देशभर स्थानीय निकायहरुमध्ये ७५ प्रतिशत क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा

Technology Khabar ११ चैत्र २०७७, बुधबार

देशभर स्थानीय निकायहरुमध्ये ७५ प्रतिशत क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले तिब्रगतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउन परिचालन गरिरहेको ग्रामीण दूरसञ्चार कोषअन्तर्गतको परियाेजनामार्फत देशभर फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान भएको छ।

प्राधिकरणकाअनुसार फागुन मसान्तसम्म देशभर कुल ४ हजार १३ स्थानमा तिब्रगतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगेको छ। जसअनुसार कुल ७४.८९ प्रतिशत पहुँच पुगेको प्राधिकरणले जनाएको छ । भौतिक प्रगति करिब ७५ प्रतिशत पुगेको परियोजनाको वित्तीय प्रगति भने ५२.५२ प्रतिशत रहेको छ

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन देशभर १८ प्याकेजमा काम गरिरहेको छ।

कुल प्याकेजमध्ये १३ वटा प्याकेजअन्तर्गत ५० जिल्लामा तोकिएका स्थानमा शत प्रतिशत जडान सम्पन्न भएको छ। ३ वटा प्याकेजमार्फत १४ जिल्लाका स्थानहरुमा नेटवर्क र जडानको लागि सेवा प्रदायक छनौट भई निर्माणको काम भईरहेको प्राधिकरणद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

कुल १५ हजार ९८२ स्थानहरुमध्ये हालसम्म ११ हजार ९६९ स्थानमा इन्टरनेट जडानको कार्य सम्पन्न भएको प्राधिकरण प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिएका छन् । उनकाअनुसार ४ हजार ७६९ स्थानमा भने इन्टरनेट जडान गर्न बाँकी रहेको छ ।

तथ्याङ्कअनुसार ७०२ स्थानीय निकायहरुमध्ये ५५० स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ भने १५२ स्थानीय तहमा जडानको कार्य भइरहेको छ । त्यसैगरी, ५ हजार ९३३ वडा कार्यालय मध्ये हालसम्म ४ हजार ४७४ कार्यालयमा इन्टरनेट पुगेको छ ।

प्राधिकरणकाअनुसार ५ हजार २२५ माविमध्ये हालसम्म ३ हजार ७९२ हरुमा सेवा पुर्याईएको छ । ४ हजार १२२ स्वास्थ्य संस्थामध्ये हालसम्म ३ हजार १५३ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ ।

ग्रामीण दूरसञ्चार कोषअन्तर्गत सम्पन्न भइसकेका परियोजनामध्ये हालसम्म पाँचवटा परियोजनाको मनिटरीङ्ग तथा भेरिफिकेसन सम्पन्न भइसकेको छ । दुई वटा परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरणको मनिटरीङ्ग तथा भेरिफिकेसन कार्य भइरहेको छ । यसैगरी चार परियोजनाको दोस्रो चरणको मनिटरीङ्ग तथा भेरिफिकेसन कार्य भइरहेको तथा एक परियोजनाको अनुगमनको कार्य भइरहेको छ।

ब्रोडब्यान्ड परियोजनाको १८ वटै प्याकेजको कुल बजेट ५ अर्ब २६ करोड ९७ लाख ७० हजार रुपैयाँमध्ये हालसम्म दुई अर्ब ९८ करोड ८७ लाख रुपैयाँ सेवा प्रदायकलाई भुक्तानी गरिएको छ।

easy care

प्रकाशित: ११ चैत्र २०७७, बुधबार