फाइभजी परीक्षणका लागि आपूर्तिकर्ताहरुसँग छलफलमा टेलिकम, टुंगो लागेन परीक्षण गर्ने समय

Technology Khabar १७ माघ २०७८, सोमबार

फाइभजी परीक्षणका लागि आपूर्तिकर्ताहरुसँग छलफलमा टेलिकम, टुंगो लागेन परीक्षण गर्ने समय

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को फाइभजी परीक्षणको तयारी स्वरुप विभिन्न भेण्डरहरुसँग छलफल गरिरहेको जानकारी दिएको छ।

फाइभजी सेवाको परीक्षण गर्न अनुमति पाएको सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले छिटो भन्दा छिटो परीक्षण गर्ने योजनाअनुसार हाल भेण्डरहरुसँग बिस्तृत छलफलमा जुटेको जनाएको छ।

टेलिकमका प्रवक्ता राजेश जोशीले फाइभजीको परीक्षणमा ढिलाई भएपनि कम्पनीले आपूर्तिकर्ताहरुसँग छलफल गरीरहेको बताए ।

“हामी अहिले फाइभजीको लागि आपूर्तिकर्ताहरुसँग छलफलमा छौं र कति उपकरण कहाँ र कसरी आवश्यक पर्दछ भनेर हेरिरहेका छौं,” उनले टेक्नोलोजीखबरसँग भने, “यसमा कम्तिमा १ महिनाको समय लाग्ने अनुमान छ।”

प्रवक्ता जोशीले आपूर्तिकर्ताहरुसँगको छलफलमा कम्पनीलाई ५जी परीक्षणका लागि चाहिने उपकरणहरु र प्रविधिहरुको बारेमा टुंगो लाग्ने र त्यसैअनुसार मात्र सामग्रीहरु मगाईने उल्लेख गरे।

“हामीलाई अहिलेको पूर्वाधारमा थप गर्ने गरी के कति सामग्री र उपकरण चाहिन्छ भन्ने पहिले स्पष्ट हुनुपर्नेछ त्यसपछि मात्र टेण्डर प्रकृयामा जान र आयातको प्रकृया गर्न सकिन्छ,” उनले स्पष्ट पारे।

फाइभजी प्रविधिको परीक्षण शुरु गर्न कति समय लाग्छ ? नयाँ वर्षमा आउँछ? भन्ने प्रश्नको उत्तरमा उनले यसको लागि स्पष्ट समयावधी तोक्न नसकिने बताए।

टेलिकमकाअनुसार प्रकृयामा जाँदा टेण्डरमा नै ३ महिनासम्म लाग्नसक्नेछ भने त्यसपछि उपकरण जडान गरेर शुरु गर्न थप समय लाग्नसक्नेछ।

टेलिकम प्रवक्ताले भने, “अहिले छलफलको प्रकृयामा नै भएको हुँदा हामीले कति समय लाग्छ भनेर अन्दाजी भन्नु ठिक नहोला।”

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी दूरसञ्चार कम्पनीलाई ५जी सेवाको परीक्षण गर्न अनुमति दिएको २ महिना भन्दा धेरै बितिसकेको छ।

प्राधिकरणले कम्पनीलाई २६०० मेगाहर्ज ब्याण्डमा फाइभजी परीक्षण गर्न सक्ने अनुमतिका साथै अन्य ब्याण्डमा समेत परीक्षण गर्ने बाटो खोलीदिएको छ। तर अन्य ब्याण्डहरुमा परीक्षण गर्नको लागि कम्पनीले प्राधिकरणलाई पूर्व जानकारी दिनुपर्ने हुन्छ।

प्राधिकरणले कात्तिक २९ गतेको बोर्ड बैठकबाट टेलिकमलाई फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ। त्यसैगरी परीक्षणका लागि उपलब्ध गराएको फ्रिक्वेन्सीपछि प्राधिकरणलाई नै फिर्ता गर्नुपर्ने निर्णय समेत गरिएको छ।

तर टेलिकमले भने परीक्षण पछि उपकरण फिर्ता गर्न कठिन हुने भन्दै सोही फ्रिक्वेन्सीमा पछि पनि ५जीको अनुमति दिनुपर्ने माग गर्दै आएको छ।

कम्पनीले यसअघि पुस मसान्तभित्रै फाइभजी सेवाको परीक्षण गर्ने योजना लिएको बताउँदै आएको थियो। तत्कालिन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले समेत अनुमति छिटै पाएको अवस्थामा पुस मसान्त भित्र परीक्षण गर्ने बताएका थिए। तर कम्पनी सो अवधि भन्दा १ महिना ढिलो भईसक्दा पनि भेण्डरहरुसँग छलफलको क्रममा नै छ।

यसअघि नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणले सन् २०२१ भित्रै नेपालमा फाइभजी सेवाको परीक्षण गर्ने योजना र लक्ष्य लिएका थिए।

नेपालमा ५जी सेवाको परीक्षणको लागि छलफल मात्र भईरहँदा छिमेकी देशहरुमा भने ५जी सेवा शुरु भईसकेको छ। चीनमा ५जी व्यावसायीकरुपमा नै सञ्चालनमा आईसकेको छ भने भारतमा पनि हाल विभिन्न शहरहरुमा परीक्षण भईरहेको छ।

Sajilo Visa

प्रकाशित: १७ माघ २०७८, सोमबार

ताजा समाचार

एप्पल म्याप्स ‘बिटा’ अब वेबमा उपलब्ध

  • Technology Khabar
  • १२ श्रावण २०८१, शनिबार