Technology Khabar ३० फाल्गुन २०७६, शुक्रबार
एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ (Invoice Discounting) प्लेटफर्मको कार्य सुरुवात भएको अधिकारिक घोषणा गर्नुका साथै यसका प्रथम प्रयोगकर्ताहरुलाई सम्मानित गरेको छ ।
सम्मानित हुनेहरुमा प्रथम बैंकको रुपमा मेगा बैंक, प्रथम क्रेता कम्पनीको रुपमा हामा कन्सट्रक्सन प्रालि र प्रथम बिक्रेता कम्पनीको रुपमा बि एल स्टील प्रालि रहेका छन् ।
‘क्वीक भुक्तानी’ युकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । आबद्ध बैंकहरुले आफ्ना ग्राहकहरुलाई यस प्लेटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराँउदछन् भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्दछ ।
‘क्वीक भुक्तानी’ यस्तो अनलाईन प्लेटफर्म हो जसले बिभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता (सप्लायर) , ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ ।
सप्लायरले यो प्लेटफर्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ ।
यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्पूर्ण रकम क्रेता कम्पनीबाट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: ३० फाल्गुन २०७६, शुक्रबार