नेपाल टेलिकमको एफटीटीएच सेवा ५४ जिल्लामा, १ लाख ७२ हजार भन्दा बढी ग्राहक जोडिए

Technology Khabar २९ श्रावण २०७८, शुक्रबार

नेपाल टेलिकमको एफटीटीएच सेवा ५४ जिल्लामा, १ लाख ७२ हजार भन्दा बढी ग्राहक जोडिए

काठमाडौं ।

नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा ०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १,७२,००० भन्दा बढी ग्राहकलाई वितरण गरिसकेको छ ।

२०७५ सालमा १,७३८ ग्राहकलाई मात्र यो सेवा उपलब्ध भएकोमा २०७६ मा ३०,८७९ ग्राहकलाई र २०७७ मा १,०७,७०१ ग्राहकलाई यो सेवा उपलब्ध भएको थियो । यसैगरी २०७८ बैशाख, जेठ, असार र साउनको २८ गतेसम्म करिब ४ महिनामा ६४,२९९ नयाँ लाइन वितरण गरिएको कम्पनीले उल्लेख गरेको छ।

नेपाल टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत उपलब्ध गराइरहेको बताएको छ।

प्रारम्भमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टिभी सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ्ग, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार भइसकेको छ।

मूलतः उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गरेको छ भने सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भए पश्चात ट्रिपल प्लेको अवधारणा कार्यान्वयन भएको छ ।

यस आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने कम्पनीको योजना रहेको जनाएको छ।

easy care

प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार