नेपाली यात्रुहरुले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा चलाउन सकिने

Technology Khabar १८ चैत्र २०७७, बुधबार

नेपाली यात्रुहरुले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा चलाउन सकिने

काठमाडौं ।

अब नेपाली आकाशमा उडान भर्ने हवाईजहाजभित्र पनि यात्रुहरुले मोबाइल सेवा तथा इन्टरनेट सेवा प्रयोग गर्न सकिने भएको छ । हालै नेपाल दूरसञ्चार प्राधिकरणले नेपाली हवाई क्षेत्रमा उडान भर्ने हवाईजहाजहरुमा दूरसञ्चार सेवा चलाउन सकिने निर्णय गरेसँगै सो सेवा उपलब्ध हुने भएको छ।

प्राधिकरणले हवाईजहाजभित्र प्रयोग हुने इनफ्लाईट टेलिकम्यूनिकेसन सर्भिसका लागि निवेदन दिने कम्पनीहरुलाई स्वीकृत पत्र दिने निर्णय गरेको हो । निर्णयअनुसार प्राधिकरणले त्यसरी सेवा माग गर्ने कम्पनीहरुलाई नो अब्जेक्सन लेटर (एनओसी) उपलब्ध गराउने छ।

तर यसरी हवाईजहाजभित्र वाईफाई सुबिधा प्रयोग गर्नका लागि विदेशमा दर्ता भएका वायुयान अथवा ती यानहरुमा दूरसञ्चार सेवा उपलब्ध गराउने सेवा प्रदायकहरुले मात्र यस्तो अनुमति प्राप्त गर्नेछन् ।

यसको अर्थ अब नेपालमा उडान गर्ने कुनैपनि विदेशमा दर्ता भएका वायुयानहरुमा दूरसञ्चार सेवा उपलब्ध हुनसक्नेछ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले हालै बोर्डले यस विषयमा निर्णय गरेको जानकारी दिए।

‘प्राधिकरणले इनफ्लाईट टेलिकम्यूनिकेसन सर्भिसका लागि सेवा प्रदायकहरुलाई नो अब्जेक्सन लेटर दिनेछ तर यसमा शर्तहरु तोकिएका छन् र शर्तहरुको पालना गर्नुपर्नेछ,’ प्रवक्ता पौडेलले भने ।

नेपालमा हालसम्म यस्तो सुबिधा उपलब्ध थिएन ।

यो निर्णयसँगै नेपाल दक्षिण एशियामा एयरप्लेनमा दूरसञ्चार सेवा उपलब्ध गराउने तेस्रो देश भएको छ। यसअघि अफगानिस्तान र भारतमा मात्र यस्तो सेवा उपलब्ध छ।

कसरी हुन्छ हवाईजहाजमा दूरसञ्चार सेवाको प्रयोग ?

प्राधिकरणका निर्देशक अम्बर स्थापितकाअनुसार यस्तो इन्फ्लाईट टेलिकम्युनिकेसन सर्भिस नेपाली आकाशमा १० हजार फिट माथि पुगेपछि मात्र उपलब्ध हुनेछ । जसमा प्लेनमा भएको टेलिकम्युनिकेसन सिस्टमलाई स्याटेलाइट सिस्टममा जोडिनेछ र त्यसअनुसार यात्रुहरुले प्लेनभित्रै दूरसञ्चार सेवा प्रणालीमार्फत मोबाइल तथा इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन् ।

यसको लागि प्लेनहरुमा पिको सेल अर्थात सानो प्रकारको बेसस्टेशन राखिएको हुन्छ । किनकी प्लेनले अन्य समयमा पनि जमिनमा रहेको टावर र सेक्यूरिटी सेन्टरमा आफ्नो बारेमा स्याटेलाइट कनेक्सन मार्फत नियमित जानकारीहरु उपलब्ध गराईरहेका हुन्छन् ।

त्यसरी स्याटेलाइटमार्फत जोडिएपनि स्याटेलाइटले भने आधारभूतरुपमा जमिनमा भएका टेलिकम कम्पनीहरुको बेस स्टेशनमा कनेक्सन हुनेछ र त्यसअनुसार दूरसञ्चार सेवा प्रयोग हुनेछ ।

यस्तो सेवा १० हजार फिट भन्दा मुनि भने प्रयोग गर्न अन्तराष्ट्रिय तहमा नै प्रतिबन्धित रहेको छ।

नेपालमा भने यस्तो सेवा सञ्चालन गर्न इच्छुक सेवा प्रदायकहरुले प्राधिकरणमा अनुमतिको लागि निवेदन दिनुपर्ने हुन्छ  र त्यसमा उनीहरुले अन्तराष्ट्रिय निकायहरुको मापदण्ड पुरा गरेको बिबरणहरु समावेश गर्नुपर्नेछ भने उनीहरुले नेपालमा पनि नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हुनुपर्नेछ।

त्यसैगरि यस्तो सिस्टम चलाउँदा नेपालका अन्य सेवा प्रदायकहरु तथा दूरसञ्चार सेवा प्रदायकहरुलाई असर नपर्ने किसिमको हुनुपर्नेछ ।

प्राधिकरणकाअनुसार यस्तो सेवा सञ्चालन गर्नका लागि केहि समयअघि  अन्तराष्ट्रिय नेटवर्क कम्पनी सीता नामक सेवा प्रदायक तथा स्याटेलाइट कम्पनी थालेसले निवेदन दिएको थियो ।

easy care

प्रकाशित: १८ चैत्र २०७७, बुधबार

ताजा समाचार