सुदुरपश्चिम प्रदेशमा विच्छेद भएको सञ्चार सेवा सुचारु गर्न केहि दिन लाग्न सक्ने

Technology Khabar २ कार्तिक २०७८, मंगलवार

सुदुरपश्चिम प्रदेशमा विच्छेद भएको सञ्चार सेवा सुचारु गर्न केहि दिन लाग्न सक्ने
सांकेतिक तस्बिर

काठमाडौं ।

केहि दिनदेखि भईरहेको अबिरल वर्षाले सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका विभिन्न जिल्लाहरुमा विद्युत र सञ्चार सेवा ठप्प भएको छ। टेलिफोन र विजुली नहुँदा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला सम्पर्कविहीन भएका छन् ।

हाल सञ्चार विच्छेद भएका जिल्लाहरुमा नेपाल टेलिकमको सेवा सुचारु हुन थप केहि दिन लाग्ने देखिएको छ।

पछिल्लो समय लगातार वर्षा भईरहेको र विद्युत आपूर्ति समेत बन्द हुँदा कम्पनीको मोबाइल सेवा तथा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए। उनले सो क्षेत्रमा कसरी छिटो सञ्चार सेवा जोड्ने बारेमा छलफल भईरहेको बताए।

“सुदुरपश्चिम प्रदेशको टोलीसँग निरन्तर कुराकानी र सम्पर्क गरिरहेका छौं, कसरी सकेसम्म छिटो सेवा सुचारु गर्ने भन्नेमा काम गरिरहेका छौं,” प्रबन्ध निर्देशक अधिकारीले टेक्नोलोजीखबरसँग भने, “यसका साथै विद्युत आपूर्तिका लागि विद्युत प्राधिकरणसँग समेत छलफल गरिरहेका छौं।”

उनकाअनुसार सो क्षेत्रमा वर्षा रोकिएसँगै मोबाइल सेवामा तत्काल मर्मत र सेवा सुचारु गर्नका लागि प्राविधिक टोली तयार रहेको छ भने इन्टरनेट सेवा संचालन गर्न थप केहि दिन लाग्नेछ।

“विद्युत सेवा आपूर्ति नहुँदा र घाम नलाग्दा रिपिटर टावर नै ठप्प भएको छ, त्यसैले वर्षा रोकिने समयसम्म कुर्नुपर्नेछ,” उनले भने, “विभिन्न स्थानहरुमा पहिरो जाँदा अप्टिकल फाइबर समेत टुटेकोछ र त्यसलाई जोड्न थप समय लाग्नेछ,”

प्रबन्ध निर्देशक अधिकारीकाअनुसार घाम लाग्ने बित्तिकै मोबाइल टावरमा भएको सोलार ब्याकअप सिस्टम संचालन हुने हुँदा भ्वाइस सेवा शुरु हुन सक्नेछ भने एफटिटिएच सेवा संचालन गर्न टुटेका फाइबरहरु जोड्नुपर्ने हुँदा थप समय लाग्ने भएको हो ।

यसअघि नै नेपाल विद्युत प्राधिकरणको ट्रान्समिसन लाइनमा भएको ओपिजिडब्लू केबुल प्रयोग गर्न सकिएको खण्डमा समेत सेवा छिटै सुचारु गर्न सकिने उनले बताए।

केहि दिनदेखि भईरहेको अबिरल वर्षाले देशका विभिन्न स्थानहरुमा बाढी र पहिरो गईरहेका छन् । जसमा विशेषगरी सुदुरपश्चिम प्रदेशका जिल्लाहरु प्रभावित भएका छन् ।

यो पनि हेर्नुस्-

वर्षाका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लामा सञ्चार सम्पर्क बिच्छेद

easy care

प्रकाशित: २ कार्तिक २०७८, मंगलवार