एनसेलले थप्यो २७ अर्ब लगानी, कुल ग्राहकमध्ये ६४ प्रतिशत स्मार्टफोन प्रयोगकर्ता

Technology Khabar १० पुष २०७७, शुक्रबार

एनसेलले थप्यो २७ अर्ब लगानी, कुल ग्राहकमध्ये ६४ प्रतिशत स्मार्टफोन प्रयोगकर्ता
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले करिब २७ अर्ब रुपियाँ लगानी थपेको छ ।

कम्पनीले हालै सार्वजनिक गरेको राष्ट्रिय योगदान प्रतिवेदन (२०१९/२०) अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै उपकरण खरिद, सेवा विस्तारलगायत गतिविधिमा २६ अर्ब ७७ करोड लगानी भएको छ ।

यो लगानी आर्थिक वर्ष २०७५/७६ को तुलनामा दोब्बरभन्दा बढी भएको पनि कम्पनीले जनाएको छ । उक्त आवमा कम्पनीले ११ अर्ब ९७ करोड रुपियाँ विकास खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार गत आवमा एनसेलले सरकारलाई मूल्य अभिवृद्धि कर, आयकरसहित दूरसञ्चार कम्पनीलाई अनिवार्य गरिएका शुल्कसमेत गरेर ३२ अर्ब ६२ करोड रुपियाँ करका रूपमा बुझाएको छ । त्यसअघिको आवमा कम्पनीले ३४ अर्ब ५५ करोड रुपियाँ कर बुझाएको थियो ।

कोभिड सङ्क्रमणका कारण आम्दानी प्रभावित भएपछि करको मात्रा केही घटेको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले आफ्नो विकास तथा सञ्चालन खर्चबाट प्रत्यक्ष वा परोक्ष रूपमा नेपालको अर्थतन्त्रलाई गत आवमा ६० अर्ब ५१ करोड रुपियाँ बराबरको योगदान पुर्याएको पनि दाबी गरेको छ ।

त्यस्तै एनसेल व्यवसायबाट करिब ५७ हजारलाई अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

एनसेलका अनुसार हाल कम्पनीका एक करोड ५७ लाख प्रयोगकर्ता छन् । ग्रामीण क्षेत्रमा ५९ प्रतिशत बीटीएस टावर स्थापना गरेको कम्पनीले ५८ प्रतिशत जनसङ्ख्यामा फोरजी पहुँच पुर्याएको दाबी गरेको छ ।

त्यस्तै एनसेलका ग्राहकमध्ये ६४ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने प्रतिवेदनमा उल्लेख छ । आजको गोरखापत्रबाट

easy care

प्रकाशित: १० पुष २०७७, शुक्रबार