यस्तो छ सञ्चार मन्त्रालयले चालु आवको ६ महिनामा गरेका कामको प्रगति बिबरण

Technology Khabar २ फाल्गुन २०७७, आईतवार

यस्तो छ सञ्चार मन्त्रालयले चालु आवको ६ महिनामा गरेका कामको प्रगति बिबरण
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

सरकारले चालु आर्थिक वर्ष २०७७।७८ को मध्यावधिसम्ममा देशभर ५८६ किलोमिटर अप्टिकल फाइबर बिछ्याउन सफल भएको छ।

हालै सार्वजनिक गरिएको मध्यावधि समिक्षाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रगति बिबरणमा राष्ट्रिय अप्टिकल फाइबर नेटवर्क बिस्तार गरिएको उल्लेख गरिएको छ ।

मन्त्रालयकाअनुसार चालु आवमा ५८६ किलोमिटर राष्ट्रिय अप्टिकल फाइबर नेटवर्क बिस्तारका साथै देशका २४ वटा शहरहरुमा एफटीटीएच सेवा पुगेको जनाएको छ।

यसका साथै मन्त्रालयले गरेको प्रगति बिबरणमा पुस मसान्तसम्मको अवधिमा ५३७ स्थानीय तहका कार्यालय, ४३६३ वडा कार्यालय, ३६६३ माध्यमिक विद्यालय र ३०८१ स्वास्थ्य संस्थाहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गरिएको उल्लेख छ ।

त्यसैगरि मन्त्रालयअन्तरगत पाथीभरा, हलेसी, बराहक्षेत्र, जानकी मन्दिर र गुरुद्धारामा हटस्पट वाईफाई स्थापना गरिएको छ ।

मन्त्रालयले चालु आवको पहिलो ६ महिनामा ३४ वटा सरकारी निकायका वेबसाइटहरुको वेब सेक्यूरिटी अडिट सम्पन्न गरेको छ भने देशका सबै जिल्लाहरुमा फोरजी एलटिई बिस्तार तथा नागरिक एप्सको बीटा भर्सन संचालन गर्न सफल भएको जनाएको छ ।

मन्त्रालयले विभिन्न काम गरेको देखाएपनि पूँजीगत खर्च भने निराशाजनक छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मध्यावधिसम्ममा पूँजीगत खर्चको अवस्था समग्र मन्त्रालयहरु मध्ये सबैभन्दा कमजोर र न्यून रहेको देखिएको हो ।

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षाको अवधिसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पूँजीगत (विकास) खर्च १.९९ प्रतिशत मात्र गर्न सकेको छ । आब २०७७/७८ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि एक अर्ब ८४ करोड रुपैयाँ पूँजीगत बजेट छुट्याइएको थियो ।

त्यसमा मन्त्रालयले हालसम्म जम्मा ४ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मन्त्रालयले ३७ करोड रुपैयाँ खर्च गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष पूँजीगत खर्चको दरमा ९० प्रतिशतले कमी आएको छ ।

easy care

प्रकाशित: २ फाल्गुन २०७७, आईतवार