वर्ल्डलिंक कम्युनिकेसन्स २५ औं वर्षमाः ४ हजारलाई रोजगारीसहित २१ लाख सेवाग्राहीलाई सेवा दिँदै

Technology Khabar ३० भाद्र २०७७, मंगलवार

वर्ल्डलिंक कम्युनिकेसन्स २५ औं वर्षमाः ४ हजारलाई रोजगारीसहित २१ लाख सेवाग्राहीलाई सेवा दिँदै

काठमाडौं ।

नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा रजत जयन्ती मनाउँदैछ।

२०५२ सालमा एउटा कम्प्युटरबाट सुरु भएको यो संस्था अहिले नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक तथा तेस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनीको रुपमा रहेको छ।

कम्पनीले कर्णालीका दुर्गम क्षेत्रसहित नेपालका ७३ जिल्लामा इन्टरनेट सेवा पुर्याउन सफल भइसकेको छ भने नेपालमा आउने ब्याण्डविथको ४३ प्रतिशत वर्ल्डलिंकले नै ल्याउने गरेको छ।

स्थापनाको २५ वर्षसम्म आइपुग्दा प्रविधिमात्र नभएर देशकै अर्थतन्त्रमा समेत उल्लेख्य योगदान गर्न सफल भएको छ।

वर्ल्डलिंक देशका सबैभन्दा बढी मूल्य अभिवृद्धि कर भ्याट बुझाउने संस्थाहरुको सूचीमा दशौं नम्बरमा आउँछ। यस्तै सूचना प्रविधिसँग सम्बद्ध संस्थाहरुमा सबैभन्दा बढी कर तिर्ने तथा सबैभन्दा धेरैलाई रोजगारी प्रदान गरी बढ्दो बेरोजगारीको समस्या हल गर्नमा केही हदसम्म योगदान गरेको कम्पनीको भनाई छ।

वर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको जानकारी दिएको छ । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तरगत सन् २०१८ देखि देशका विभिन्न सार्वजनिक स्थानहरुमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको हो । कम्पनीका अनुसार निःशुल्क इन्टरनेट सेवा दैनिक १ लाख ५१ हजार जनाले उपयोग गर्दै आएका छन् ।

कम्पनी नेपालको एक मात्र वैदेशिक लगानी भित्र्याउने इन्टरनेट सेवा प्रदायक कम्पनी हो जसमा बेलायतको सिडीसी कम्पनीले लगानी गरेको छ । सिडीसीले अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि पूर्वाधारमा लगानी गर्ने उद्धेश्यले वर्ल्डलिंक मार्फत लगानी गरेको हो ।

यसका साथै नेपाली इन्टरनेट सेवा प्रदायकहरुमध्ये सबैभन्दा धेरै सेवाग्राहीहरुमा नविनतम प्रविधि भित्र्याउन र प्रदान गर्ने उद्धेश्यका साथ कम्पनीले आईपीभी ६ प्रविधि आफ्नो नेटवर्कमा उपयोग गरेको छ ।

२१ लाख सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको कम्पनिले ४ लाख ८ हजार भन्दा बढि घरधुरीमा इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी दिएको छ ।

करिब ४ हजार जनालाई रोजगारी प्रदान गरेको वर्ल्डलिंकले १‍.२ टेराबाइट इन्टरनेट ट्राफिक खपत गर्ने जनाएको छ।

यस्तो छ कम्पनीको सफलताको यात्रा:

१९९५-९९

सन् १९९५ मा ललितपुरको जावलाखेलमा सानो कार्यालय खोलेर इमेल सेवाबाट आफ्नो यात्रा सुरु गरेको वर्ल्डलिंकले त्यसको एक वर्षपछि अर्थात् सन १९९६ मा नेपालमै पहिलोपल्ट व्यावसायिक रुपमा लिनक्स अपरेटिङ सिस्टम सुरु गर्‍यो। लिनक्स सुरु भएको अर्को वर्ष कम्पनीले डायल अप इन्टरनेट सेवाको पनि थाली गर्‍यो। यसपछि दुई वर्षसम्म कुनै नयाँ प्रविधि नभित्र्याएको कम्पनीले सन १९९९ मा अन्तर्राष्ट्रिय ब्याण्डविड्थ लिनका लागि भी-स्याट अर्थात् भेरि स्मल अपर्चर टर्मिनल (अन्तरिक्षमा रहेको अरुको स्याटेलाइटमा रहेका ट्रान्सड्युसरमा सानो ठाउँ किनेर त्यसैसँग मिलाइएको डिसमार्फत् सिग्नल प्राप्त गर्ने) प्रविधिको सुरुवात गर्‍यो। त्यही वर्ष काठमाडौमा मात्र सीमित डायल अप इन्टरनेट काठमाडौबाहिरका जिल्लाहरुमा पनि विस्तार गरियो।

