साइबर सुरक्षालाई जोड दिँदै दूरसञ्चार प्राधिकरण, सिमुलेसन ल्याब बनाउन प्रस्ताव माग

Technology Khabar २५ आश्विन २०७८, सोमबार

साइबर सुरक्षालाई जोड दिँदै दूरसञ्चार प्राधिकरण, सिमुलेसन ल्याब बनाउन प्रस्ताव माग

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार क्षेत्रमा साइबर आक्रमण रोक्नका लागि साइबर सिमुलेसन ल्याब बनाउने भएको छ। प्राधिकरणले हालै सो बारेमा सार्वजनिक सूचना जारी गरेर इच्छुक कम्पनीहरुसँग प्रस्ताव माग गरेको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणकाअनुसार यसअघिको पहिलो प्रस्तावमा तीन कम्पनीहरुले आवेदन दिएपनि ती कम्पनीहरुको प्रस्ताव आधारभूतरुपमा योग्य र उपयुक्त नभएको हुँदा त्यसलाई खारेज गरी पुनः नयाँ प्रस्ताव गरिएको हो ।

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले साइबर सुरक्षालाई ध्यानमा राखेर सिमुलेसन ल्याब बनाउन लागिएको जानकारी दिए।उनकाअनुसार सो सिमुलेसन ल्याब चाबहिलमा रहेको प्राधिकरणको नयाँ निर्माणाधिन प्रीफ्याब भवनमा राखिनेछ।

प्राधिकरणले यसको लागि करिब २० करोड रुपैयाँ बजेट छुट्याएको छ।

प्राधिकरणले पछिल्लो दिनमा दूरसञ्चार क्षेत्रमा साइबर सुरक्षालाई निकै जोडतोडका साथ अगाडि बढाईरहेको छ। यसअघि प्राधिकरणले अनिवार्यरुपमा साइबर सुरक्षालाई ध्यानमा राखेर सूचना प्रविधि अडिट आईटी अडिट तथा क्लाउड अडिट गर्नुपर्ने कानूनी प्रावधान ल्याएको थियो। जसमा नियमितरुपमा अडिट गरेर प्रतिवेदन बुझाउनुपर्ने नियम छ।

प्राधिकरणका निर्देशक विजय कुमार रोयले साइबर सुरक्षा विश्वमै महत्वपूर्ण भएको भन्दै यसलाई प्राथमिकतामा राखिएको बताए।

“सिमुलेसन ल्याब स्थापना गरेपछि साइबर सुरक्षाका चुनौतीहरुलाई न्यून गर्न सहयोग पुग्छ,” उनले भने, “साइबर सुरक्षामा ध्यान दिँदै हामीले दूरसञ्चार सेवा प्रदायकहरुलाई समेत अडिट गरेर रिपोर्ट बुझाउन भनेका छौं र नबुझाउनेलाई कारबाही गर्ने तयारी छ।”

उनकाअनुसार यस बारेमा आगामी दिनमा प्राधिकरणले सेवा प्रदायकहरुलाई तालिम समेत दिनेछ।

यसका साथै प्राधिकरणले साइबर सुरक्षाका लागि सचेतनामूलक जानकारी समेत प्रदान गरिरहेको छ।

सूचनाअनुसार आवेदक कम्पनीहरुबाट क्यूईसीको आधारमा छनौट गरिनेछ । जसमा कम्तीमा ६० प्रतिशत अंक हासिल गर्नुपर्नेछ।

यस्तो बनाउनुपर्नेछ साइबर सुरक्षा सिमुलेसन ल्याब

सिमुलेसन ल्याबमा सुरक्षा खतरा र कम्प्रोमाइसको ढाँचा पहिचान गर्नुपर्ने किसिमको हुनुपर्नेछ भने धम्की (थ्रेट)हरुलाई छिटो भन्दा छिटो चिन्न र उनीहरुलाई ठीक तरिकाले प्रतिक्रिया दिने अभ्यास गर्नु पर्ने किसिमको हुनुपर्नेछ ।

त्यसैगरी कम्प्यूटर सर्भर, दूरसञ्चार व्यापार एपहरु (ओएसएस, बीएसएस, भीओआईपी, सफ्टवेयर कल म्यानेजर, सीप गेटवे जस्तै) सहित महत्वपूर्ण पूर्वाधार कम्पोनेन्टहरु, अनुकरण गर्न सक्षम हुनुपर्दछ।

अनुकरण गर्न र आक्रामक अपरेशन सञ्चालन गर्न को लागी सामान्य भीएपीटी (VAPT) भन्दा बाहिर कमजोरीहरुको पहिचान गर्न सक्षम हुनुपर्दछ।

सिमुलेसन (अनुकरण) गर्न र महत्वपूर्ण पूर्वाधार अवयवहरुको सुरक्षाको लागी प्रतिरक्षात्मक संचालन गर्न सक्षम हुनुपर्छ।

नेपाल दूरसञ्चार प्राधिकरणको परिसरमा साइबर अनुसन्धान, सिमुलेशन र प्रशिक्षण प्लेटफर्म स्थापित भएपछि, यसले रेड टीम स्कील र ब्लू टीम स्कीलको लागी तैयार गर्नमा मद्दत गर्नुपर्छ, जबकि दूरसञ्चार सेटअपको सूक्ष्म प्रणालीसंग परिदृश्य अनुकूलन हुने किसिमको हुनुपर्नेछ ।

आवेदक कम्पनीसँग कम्तिमा परियोजना प्रबन्धक नेटवर्क इन्जिनियर सिस्टम डिजाइन सफ्टवेयर विकासकर्ता र तालिम प्रदान गर्ने कर्मचारी हुनुपर्नेछ । यस्तो कम्पनीसँग कम्तिमा ५ वर्षको अनुभव र ३ करोड डलरको कारोबार गरेको अनुभव हुनुपर्नेछ।

Sajilo Visa

प्रकाशित: २५ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया