अव्यवस्थित टेलिफोन र इन्टरनेटको तारले जोखिम बढाउँदै

Technology Khabar २५ फाल्गुन २०७७, मंगलवार

अव्यवस्थित टेलिफोन र इन्टरनेटको तारले जोखिम बढाउँदै
फाइल तस्विर

काठमाडौं ।

भोजपुरको सदरमुकाम रहेको भोजपुर बजारका चोक र गल्लीका पोलमा अव्यवस्थित तरिकाले टाँगिएका तारका कारण बजार क्षेत्रमा जोखिमसँगै बजारको स्वरूप नै कुरूप बन्दै गएको छ।

बिजुलीका हरेक पोलमा टेलिफोन, इन्टरनेट, बिजुलीका तारको भार छ । एकैठाउँमा टाँगिदा सबैखाले तार बटारिएका छन् । कैयौँ बिजुलीका पोल पुराना भइसकेकाले तारको भार थाम्न नसकेर ढल्ने सम्भावना पनि उत्तिकै छ ।यसरी सुरक्षाको हिसाबले संवेदनशील बने पनि सरोकारवाला निकायले चासो नदिँदा जोखिम बढेको हो ।

तारहरू लत्रिएका छन् । ती गुजुल्टिएका तारका कारण कुनै बेला दुर्घटना निम्तिन सक्ने खतरा रहेको स्थानीय भोजपुर बजारका व्यवसायी सरोज श्रेष्ठ बताउँछन् ।

पुलमा गुजुल्टिएका तारका कारण जोखिमसँगै बजारको सुन्दरतामा समेत आँच आएको छ । बैङ्करोड, डाँडागाउँ, चारभञ्ज्याङ, पानीट्याङ्कीलगायत मुख्य स्थानमा जोखिमपूर्ण अवस्थामा बिजुली, इन्टरनेट र टेलिफोनका तार भेटिन्छन् ।

तार व्यवस्थापनमा ध्यान नपुर्याउँदा सम्भावित दुर्घटनाको जोखिम मोल्नुपर्ने स्थिति छ । खासगरी भकम्प, आगलागी, हावाहुरी जस्ता प्राकृतिक विपतमा झनै जोखिम हुने गरेको स्थानीयको भनाइ छ ।

हावाहुरी चल्दा पनि डर हुन्छ, तारहरू यसरी बटारिएको छ कि बिजुली सर्ट हुने बित्तिकै सबै सखाप हुने स्थिति छ, बीच बजारका स्थानीय व्यवसायी करण श्रेष्ठले भने ।

विद्युत् प्राधिकरणका कर्मचारीलाई पनि कुन सेवाग्राहीको कुन तार हो भनेर छुट्याउन मुस्किल हुने गरेको छ । टेलिफोनमा समस्या आउँदा प्राविधिकलाई पनि काम गर्न समस्या हुने गरेको बैङ्करोड स्थानीय सेवाग्राही विष्णुकुमारी राईले बताए।

सेवा लिँदा जोखिम पनि सँगसँगै थपिने गरेको उनको भनाइ छ । साँघुरिएको बजार क्षेत्रका सडकमा टाँगिएका होचा तारहरू ठूूला मालवाहक सवारीसाधनले चुँडाउने, बिगार्ने हुँदा लाइन सर्ट हुने जोखिम उत्तिकै मात्रामा रहेको पोखरेका स्थानीय अगुवा नवीन प्रधान बताउँछन् ।

सानो बाटो, घरजत्रा गाडी कुदाउँदा धेरै तार चुँडिने गरेको छ, डरमर्दाे स्थिति छ, न त बिजुली अफिसले हेर्छ, न टेलिकमले, न कुनै इन्टरनेट कम्पनीले, कतिबेला कसको धनजनको क्षति हुने हो, टुङ्गो छैन, प्रधानले भने ।

यता विद्युत् प्राधिकरणका कर्मचारीहरू भने स्थानीयवासीले तार व्यवस्थापनमा चासो नदिँदा समस्या आएको बताउँछन् । विद्युत् विस्तारको लाइनसँगै अन्य इन्टरनेट कम्पनी र नेपाल टेलिकमको तार एकै स्थानमा व्यवस्थापन गर्दा समस्या आएको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख सुधीरकुमार रायले बताए । गोरखापत्रबाट

easy care

प्रकाशित: २५ फाल्गुन २०७७, मंगलवार

ताजा समाचार