एक सातादेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

Technology Khabar १५ चैत्र २०७७, आईतवार

एक सातादेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध
स्याङ्गजामा रहेको नेपाल टेलिकमको टावर । फाइल फोटो

काठमाडौं ।

दार्चुला सदरमुकाम खलङ्गासहित जिल्लाभरिका सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । साता दिनदेखि टेलिफोन र इन्टरनेट अवरुद्ध भएपछि नागरिक सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।

‘कुनै–कुनै ठाउँमा नेटवर्क बेला–बेलामा आउने जाने भइरहेको छ,’ लेकम गाउँपालिकाका स्थानीय महेश खत्रीले भने । मोबाइलमा टावर देखाए पनि फोन नलाग्ने सम‚याका कारण घरपरिवारका साथै आफन्तसँग सम्पर्कविहीन हुनुपरको छ ।’

लिज लाइनको इन्टरनेटसमेत प्रभावकारी रूपमा चलेको छैन । सञ्चार समस्याका कारण हैरानी खेप्नुपरेको सेवाग्राहीको गुनासो छ । सञ्चार सेवा अवरुद्ध भएपछि विभिन्न कार्यालय, सङ्घ संस्था, सञ्चारमाध्यमका साथै इलेक्ट्रोनिक पसल र सेवाग्राहीको काम प्रभावित भइरहेको छ ।

टेलिफोनले काम नगरेकै कारण सात दिनदेखि परिवारसँग सम्पर्क गर्न नपाएको उपचारका लागि भारत गएका शैल्यशिखरका स्थानीय प्रेम जोशीले गुनासो गरे ।

नेपाल टेलिकम दार्चुलाका अनुसार बैतडीको पाटनमा फाइबर लाइन भाँच्चिएकाले टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो । नेपाल टेलिकमको सीडीएमए, जीएसएम, एडीसीएल इन्टरनेट सेवाका साथै लिज लाइनमा समेत समस्या देखिएको छ ।

दार्चुलाका साथै बैतडी जिल्लाको समेत अधिकांश स्थानमा सञ्चार सेवा अवरुद्ध भएको पुर्चौडी नगरपालिकाका स्थानीय हरिसिंह साउदले बताए ।

फाइबर लाइन भाँच्चिएको क्षेत्रमा प्राविधिक टोली खटिएकाले छिट्टै सञ्चार सेवा सञ्चालन हुनसक्ने टेलिकमले जनाएको छ ।गोरखापत्रबाट

easy care

प्रकाशित: १५ चैत्र २०७७, आईतवार