एक वर्षमा दूरसञ्चार क्षेत्रको बजार हिस्सा : कसले थप्यो, कसले गुमायो?

Technology Khabar २७ भाद्र २०७८, आईतवार

एक वर्षमा दूरसञ्चार क्षेत्रको बजार हिस्सा : कसले थप्यो, कसले गुमायो?

काठमाडौं ।

नेपालका दूरसञ्चार सेवा प्रदायकहरुमध्ये आर्थिक वर्ष २०७७/७८ मा स्मार्ट टेलिकम प्रालि र एनसेल आजियाटा लिमिटेडको बजार हिस्सा ०.२७ प्रतिशत तथा ०.१६ प्रतिशतले बढेको छ।

नेपाल टेलिकमले भने १ वर्षमा आफ्नो बजार हिस्सा ०.४३ प्रतिशतले गुमाएको छ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले अद्यावधिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार नेपालमा सेवा प्रदान गर्दै आएका मुख्य तीन दूरसञ्चार सेवा प्रदायकहरुको बजारको उपस्थितिमा यस अनुसार उतार चढाव आएको पाइएको हो।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ को शुरुको महिना २०७७ श्रावणमा स्मार्ट टेलिकमको समग्र बजार हिस्सा ५.६८ प्रतिशत रहेकोमा आर्थिक वर्षको अन्तिम महिना २०७८ असारमा आइपुग्दा ५.९५ प्रतिशत पुगेको छ।

यस हिसाबले हेर्दा बजार हिस्साका आधारमा १ वर्षको अवधिमा स्मार्ट टेलिकमले ०.२७ प्रतिशतले  प्रगति गरेको छ।

यसैगरी एनसेल आजियाटाले एक वर्षको अवधिमा बजार हिस्साका क्षेत्रमा ०.१६ प्रतिशतले प्रगति गरेको छ। २०७७ श्रावणमा एनसेल आजियाटाको बजार हिस्सा ४१.४१ प्रतिशत रहेकामा एक आर्थिक वर्षको अन्त्य अर्थात् २०७८ असार मसान्तमा आइपुग्दा ४१.५७ प्रतिशत पुगेको पाइएको छ।

यो सूचीमा नेपालको दूरसञ्चार क्षेत्रको पुरानो तथा बजारका हिस्साले सबैभन्दा ठूलो हिस्सा ओगटेको कम्पनी नेपाल टेलिकमले भने एक वर्षमा आफ्नो साविक बजार हिस्सामा केही प्रतिशत गुमाएको छ।

२०७७ श्रावणमा ५२.९० प्रतिशत बजार हिस्सा ओगटेको नेपाल टेलिकमले १ वर्षमा ०.४३ प्रतिशतले बजार हिस्सा गुमाउँदै २०७८ असार मसान्तसम्ममा ५२.४७ प्रतिशतमा झरेको छ।

आफ्नो बजार हिस्सामा सामान्य उतार चढाव आए पनि समग्रमा नेपाल टेलिकम पहिलो, एनसेल आजियाटा दोस्रो तथा स्मार्ट टेलिकम तेस्रो स्थानमै रहेका छन्।

अन्य सेवा प्रदायकको भने उपस्थिति नगण्य अर्थात ०.०१ प्रतिशत रहेको छ भने यसमा आर्थिक वर्ष २०७७/७८ को शुरु र अन्त्यमा पनि कुनै घटबढ भएको छैन।

easy care

प्रकाशित: २७ भाद्र २०७८, आईतवार