मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम संचालनका लागि ६ कम्पनी सर्टलिस्टमा, कसले मार्ला बाजी ?

Technology Khabar ७ कार्तिक २०७५, बुधबार

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम संचालनका लागि ६ कम्पनी सर्टलिस्टमा, कसले मार्ला बाजी ?

काठमाडौं ।

काठमाडौँ । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) (Mobile Device Management System) संचालनका लागि ६ वटा कम्पनीहरुलाई छनौट गरेको छ ।

प्राधिकरणले यसअघि आव्हान गरेको सूचनाको आधारमा एमडिएमएस सेवा नेपालमा डिजाइन, विकास, आपूर्ति, इन्स्टल, परिक्षण र संचालन गर्ने लगायतका सम्पूर्ण जिम्मेबारी पुरा गर्नका लागि ६ कम्पनीहरुको छनौट गरेको हो ।

छनौट भएका कम्पनीहरुमा

  • इन्भीगो अफ शोर एसएएल, लेबनान र एफ वान सफ्ट इन्टरनेशनल प्रालि नेपालको ज्वाइन्ट भेन्चर
  • मोबिलोन ट्रेड इन्टरनेशनल प्रालि नेपाल इन्फ्रा डाटा एन भी बेल्जियम र ग्रिन आईटी सोल्यूशन प्रालि नेपालको ज्वाइन्ट भेन्चर
  • सिक्याप स्वेज एजी, स्विटजरल्याण्ड
  • न्यूमेरा(एम) एसडीएन.बिएचडी. मलेशिया, ओएसआई कन्सल्टिंग प्रालि इण्डिया र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर
  • माभेनिर सिस्टम लिमिटेड यूके र साइटस कम्यूनिकेसन प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर
  • पोर्टिग एक्सेस बि भी नेदरल्याण्ड र कल क्रेडिट ग्रुप यूकेको ज्वाइन्ट भेन्चर

रहेका छन् ।

यी कम्पनीहरुमध्येबाट आर्थिक र प्राविधिक प्रस्ताव मागेर त्यसको आधारमा एउटा कम्पनी छनौट गर्ने प्राधिकराणका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए ।

‘हामीले यसअघि एमडिएमएस संचालन गर्न चाहने कम्पनीहरुका लागि सार्वजनिक सूचना जारी गरेका थियौं र इच्छुक कम्पनीहरुमध्ये ६ वटा कम्पनी छनौटमा परेका छन्, यी मध्ये एउटाले सो प्रणालीको सम्पूर्ण कार्य गर्नेछ,’ प्रवक्ता अर्यालले टेक्नोलोजीखबरसँग भने ।

उनका अनुसार यो प्रकृया सकेर एउटा कम्पनी छनौट गर्न करिब २ महिनाको समयावधि लाग्नेछ । नियमित प्रकृयाअनुसार नै निरन्तर काम भएमा चालु आर्थिक वर्षभित्रै एमडिएमएस शुरु हुने प्रवक्ता अर्यालको भनाई छ ।

कसले पाउँछ ?

यी कम्पनीहरुमध्ये जून कम्पनीले आर्थिक रुपमा सस्तो मूल्यमा सो प्रणाली संचालन गर्ने प्रस्ताव गर्दछ त्यसलाई नै संचालनको अनुमति दिईनेछ भने सो कम्पनीको प्राविधिक क्षमता र सक्षमता पनि हेरिनेछ । प्राधिकरण भित्रकै अध्ययन, मूल्यांकन तथा छनौट समितीले उल्लेखित ६ कम्पनीहरुको आर्थिक र प्राविधिक प्रस्तावको अध्ययन गरेर त्यसमध्ये उत्कृष्ट ३ कम्पनीको सूची तयार पार्नेछ । सो उत्कृष्ट ३ मध्ये एउटा कम्पनीलाई प्राधिकरण बोर्डले प्रणाली संचालनको अनुमति दिनेछ ।

यस प्रकृयाबाट छनौट भएको कम्पनीले नेपालमा एमडिएमएस प्रणालीको सम्पूर्ण कार्य गरेर नेपाल भित्रने र प्रयोगमा रहेका डिभाइसहरुको आईएमईआई दर्ता गर्ने कार्यको जिम्मेबारी लिनेछ । छनौट भएको कम्पनीले एमडिएमएस सेवा नेपालमा डिजाइन, विकास, आपूर्ति, इन्स्टल, परिक्षण र संचालन गर्ने लगायतका सम्पूर्ण जिम्मेबारी लिनुपर्नेछ । यस्तो प्रकृयाको लागि कम्तिमा ४ महिना लाग्ने हुन्छ ।

के हो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस)?

करिब एक अर्ब रुपैयाँ लगानीमा तयार गर्न लागिएको एमडिएमएसले मुलुकभित्र रहेका प्रत्येक मोबाइल ह्यान्डसेटको प्रयोग, विदेशबाट आयात हुने तथा बजारमा रहेका मोबाइल ह्यान्डसेटलाई व्यवस्थित गर्नेछ । यसले मोबाइल सेटको परिचय दिने आइएमइआई (IMEI) नम्बरको दर्ता गरेर सम्पूर्ण मोबाइल ह्यान्ड सेटको जानकारी संकलन गर्नेछ । यो प्रणालीले कम्तीमा १० करोड आईएमईआई नम्बर दर्ता गर्न सकिनेछ । यो प्रणालीमा आईएमईआई नम्बर राखिएका हरेक डिभाइसहरुको दर्ता र रेकर्ड हुनेछ ।

यो प्रणालीमा दर्ता भएका आईएमईआईको आधारमा तीनवटा सूची बनाईने छ । जसमा ह्वाईट लिस्ट, ग्रे लिस्ट र ब्ल्याक लिस्ट हुनेछ । ह्वाईट लिस्टमा हुने मोबाइल ह्यान्ड सेट प्रयोग गर्न पाईने र वैधानिक हुनेछन् । त्यस्तै ब्लाक लिस्टमा चोरी भएका, हराएका, अवैध भएका नम्बरहरु राखिने छ भने दर्ता भएका तर प्रयोग गर्न नमिल्ने, उजूरी परेर छानबिन हुँदै गरेका तथा संकास्पद नम्बरहरु ग्रे लिस्टमा रहने छन् ।

सिस्टम संचालनमा आएपछि ह्वाइट लिस्टमा राखिएका आइएमइआई नम्बरको ह्यान्डसेट मात्र दूरसञ्चार सेवा प्रदायकका नेटवर्कमा प्रयोग गर्न सकिनेछ। हराएका, चोरी भएका मोबाइल ह्यान्ड सेट ट्र्याकिङ र ब्लक गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस् –

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमका लागि कम्पनी छनौट प्रकृया अलपत्र, यस्तो छ कारण

Global Bank
easy care

प्रकाशित: ७ कार्तिक २०७५, बुधबार

ताजा समाचार