२०००-२००३

त्यसको लगत्तै अर्को वर्ष अर्थात् सन २००० कम्पनीले वायरलेस ब्रोडब्याण्ड इन्टरनेट सेवा सुरु गर्‍यो। प्रत्येक वर्षजस्तो केही न केही नयाँ प्रविधि वा सेवा थप्दै गएको कम्पनीले त्यसको अर्को वर्ष नेपालमा पहिलोपल्ट कन्टेन्ट क्याश बनाउन अमेरिकामा मुख्य कार्यालय रहेको अकामाइ टेक्नोलोजिजसँग समन्वय गरेर काम सुरु गर्‍यो। त्यसको अर्को वर्ष अर्थात् सन् २००२ मा देशका मुख्य शहरहरुमा भी(स्याट प्रविधि विस्तार गर्‍यो। त्यसको अर्को वर्ष प्रविधिको सहजता बढाउने मार्गमा फड्को मार्दै कम्पनीले केबल इन्टरनेट सेवाको सुरुवात गर्‍यो।

झण्डै बर्सेनिजस्तो कुनै न कुनै सेवा ल्याइरहेको कम्पनीले सन् २००३ देखि २००५ सम्मको दुई वर्षमा कुनै नयाँ सेवा बजारमा ल्याएन। २००६ देखि भने लगभग दुई वर्षको अन्तरालमा केही न केही सेवा वा प्रविधि भने कम्पनीले भित्र्याउँदै गयो।

२००६-२०१०
सन् २००६ मा कम्पनीले देशका अझ धेरै शहरहरुलाई वायरलेस इन्टरनेटसँग आवद्ध गराउँदै प्रविधिको पहुँचमा धेरै भनरदा धेरैलाई सहजता प्रदान गर्‍यो। त्यसको दुई वर्षपछि अर्थात् सन् २००८ मा अन्तर्राष्ट्रिय ब्याण्ड्विड्थको बढोत्तरी र निरन्तरताका लागि भी-स्याट प्रविधिबाहेक नयाँ र विश्वासिलो प्रविधियुक्त सीमापार फाइबर कनेक्टिभिटीमा आबद्ध भयो। ताररहित रुपान ल्याउँदा स्पीड र डेटा लस हुने समस्या अब फाइबरमार्फत आउँदा अन्तर्राष्ट्रिय ब्याण्डविथको गुणस्तर निकै राम्रो हुने भयो। त्यसको दुई वर्षपछि सन् २०१० मा कन्टेन्ट क्याशका लागि गूगलसँग साझेदारी गर्‍यो।

२०१२-२०१६

सन २०१२ मा वर्ल्डलिंक कम्पनीले नेपालमै पहिलोपल्छ केबलमार्फत् १० एमबीपीएस क्षमताको इन्टरनेट सेवाको सुरुवात गर्‍यो।

त्यसको दुई वर्षपछि सन् २०१४ मा ‘फाइबर टु द होम’ अर्थात् एफटीटीएच सेवा सुरु गरेर ग्राहकका घरसम्मै फाइबर कनेक्शन दिन थाल्यो। त्यसको दुई वर्षपछि इन्टरनेटका माध्यमबाट हेर्न मिल्ने थुप्रै एचडी च्यानलसहितको आईपीटीभी सेवा पनि दिन थाल्यो।

२०१७-२०१९

यसरी थुप्रै सेवा र प्रविधि थप्दै गएको वर्ल्डलिंक सन २०१७ मा आएर सूचना प्रविधि क्षेत्रमा काम गर्ने संस्थाहरुमध्ये सरकारलाई सबैभन्दा बढी कर बुझाउने संस्था बन्न पुग्यो। त्यसै वर्ष कम्पनीले बच्चाहरुका सुरक्षाका लागि सेफ नेट पनि सञ्चालनमा ल्यायो।

त्यसको अर्को वर्ष शहरका विभिन्न ठाउँहरुमा पब्लिक वाइ फाइ सेवा पनि सुरुवात गर्यो। त्यसै साल नेपालमा आईपीभी६ अर्थात् इन्टरनेट प्रोटोकल भर्जन ६ पनि आत्मसात गर्‍यो।

यसरी विभिन्न सेवा र प्रविधि भित्र्याएर अर्थतन्त्रमा समेत उल्लेख्य योगदान गरेको वर्ल्डलिंकलाई सरकारले आईसीटी अवार्डबाट सम्मानित गर्‍यो। त्यसै वर्ष कर्णालीका दुर्गम क्षेत्रहरुमा समेत इन्टरनेट सेवा विस्तार गरेको कम्पनीले सीडीसीबाट अन्तर्राष्ट्रिय लगानी समेत भित्र्याउन सफल भयो।

easy care

प्रकाशित: ३० भाद्र २०७७, मंगलवार