनीहरु मुल्यांकनमा नै समावेश भएनन् । त्यसैले २ वटा कम्पनीहरु मात्र योग्य देखिए,’ ती अधिकारीले भने ।
उनकाअनुसार प्राधिकरणले प्राविधिक मुल्यांकन खोल्ने र वित्तिय मुल्यांकनको प्रकृया अगाडि बढाउने विषयमा गत साता नै निर्णय गरिसकेको हुँदा वित्तिय मुल्यांकनमा २ कम्पनी मात्र सहभागी हुन पाउनेछन्।
अझ यसमध्येमा पनि निकै चर्चित नेपाली सफ्टवेयर कम्पनी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ अस्गर अली आबद्ध रहेको एफवान सफ्ट जेभी नै सो मापदण्ड पुरा गर्न नसक्दा बाहिरिएको प्राधिकरण स्रोतले जानकारी दियो ।
एफवान सफ्टले लेबनानको कम्पनीसँग मिलेर ज्वाइन्ट भेन्चरमा सो सिस्टम संचालन गर्न प्रस्ताव दर्ता गराएको थियो । इन्भीगो अफ शोर एसएएल, लेबनान र एफ वान सफ्ट इन्टरनेशनल प्रालि नेपालको ज्वाइन्ट भेन्चरमा सो प्रस्ताव दर्ता गरिएको थियो ।
त्यस्तै अर्को विदेशी कम्पनी पनि सो मूल्यांकन मापदण्ड पुरा गर्न नसक्दा सो सिस्टम संचालनको प्रकृयाबाट बाहिरिएको छ । यसरी सो प्रकृयामा असफल भएर बाहिरिने कम्पनीमा सिक्याप स्वेज एजी स्विटजरल्याण्ड रहेको प्राधिकरणका अधिकारीले दाबी गरे ।
प्राविधिक मूल्यांकनमा सफल ठहरिएका बाँकी २ कम्पनीहरुबिच अब वित्तिय प्रस्तावको मूल्यांकन हुने र सो मूल्यांकनबाट उत्कृष्ट ठहरिने कम्पनीले मात्रै सो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको सम्पूर्ण जिम्मा लिन पाउनेछ ।
प्राविधिक प्रस्तावको मूल्यांकनमा सफल भएर वित्तिय प्रस्तावको लागि परेका दुबै ज्वाइन्ट भेन्चर कम्पनीहरु छन् । यसमा मोबिलोन ट्रेड इन्टरनेशनल प्रालि, नेपाल इन्फ्रा डाटा एनभी बेल्जियम र ग्रिन आईटी सोल्यूशन प्रालि नेपालको ज्वाइन्ट भेन्चर र न्यूमेरा(एम) एसडीएन.बिएचडी. मलेशिया, ओएसआई कन्सल्टिंग प्रालि इण्डिया र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर कम्पनीहरु रहेका छन् ।
यी दुई कम्पनीहरुमध्ये उत्कृष्ट कुनै एक कम्पनीले सो सिस्टमको सम्पूर्ण जिम्मा लिनेछ र कम्तिमा ५ वर्षसम्म सो सिस्टम संचालन गर्नुपर्नेछ ।
यसअघि १२ वटा कम्पनीहरुले सो सिस्टम संचालन गर्नका लागि प्राधिकरण समक्ष ईच्छा देखाउँदै आवेदन दिएका थिए । प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर सो सिस्टम संचालन गर्न इच्छुक कम्पनीहरुलाई निवेदनको लागि आव्हान गरेको थियो ।
कहिले आउला एमडिएमएस ?
एमडिएमएमको लागि प्रस्ताव दिएका कम्पनीहरुको प्राविधिक मुल्यांकनको प्रकृया सकिएर वित्तिय मुल्यांकनका लागि थप केहि समय लाग्न सक्छ भने त्यसपछि पनि प्राधिकरणले सो कम्पनीको बारेमा बोर्डबाट निर्णय गर्नुपर्ने हुन्छ । त्यसैले यो सबै प्रकृया नियमितरुपमा पुरा गर्दापनि चालु आर्थिक वर्षभित्रै एमडिएमएस संचालन हुने संभावना निकै न्यून भएको प्राधिकरणका एक अधिकारीले बताए ।
यी सबै प्रकृया पुरा गरेर सो सिस्टम संचालन गर्न कम्तिमा ५/६ महिना लाग्ने उनको दाबी थियो । ‘हामीले छिटो प्रकृया सक्दा पनि एमडिएमएस संचालन अनुमति पाएको कम्पनीलाई सबै काम गर्न छिटोमा ३ देखि ५ महिना लाग्दछ,’ उनले भने ।
सो सिस्टम संचालनको अनुमति पाउने कम्पनीले प्राधिकरणबाट लेटर अफ इन्टेन्ट पाउनेछ भने सोहि आधारमा नेपालमा कम्पनी खोल्नुपर्ने हुन्छ । त्यसपछि कम्पनीले एमडिएमएसको हार्डवेयर र सफ्टवेयरको डिजाइन, डेभलप, इन्स्टल र अपरेशनको कार्य शुरु हुन्छ ।
सो अनुमति प्राप्त कम्पनीले त्यस्तो सफ्टवेयर बनाउन कम्तिमा ३ महिना लाग्न सक्नेछ भने सबै प्रकृया पुरा गरेर संचालन गर्न ६ महिना नै लाग्नसक्ने प्राधिकरणका ती अधिकारीले जानकारी दिए ।यसको अर्थ चालु आर्थिक वर्षभित्र सो प्रकृया सकेर एमडिएमएस संचालन गर्न संभव छैन भने आगामी आर्थिक वर्षमा मात्र सो सिस्टम संचालन हुने संभावना रहेको छ ।
प्रकाशित: १४ फाल्गुन २०७५, मंगलवार