सिमकार्ड बितरणलाई केन्द्रिकृत गर्ने योजनामा दूरसंचार प्राधिकरण, कार्यबिधि तयार हुँदै

Technology Khabar १९ फाल्गुन २०७५, आईतवार

सिमकार्ड बितरणलाई केन्द्रिकृत गर्ने योजनामा दूरसंचार प्राधिकरण, कार्यबिधि तयार हुँदै

काठमाडौं ।

अनुज राज । काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकहरुको सिमकार्ड बिक्री प्रकृयालाई व्यवस्थित गर्नका लागि नयाँ कार्यविधि ल्याउने भएको छ । प्राधिकरणले ‘ई-केवाईसी सिस्टम’ को कार्यविधि मस्यौदा तयार पार्दै सिमकार्ड बिक्रीलाई केन्द्रिकृत प्रणालीमा लाने भएको हो ।

यसअघि नै छलफलमा आएको ई-केवाईसी सिस्टम कार्यबिधिलाई प्राधिकरणले अन्तिमरुप दिने तयारी गरेको हो । सो कार्यबिधिमा एकजना ग्राहकलाई कतिवटा सिम प्रयोग गर्न दिने भन्ने मस्यौदामा राख्ने वा नराख्ने विषयमा छलफल भएपनि त्यसबारेमा अझै निर्णय नभएको प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

‘एकजनालाई कतिवटा सिम चलाउन दिने भन्ने प्राधिकरणले तोक्नसक्ने विषय हो, तर हालसम्म त्यसबारे कुनै निर्णय भएको छैन्,’ उनले टेक्नोलोजीखबरसँग भने, ‘कुनै कुनै मुलुकहरुमा सिम कार्डको दूरुपयोग रोक्नका लागि सिमको संख्या तोकिएको छ ।’

उनकाअनुसार अहिले ६ वटा सेवा प्रदायक रहेको र ग्राहकले आफुले सेवाको छनौट गर्न सक्ने तर हरेक कम्पनीको लागि छुट्टाछुटटै फारम भर्नुपर्ने अवस्था छ । नयाँ कार्यबिधिले त्यसलाई सरलिकृत गर्ने उनको दाबी छ ।

प्राधिकरणको वार्षिक योजनामा नै ई-केवाईसी सिस्टमको कार्यबिधि तयार पार्ने उल्लेख रहेको हुँदा यो वर्षभित्रै सो कार्यबिधि ल्याउन लागिएको हो । त्यसैगरि सो कार्यबिधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्ने गरी सिमकार्ड व्यवस्थापन गर्न सक्ने छ। सिमकार्ड दूरुपयोग गर्दै अपराधिक गतिबिधि गर्ने क्रम बढेको भन्दै प्रधानमन्त्री कार्यालयबाटै गुनासो आएका हुँदा त्यसलाई पनि नयाँ कार्यबिधिले सम्बोधन गर्ने प्राधिकरणको भनाई छ ।

सो सिस्टममा हरेक सिम प्रयोगकर्ताको फिंगर प्रिन्टसहितको जानकारी हुनेहुँदा त्यसबाट सिम कार्डको दूरुपयोग रोकिने अपेक्षा राखिएको प्राधिकरणका प्रवक्ता अर्यालको भनाई छ ।

‘यसको सेन्ट्रल डाटाबेस प्राधिकरणमा हुने र सम्पूर्ण जानकारी हुनेहुँदा सिमको दूरुपयोग भएमा तत्काल थाहा हुनेछ,’ उनले भने ।

अर्काको नाममा रहेको सिमकार्डको दुरुपयोग गर्ने, एउटैको नाममा धेरै सिमकार्ड लिएर अपराधिक कार्यमा प्रयोग गर्ने खालको प्रवृतीलाई रोक्न ई-केवाईसी सिस्टम ल्याउन लागिएको अर्यालले बताए ।

सो सिस्टममा एउटा व्यक्तिको नाममा पहिले नै कतिवटा सिमकार्ड गएको छ भन्ने पनि तथ्याङ्क संकलन हुने भएकाले त्यसमा पनि कडाई गर्न सकिने उनले स्पष्ट पारे । नयाँ सिमकार्डमा मात्र नभई पुराना सिमकार्डहरुमा पनि यो लागु हुने अर्यालले बताए । उनका अनुसार पुरानो सिमकार्ड प्रयोकर्ताले पनि आफ्नो सिमकार्ड सो सिष्टममा पुन: दर्ता गर्नुपर्ने हुन्छ ।

ई-केवाईसी सिस्टमको कार्यबिधि र केन्द्रिकृत प्रणालीले आगामी दिनमा हाल भईरहेको भीओआईपीको जस्तो समस्या नआउने उनको भनाई छ । सिस्टमलाई सरकारले ल्याउन लागेको राष्ट्रिय परिचयपत्रसँग समेत जोड्न सकिने संभावना रहेको उनले ‌आौंल्याए ।

easy care

प्रकाशित: १९ फाल्गुन २०७५, आईतवार

ताजा समाचार