फोरजीमा अपग्रेड गराउन ग्राहकलाई लोभ्याउँदै नेपाल टेलिकम, मोबाइल एपमा पनि थप डाटा दिँदै

Technology Khabar २८ आश्विन २०७७, बुधबार

फोरजीमा अपग्रेड गराउन ग्राहकलाई लोभ्याउँदै नेपाल टेलिकम, मोबाइल एपमा पनि थप डाटा दिँदै
नेपाल टेलिकमको फोरजी सेवाको लोगो । फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो मोबाइल एपको प्रयोग र फोरजीमा स्तरोन्नतीलाई व्यापक बनाउने उद्धेश्यका साथ पहिलो पटक एप डाउनलोड गर्ने तथा फोरजी सिमकार्डमा स्तरोन्नती गर्ने सेवाग्राहीलाई ५०० एमबीसम्मको डाटा दिने भएको छ ।

यसअघि १०० एमबी मात्र डाटा दिँदै आएको कम्पनीले एपको प्रयोगलाई समेत ब्यापक बनाउने उद्धेश्यका साथ ५०० एमबी डाटा दिन लागेको हो ।

कम्पनीकाअनुसार २०७७ कात्तिक १ गतेबाट नेपाल टेलिकम एप पहिलो पटक डाउनलोड गर्दा ५०० एमबी डाटा एक पटकका लागि निशुल्क प्राप्त हुनेछ ।

यसैगरी *444# डायल गरी फोरजी सेवामा सिमकार्ड स्तरोन्नती गर्दा एक पटकका लागि ५०० एमबी (सबै नेटवर्कमा) र थप ५०० एमबी डाटा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने गरी निःशुल्क प्राप्त हुनेछ ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ग्राहकहरुलाई आकर्षित गर्न डाटा थप गरिएको बताए । ‘अहिले चाडवाडको लागि मात्र भनेर ल्याएका छौं आगामी दिनमा त्यसलाई बिस्तार समेत गर्न सकिनेछ,’ उनले भने ।*

यसबाहेक कम्पनीले अनलाइन कक्षालाई ध्यानमा राखेर ल्याएको ह्याप्पी लर्निङ प्याक अब सबैका लागि उपलब्ध गराएको छ ।

टेलिकमले यसअघि विद्यार्थीहरुका लागि मात्र उपलब्ध रहेको सो प्याक सबैले लिन सकिने बताएको हो । साथै सो प्याक लिनका लागि सम्बन्धित निकायको सिफारिश आवश्यक पर्ने व्यवस्था समेत हटाइएको जनाएको छ ।

*अपडेट

easy care

प्रकाशित: २८ आश्विन २०७७, बुधबार