ह्याक गरेर टिकट बिक्री गरेको बारेमा अनुसन्धान गर्दै साइबर व्युरो

Technology Khabar २६ जेष्ठ २०८०, शुक्रबार

ह्याक गरेर टिकट बिक्री गरेको बारेमा अनुसन्धान गर्दै साइबर व्युरो

काठमाडौं ।

नेपालका ट्राभल्स कम्पनीको सिस्टममा अनधिकृत रूपमा प्रवेश गरी बिदेशी ह्याकरले झन्डै दुई करोड रुपियाँभन्दा बढी रकम लुटेका छन्। कम्तीमा पाँचवटा नेपाली ट्राभल एजेन्सीको टिकेटिङ सिस्टम नियन्त्रणमा लिई हयाकरले रकम लुटेको खुलेपछि नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रहरी प्रधान कार्यालय साइबर अपराध अनुसन्धान ब्युरोमा परेको उजुरी अनुसार हालसम्म निल ट्राभल्स, कसमस ट्राभल्स, देउराली ट्राभल्सलगायत पाँचवटा कम्पनीको टिकट सिस्टम ह्याक गरी रकम लुटिएको हो।

ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपति रोयका अनुसार फिसिङको माध्यमबाट विभिन्न ट्राभल एजेन्सीको सिस्टममा प्रवेश गरी, युजर नेम र पासवर्डमा अनधिकृत पहुँच पुर्याई विदेशका विभिन्न मुलुकबाट टिकट जारी गरी रकम लुटिएको हो। फ्रान्सलगायतका मुलुकबाट नेपाली ट्राभल एजेन्सीका नाममा काटिएका अनधिकृत टिकटबाट मोरक्कोलगायतका मुलुकमा यात्रा भएको खुलेको छ।

उपनिर्देशक रोयले यस घटनामा अनुसन्धान जारी रहेकाले थप विषय खुल्न बाँकी रहेको बताए।

नेपाल एसोसिएसन अफ टुर एन्ड एजेन्ट (नाटा) का अध्यक्ष रमेश थापाका अनुसार नाटामा दर्ता भएका तीन र अन्य दुई गरी तीनओटा एजेन्सी रहेका छन्। अन्य ट्राभल एजेन्सीमा पनि पहुँच पुयाई रकम लुटिएको हुनसक्ने आशंका गरिएको छ।

अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक संस्थाले प्रयोग गर्ने ‘ग्लोबल डिस्ट्रिब्युटर सिस्टम जिडिएस र टिकेटिङसम्बन्धी सफ्टवेयर (सेव) लाई नियन्त्रणमा लिई अनधिकृत रूपमा टिकट बिक्री गरिएको पाइएको छ। गोरखापत्रबाट

easy care

प्रकाशित: २६ जेष्ठ २०८०, शुक्रबार

ताजा समाचार