७७ जिल्लामा पुगेको भनिएको नेपाल टेलिकमको फोरजी सेवामा अझै देखिँदैनन् ग्राहक

Technology Khabar २२ माघ २०७६, बुधबार

७७ जिल्लामा पुगेको भनिएको नेपाल टेलिकमको फोरजी सेवामा अझै देखिँदैनन् ग्राहक
नेपाल टेलिकमको फोरजी सेवाको लोगो । फाइल तस्बिर

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १६ औं वार्षिकोत्सव मनाईरहँदा ७७ जिल्लामा फोरजीसेवा बिस्तार भएको जानकारी दिएको छ । कम्पनीले हुम्लाको सिमकोटमा मंगलबार फोरजी जडान र परीक्षण गरेसँगै देशभरका ७७ जिल्लामा फोरजी पुगेको बताएको हो ।

एक वर्षभित्रै देशभर फोरजी सेवा बिस्तार गर्ने सम्झौता गरेको नेपाल टेलिकमले सोहि अनुसार फोरजी सेवा पुर्याएको प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीलाई उदृत गर्दै आज गोरखापत्रले रिपोर्ट प्रकाशित गरेको छ ।

नेपाल टेलिकमले सबै जिल्लामा फोरजी सेवा पुगेको दाबी गरिरहँदा भने १ वर्षभित्र फोरजी सम्पन्न गर्ने सम्झौताअनुसार भने कामगर्न सकेको छैन् । गत वर्ष माघ २० गते देशभर फोरजी सेवा बिस्तारका लागि ४ हजार २ सय टावरमा फोरजी उपकरणहरु जडान र ६४० वटा नयाँ टावर बिस्तार गर्ने योजना लिएको थियो तर १ वर्षको समय बितिसक्दा पनि कम्पनीले केबल २ हजार ३८ साइटका ३ हजार ६८३ टावरमा मात्र फोरजी उपकरणहरु जडान गर्न सकेको हो । सो अवधिमा करिब २ सय टावरहरु मात्र नयाँ थपिएका छन् ।

यसअघि टेलिकमले फोरजी सेवाको सम्झौता गर्दा ६ हजार ७३७ साइटहरु आउटडोरमा तयार हुने र इन्डोरका लागि ५ हजार ८ सय २५ साइटहरु पुग्ने दाबी गरेको थियो । तर सो अनुसार टेलिकमले १ वर्षमा सेवा बिस्तार गर्न सकेको छैन् ।

त्यसैगरि कम्पनीले सोहि अवधिमा शुरुगर्नुपर्ने भीओएलटिई सेवा पनि दिन सकेको छैन् । जसले गर्दा ४जी नाममात्रको रहेको छ । हाल डाटा चलाईरहेको बेलामा एलटिई आउने भएपनि सोहि समयमा मोबाइलमा फोन आउँदा डाउनफल हुने अझै समस्या ज्यूँका त्यू रहेको छ । तर कम्पनीले यसअघि दाबी गरेजस्तो भीओएलटिई वा भीओवाईफाईको सुविधा अझै उपलब्ध छैन् ।

टेलिकमले आफ्नो प्रगति बिवरणमा पनि भीओएलटिई बारेमा उल्लेख गरेको छैन र केबल एलटिई एडभान्स सेवाको बारेमा मात्र जानकारी दिएको छ ।

टेलिकमले सो अवधिमा निर्माण गर्नुपर्ने नयाँ ६४० टावरहरुको लक्ष्यमध्ये हाल केबल एक तिहाई अर्थात करिब २ सयवटा टावर मात्र निर्माण गर्न सकेको छ भने बाँकी कहिले निर्माण हुन्छ भन्ने स्पष्ट लक्ष्य छैन् । फोरजी देशभर पुगेपछि टेलिकमले ६५ लाख ग्राहकहरु फोरजीमा आबद्ध हुने दाबी गरेकोमा कात्तिक महिनाको नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक हेर्ने हो भने केबल ८ लाख ३९ हजार ५८० ग्राहकहरुसँग मात्र फोरजी प्रयोग गरिरहेका छन् ।

टेलिकमले भनेको ६५ लाख फोरजी ग्राहकहरुको दाबीमा अझै ५६ लाख ६० हजार भन्दा बढि ग्राहकहरु बाँकी रहेका छन् । ती ग्राहकहरु कहिले फोरजीमा पुग्लान भन्ने नै स्पष्ट छैन् । किनकी नेपाल टेलिकमको पुस महिनाको सक्रिय ग्राहकहरुको संख्या हेर्दा पनि करिब ९० लाख ग्राहकहरु रहेका छन र त्यसमध्ये अधिकांश ३जी र २जीका ग्राहकहरु छन् ।

सक्रिय ग्राहकहरुको संख्याको हिस्सा तिब्ररुपमा बढाउन नै नसकेको टेलिकमले आफ्ना ४ जीका ग्राहकहरु कहिले ६५ लाख पुर्याउला भन्ने पनि प्रश्न आउँछ ।

अर्कोतर्फ टेलिकमले फाइबर टू दि होम अर्थात एफटिटिएच सेवाको बिस्तार गरेर हालसम्म १ लाख भन्दा बढि पुर्याउनुपर्नेमा हालसम्म करिब १२/१३ हजार ग्राहकहरु मात्र सो सेवामा जोडिएका छन् । समयमा शहरी क्षेत्रभित्रै सेवा बिस्तार गर्न नसक्नु, उपयुक्त समयमा मर्मतको सुविधा दिन नसक्नु र कर्मचारीहरुको कमजोर कार्य प्रणाालीले गर्दा पनि टेलिकमले संभावनायुक्त एफटिटिएसको सेवा बिस्तार गर्न सकेको छैन् ।
यी वास्तविक तथ्यांकहरुका बिचमा टेलिकमले आफ्ना फोरजी ग्राहकहरु हालसम्म कति पुगे, भीओएलटिई सेवा कहाँ कहाँ उपलब्ध छ वा एफटिटिएच सेवाका ग्राहकहरु कति पुगे भनेर आफ्नो प्रगति बिबरणमा समेत उल्लेख गर्न सकेको छैन् ।

त्यस्तै आफ्नो ८०० मेगाहर्ज ब्याण्ड र १८०० मेगाहर्ज ब्याण्डमा सेवा दिईरहँदा ती दुबै फ्रिक्वेन्सीको प्रयोगको अवस्था कस्तो छ भन्ने अझै स्पष्ट छैन् । विशेषगरि दूर्गम क्षेत्रमा उपयोगी हुने ८०० मेगाहर्ज ब्याण्डको प्रयोगकर्ताहरुसम्म अझै सो ब्याण्ड भएको मोबाइल फोनहरु पुग्न सकेको छैन् । किनकी ८०० मेगाहर्ज ब्याण्ड भएका मोबाइल फोनहरु केहि महंगा हुने गर्दछन् ।

जसले गर्दा कम्पनीले ८०० मेगाहर्ज ब्याण्डबाट कसरी आम्दानी गर्ने (मनिटाइज)भन्ने चुनौती समेत रहेको छ । अर्कोतर्फ सोहि ब्याण्डमा देखिएको फ्रिक्वेन्सी इन्टरफेरेन्सको समस्यालाई समाधान गर्नुपनि टेलिकमको चुनौती हो । एक प्रकृतिको ब्याण्डमा जिएसएम र सिडिएमए संचालन हुँदा यस्तो समस्या आउने गर्दछ ।

easy care

प्रकाशित: २२ माघ २०७६, बुधबार