आगामी आर्थिक वर्षदेखि फिचर फोन समेत महंगीने, सरकारले बढायो अन्तशुल्क दर

Technology Khabar १५ जेष्ठ २०८०, सोमबार

आगामी आर्थिक वर्षदेखि फिचर फोन समेत महंगीने, सरकारले बढायो अन्तशुल्क दर
सांकेतिक

काठमाडौं ।

आगामी आर्थिक वर्षदेखि अब बजारमा बार फोन अर्थात फिचर फोनहरु समेत मह‌ंगिने भएका छन्।

सरकारले करको दरमा हेरफेर गरेसँगै त्यस्ता फोनहरुको बजार मूल्य समेत बढ्ने भएको हो।

अर्थमन्त्री डा. प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै आर्थिक विद्येयक २०८० मार्फत फिचर फोन आयातमा स्मार्टफोन आयात गर्दाको जति नै अन्तशुल्क लाग्ने व्यवस्था गरेका हुन्।

चालु आर्थिक वर्षको बजेटले स्मार्टफोन र फिचर फोनलाई फरक फरक अन्तशुल्क लिने व्यवस्था गरेको थियो। तत्कालिन सरकारले ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ मार्फत महंगा स्मार्टफोनहरुमा अन्तशुल्क दरमा वृद्धि गरेको थियो।

जसअनुसार सरकारले चालु आबमा स्मार्टफोनमा ५ प्रतिशत र फिचर फोनमा अन्तशुल्क दर २.५ प्रतिशत लिँदै आएको छ।

चालु आवको विद्येयकमार्फत भन्सारको कोड र व्यवस्थामा संसोधन गरिएको थियो। यसमा टेलिफोन सेटहरु, सेलुलर संजालहरु वा अन्य तारबिहिन संजालहरुका लागि प्रयोग हुने टेलिफोनहरुलाई नयाँरुपमा “स्मार्टफोनहरु र अन्य टेलिफोन समेत” भन्ने उपशीर्षकमा परिवर्तन गरिएको छ। जसअनुसार सरकारले “स्मार्टफोनहरु” र “सेलुलर संजालहरु वा अन्य तारबिहिन संजालहरुका लागि प्रयोग हुने टेलिफोनहरु” भन्ने दुई वर्गमा विभाजन गरेको छ।

यी दुबै किसिमका मोबाइल फोनहरुमा भन्सार शुल्क माफी गरिएको भएपनि स्मार्टफोनमा ५ प्रतिशत अन्तशुल्क दर तथा सेलुलर संजालहरु वा अन्य तारबिहिन संजालहरुका लागि प्रयोग हुने टेलिफोनहरु २.५ प्रतिशत अन्तशुल्क दर तोकिएको थियो।

सरकारले स्मार्टफोनलाई ८५१७.१३.०० कोडमा राखेर ५ प्रतिशत अन्तशुल्क लिने गरेको थियो भने सेलुलर संजालहरु वा अन्य तारबिहिन संजालहरुका लागि प्रयोग हुने टेलिफोनहरुका लागि ८५१७.१४.०० कायम गरेको गरेर २.५ प्रतिशत मात्र लिने गरेको थियो।

तर आगामी आवदेखि दुबै किसिमका फोनहरुका लागि बजेटमार्फत सरकारले ५  प्रतिशत नै अन्तशुल्क कायम गरेको छ।

यसको अर्थ अब बजारमा फिचर फोन वा बार फोनको शुल्क समेत बढ्ने भएको छ।

easy care

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार