अब भिसाले पनि क्रिप्टोकरेन्सीमार्फत् भुक्तानी स्वीकार गर्ने

Technology Khabar १७ चैत्र २०७७, मंगलवार

अब भिसाले पनि क्रिप्टोकरेन्सीमार्फत् भुक्तानी स्वीकार गर्ने

काठमाडौं ।

भिजा इंकले पेमेन्ट नेटवर्कमा रहेको कारोबार सुल्झाउन यूएसडीसी नामको क्रिप्टोकरेन्सी प्रयोग गर्न इजाजत दिने भएको छ।

यूएसडीसी को पूरा रुप यूनाइटेड स्टेट्स डलर क्वाइन हुन्छ भने यसलाई सिधै डलरमा परिवर्तन गर्न सकिन्छ।

हिजोआज मूलधारका वित्तीय उद्योगले क्रिप्टोकरेन्सीलाई मान्यता दिन थालेपछि सोमबार भिजाले यस्तो घोषणा गरेको हो। भिसाले यसबारेमा हालै एउटा विज्ञप्ति जारी गरेर आधिकारिक जानकारी दिएको हो।

कम्पनीले अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सलाई बताए अनुसार उसले क्रिप्टो डटकम मार्फत् क्रिप्टोकरेन्सीमा भुक्तानी लिन एउटा परियोजना नै सुरु गरेको र यसै वर्षको अन्त्यसम्म अन्य साझेदारहरुलाई समेत परियोजनामा सामेल गराइनेछ।

चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य एकसातामा ४.५ प्रतिशतले बढेर ५८ हजार ३०० डलर पुगेको छ भने फेरि अघिल्लो महिनामा रहेको कीर्तिमानी मूल्य ६१ हजार डलरतर्फ लम्किरहेको छ।

वित्तीय संस्थाहरु बीएनवाइ मेल्लन, ब्ल्याकरक इंक तथा मास्टरकार्ड इंकले भुक्तानी तथा लगानीका लागि क्रिप्टोकरेन्सीको प्रयोगलाई बढावा दिन थालेपछि भिसाले पनि यो कदम अपनाएको हो।

टेस्ला इंकका प्रमुख एलन मस्कले गत हप्ता बिटक्वाइनमार्फत टेस्लाका गाडीहरु किन्न सक्ने घोषणा गरेका थिए। यस घोषणाबाट उनले मानिसहरुलाई दैनिक जीवनमा डिजिटल मुद्रालाई धेरैभन्दा धेरै प्रयोग गर्न सकुन् भन्ने उद्देश्य राखेको बुझ्न सकिन्छ।

‘विश्वभरका उपभोक्ताहरुबाट डिजिटल मुद्रामा पहुँच राख्न तथा प्रयोग गर्न माग बढ्दै गएको र हाम्रा प्रयोगकर्ताहरुले यस्ता उपभोक्ताहरुको पहुँच पुग्ने उत्पादन तथा सेवाको विकास गर्न आग्रह गरेपछि यस्तो निर्णय गरिएको हो’, भिसाका क्रिप्टो विभाग प्रमुख कुए शेफिल्डले बताए।

easy care

प्रकाशित: १७ चैत्र २०७७, मंगलवार