इन्टरनेट सेवा प्रदायक क्लासिक टेक दूरसंचार प्राधिकरणको निर्णय विरुद्ध गयो पुनरावेदनमा

Technology Khabar २७ कार्तिक २०७६, बुधबार

इन्टरनेट सेवा प्रदायक क्लासिक टेक दूरसंचार प्राधिकरणको निर्णय विरुद्ध गयो पुनरावेदनमा

काठमाडौं ।

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो कम्पनीलाई नेपाल दूरसंचार प्राधिकरणले गरेको जरिवाना निर्णयको विरुद्धमा सरकारसमक्ष पुनरावेदन गरेको छ । कम्पनीले गएको बिहिबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा पुनरावेदनको लागि निवेदन दिएको हो ।

कम्पनीका संचालक निरज खरेलले आफूहरुले पुनरावेदनको लागि निवेदन दिएको जानकारी दिए ।

‘हाम्रो वकिलले बिहिबार संचार मन्त्रालयलमा पुनरावेदनको लागि निवेदन दिएको हो, सबै विषय मलाई पनि थाहा छैन तर प्राधिकरणको जरिवाना निर्णय विरुद्ध हो,’ क्लासिक टेकका संचालक खरेलले टेक्नोलोजी खबरसँग भने ।

यसअघि क्लासिक टेकले अनधिकृतरुपमा तनहुँको यूनिक डिजिटल नेटवर्क प्रालिलाई इन्टरनेट कनेक्सन दिएको र सो यूनिक डिजिटलले इन्टरनेट सेवाको लाइसेन्स नै नलिई ग्राहकहरुलाई सेवा दिईरहेको प्राधिकरणले भेटेको थियो । क्लासिक टेकले चितवन नेटवर्कलाई दिएको इन्टरनेट सेवा तनहुँको दमौलीमा रहेको यूनिक डिजिटल नेटवर्क कम्पनीले अनधिकृतरुपमा संचालन गरिरहेको अनुगमनको क्रममा भेटिएको थियो।

सोहि अनुगमन प्रतिवेदनको आधारमा प्राधिकरणले क्लासिक टेकसहित चितवन नेटवर्क र यूनिक डिजिटल नेटवर्कलाई प्रति कम्पनी ५ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो भने यूनिक डिजिटलको सम्पूर्ण उपकरणहरु जफत गर्ने निर्णय गरेको थियो।

सोहि निर्णयमा कम्पनीलाई मर्का परेको भन्दै क्लासिक टेक प्राधिकरण विरुद्ध पुनरावेदनमा गएको हो । क्लासिक टेकको सो मुद्धा अब पुनरावेदन समितिले सुनुवाई गर्नेछ।

अन्य दुई कम्पनीहरु चितवन नेटवर्क र यूनिक डिजीटलले भने प्राधिकरणलाई जरिवाना रकम तिरिसकेका छन् ।

दूरसंचार नियमावली २०५४ अनुसार गठन हुने सो पुनरावेदन समितिमा पुनरावेदन अदातलको बहालवाला न्यायाधिश वा नेपाल न्याय सेवाको विशिष्ठ श्रेणीको अधिकृत अध्यक्ष रहने व्यवस्था छ । त्यसैगरि समितिमा नेपाल सरकारले तोकेको राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको विशेषज्ञ अधिकृत र कानून क्षेत्रमा अनुभव प्राप्त गरेका अधिकृत कर्मचारीहरुमध्येबाट सरकारले तोकेको व्यक्ति सदस्यको रुपमा रहन्छन् ।

सो समितिले बहुमतको आधारमा आफ्नो राय दिने प्रावधान रहेको छ ।

easy care

प्रकाशित: २७ कार्तिक २०७६, बुधबार

ताजा समाचार