नेपाल टेलिकमको फोरजी सेवा शुभारम्भ कार्यक्रममा किन सुनिएन आवाज ? यस्तो छ भित्री कारण

Technology Khabar १६ आश्विन २०७६, बिहीबार

नेपाल टेलिकमको फोरजी सेवा शुभारम्भ कार्यक्रममा किन सुनिएन आवाज ? यस्तो छ भित्री कारण

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले आफ्नो फोरजी एलटिई सेवाको शुरुवात गरेको छ । वुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग कुराकानी गरेर सो सेवा शुरुवात गरेका हुन् ।

सेवा शुभारम्भको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले मोबाइल भित्र सूचना, प्रविधि, ज्ञान सबै रहेको भन्दै यसले आगामी दिनमा शिक्षा, स्वास्थ्य, आर्थिकलगायतका क्षेत्रहरुमा योगदान दिने बताए ।

उनले विकासको कार्यमा तिब्ररुपमा अगाडि बढ्नुपर्ने भन्दै देशभर बिस्तारको क्रममा रहेको अप्टिकल फाइबरको कार्य तत्काल गरिनुपर्नेमा जोड दिए ।

‘अप्टिकल फाइबर बिस्तारको काम अबिलम्ब गनुपर्दछ । जिम्मा लिनेले पनि काम पुरागर्नुपर्ने र बिलम्ब सह्य र मान्य हुनसक्दैछ । गर्न सकिँदैन भने फिर्ता लिनुस र काम समयमा हुनपर्यो, प्रधानमन्त्री ओलीले भने ।

त्यसैगरि संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकमले यो वर्ष ४ प्रतिशत बजार बिस्तार गरेको र आगामी दिनमा भ्वाइसमा भन्दा डाटामार्फत अगाडि बढाउनुपर्ने बताए ।

‘एनटिसी नाफामा मात्रै जान सक्दैन। यो जनताको सेवा गरिरहेको छ । त्यसैले नाफामा मात्र केन्द्रित हुँदैनौं,’ उनले भने ।

मन्त्री बास्कोटाले टेलिकमले आर्थिक नियमहरु पालना गर्नुपर्ने भन्दै तयसले गर्दा सेवामा बेलाबेलामा समस्या हुने गरेको बताए । उनले अप्टिलक फाइबर बिस्तारको कार्यपनि १८ महिनाभित्रै शुरु गर्ने जानकारी दिए ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशभरका उपभोक्ताहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको र सोहि उद्धेश्यअनुरुप फोरजी सेवा बिस्तार गर्न सफल भएको बताए । उनले डिजिटल समावेशी सुनिश्चित गर्ने र सरकारको नीतिलाई पछ्याउँदै अगाडि बढेको स्पष्ट पारे ।

यो सेवाको बिस्तारसँग नेटवर्कको क्षमता, नेटवर्कको पहुँच र गुणस्तरमा आश्चार्यजनकरुपमा वृद्धि हुने अपेक्षा गरेका छौं, प्रबन्ध निर्देशक अधिकारीले भने ।

शुरुवातमै प्राविधिक समस्या
नेपाल टेलिकमको फोरजी सेवा ३२ जिल्लाहरुमा बिस्तार गरिएको फोरजी सेवाको उद्घाटन कार्यक्रममा प्राविधिक समस्या देखिएको थियो । कार्यक्रममा मुख्यमन्त्रीहरुसँग फोरजी प्रविधिमार्फत भिडियो कन्फ्रेन्सिंग गरेर सेवा शुरु गरिएको भएपनि सेवा संचालनमा समस्या देखिएको थियो ।

मुख्यमन्त्रीहरुले बोलेको नसुनिने र प्रधानमन्त्रीले बोलेको मुख्यमन्त्रीहरुले नसुनिने सामान्य प्राविधिक विषयहरुलाई पनि टेलिकमका ईन्जिनियरहरुले समाधान गर्न सकेनन् ।

यस्तो छ भित्री कारण
प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग कुराकानी गरेर सेवा शुरु गरिएको भएपनि बोलेको नसुनिने र बेला बेलामा भिडियो नदेखिने समस्या आएको थियो ।

त्यस्तो समस्या टेलिकमका ईन्जिनियरहरुको सामान्य कमजोरीका कारण भएको टेलिकमकै एक अधिकृतले बताए । उनले फोरजी स्मार्टफोनबाट सामान्यरुपमा नै फोरजीमार्फत कुराकानी गराउन खोज्दा समस्या देखिएको स्पष्ट पारे ।

‘ईन्जिनियरहरुले सो बारेमा विचार पुर्याउनुपर्दथ्यो, प्रधानमन्त्रीले उद्घाटन गरेको सेवामा नै कमजोरी देखियो,’ उनले भने ।

अर्का एक ईन्जिनियरले भने परिक्षणको अवस्था र व्यवहारीक प्रयोग फरक हुँदा समस्या आएको बताए ।

‘हामीले इन्डोर परिक्षण गरेका थियौं, तर मुख्यमन्त्रीहरुसहितको कार्यक्रम भने आउटडोरमा भएको थियो, त्यसैले समस्या देखियो, हामीले पनि यसबारेमा ध्यान दिएका थिएनौं, त्यसैले कमजोरी भयो,’ उनले भने ।

आगामी दिनमा यसले टेलिकमका ईन्जिनियर तथा अधिकारीहरुलाई पनि पाठ सिकाएको उनले बताए । त्यसैगरि माइक्रोफोन वा हेडसेट मुख्यमन्त्रीहरुलाई उपलब्ध नगराउँदा पनि साउण्ड नसुनिने समस्या आएको स्पष्ट पारे ।

उद्घाटनसँगै टेलिकमको फोरजी सेवा ५० भन्दा बढि शहरहरुमा शुरु भएको छ जहाँ ८०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी संचालन हुनेछ । टेलिकमको फोरजी सेवा औसतमा १३० एमबीपीएसको डाटा स्पीड दिने कम्पनीले जानकारी दिएको छ ।

easy care

प्रकाशित: १६ आश्विन २०७६, बिहीबार