नेपाल टेलिकमको निशुल्क पाईने पाठशाला सियुजी सिम, यस्तो छ सिमको सुबिधाहरु र लिने तरीका

Technology Khabar २१ मंसिर २०७७, आईतवार

नेपाल टेलिकमको निशुल्क पाईने पाठशाला सियुजी सिम, यस्तो छ सिमको सुबिधाहरु र लिने तरीका
नेपाल टेलिकमको भद्राकाली प्लाजा, सिंहदरबारमा रहेको केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरेको छ।

कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराएको हो ।

सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति पनि (असीमित) कुराकानी गर्न, शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको https//learning.cehrd.edu.np वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सक्नेछन् ।

यी सुविधा प्रयोग गरेवापत मासिक रुपले लाग्ने जम्मा रु. ९९ ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम स्थानीय निकायमार्फत सरकारले व्यहोर्ने छ । यस योजना बमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले १ थान निःशुल्क पाठशाला सियुजी सिमकार्ड लिन सक्नेछन् ।

कसरी लिने निशुल्क सिम ?

प्रशस्त सहुलियत प्रदान गरिएको आकर्षक यस योजनामा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ । विद्यार्थी र शिक्षकले चाहेमा पहिलेदेखि नै उनीहरुले प्रयोग गरिरहेको भएको प्रिपेड सिमकार्डलाई पनि पाठशाला सियुजीमा आबद्ध गर्न पनि सकिने र सिमकार्ड नहुनेहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिन सक्ने कम्पनीले जनाएको छ ।

विद्यार्थीको लागि सिमकार्ड लिँदा विद्यार्थीको नाममा वा अभिभावकको नाममा लिन सकिने छ । निःशुल्क सिम प्राप्त गर्नका लागि शिक्षक तथा विद्यार्थीले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम भरी सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ । यसरी आवेदन फारामको साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपी, विद्यार्थीको नागरिकताको प्रतिलिपी वा नागरिकता नबनेको भएमा अभिभावकको नागरिकताको प्रतिलिपीका साथै आवेदन फारामको निर्धारित स्थानमा एक प्रति फोटो टाँसिएको हुनु पर्नेछ ।

कसरी सियुजी सिममा आबद्ध हुने ?

विद्यालयले पाठशाला सियुजीमा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरुको सियुजीमा आबद्ध गर्नुपर्ने मोबाइल नम्बर र नाम सहितको विवरण तोकिएको ढाँचामा तयार गरेर सो विवरणसहित स्थानीय तहको सिफारिस साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी सो वापत लाग्ने शुल्क भुक्तानी गर्नुपर्दछ । त्यस पश्चात् सो ग्रुपमा अबवद्ध सबै मोबाइल नम्बरहरुमा एसएमएसमार्फत जानकारी उपलब्ध हुन्छ ।

के के छन सुबिधाहरु ?

प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको कोल्सड युसर ग्रुप (सियुजी) मा आबद्ध गरी मासिक जम्मा ९९ मा क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा, शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट चलाउन ५ जीबी डाटा सेवा र बल्क एसएमएस सुविधा समेत उपलब्ध गराइने छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा कक्षा १ देखि १० सम्मको पाठ्यक्रम र पाठ्यसामग्रीहरु उपलब्ध हुन्छ ।

पाठशाला सियुजी अफरको अवधि समाप्तिपश्चात पनि यो अफरमा आबद्ध मोबाइल नम्बरहरु प्रयोगकर्ता शिक्षक, विद्यार्थी र अभिभावकले अन्य प्रयोगकर्ताको मोबाइल नम्बर सरह नै निरन्तर प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमका देशभरिका सेवा केन्द्रहरुबाट सार्वजनिक विद्यालयले माग अनुसार निःशुल्क पाठशाला सियुजी सिम लिन सक्नेछन् ।

easy care

प्रकाशित: २१ मंसिर २०७७, आईतवार

ताजा समाचार