सञ्चारमन्त्री शर्मासँग मन्त्रालयको वेबसाइटमार्फत भर्चुअल संवाद गर्न सकिने

Technology Khabar २३ जेष्ठ २०८०, मंगलवार

सञ्चारमन्त्री शर्मासँग मन्त्रालयको वेबसाइटमार्फत भर्चुअल संवाद गर्न सकिने
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि भर्चुअल संवाद गर्न सकिने भएको छ।

मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुझाव र गुनासो सहज प्राप्त होस् भनेर यस्तो व्यवस्था गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। जसका लागि मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ प्लेटफर्म थप गरिएको छ।

मन्त्रालयको वेबसाइट https://www.mocit.gov.np/ मा गएर ‘मन्त्रीसँग भर्चुअल संवाद’ क्लिक गरी संवाद प्रक्रिया अघि बढाउन सकिने छ। सोझै https://mocit.gov.np/write-to-minister मा गएर पनि मन्त्रीलाई मन्त्रालय वा सरकारसँग सम्बन्धित गुनासो वा सुझाव राख्न सकिने छ। यसले देशका जुनसुकै कुनाबाट पनि गुनासो र सुझाव प्राप्त गर्न सकिने मन्त्रालयको विश्वास छ।

‘मन्त्रालयमा दैनिक भेट गर्न आउनेहरुको चाप धेरै छ, जसमा अधिकांशले अत्यावश्यकीय तर सानासाना गुुनासो लिएर आएका हुन्छन्,’ मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले भने, ‘त्यस्तो गुनासो सेवाग्राहीले अनलाइनबाट पठाउन सकून् र मन्त्रालय नपुगेर पनि देशका जुनसुकै कुनाबाट गुनासो र सुझाव दिन सकून् भनेर यो प्लेटफर्मको व्यवस्था गरिएको हो ।’

मन्त्रीको सञ्चार सचिवालयबाट सम्बन्धित निकाय पक्षसँग समन्वय गरी जिज्ञासाको सम्बोधन साप्ताहिकरूपमा गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

‘सकेसम्म त्यस्ता सुझाव वा गुनासो मन्त्रालयसँगै केन्द्रित रहेर आएमा सम्वोधन गर्न सजिलो हुनेछ,’ प्रवक्ता सुवेदी भने, ‘मन्त्री सरकारको प्रवक्ता पनि भएकाले सिंगो सरकारसँग जोडिएका नीतिगत सुझाव पनि दिन सकिने छ ।’

easy care

प्रकाशित: २३ जेष्ठ २०८०, मंगलवार

ताजा समाचार