शुरुभयो डिजिटल मालपोत अभियान

Technology Khabar ४ चैत्र २०७५, सोमबार

शुरुभयो डिजिटल मालपोत अभियान

काठमाडौं ।

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ’डिजिटल’ मालपोत बनाउने अभियान शुरू गरेकी छिन्। जनतासँग प्रत्यक्ष सरोकार राख्ने मालपोत र नापी कार्यालयसँग जोडिएर धेरै जनगुनासा आएकाले मालपोत र नापी कार्यालयलाई डिजिटल कार्यालय बनाउन मन्त्री अर्यालले अभियान शुरु गरेकी हुन् ।

सो अभियान पहिलो चरणमा काठमाडौंँ उपत्यकाका मालपोत तथा नापी कार्यालयबाट शुरू गरिएको छ । त्यसअन्तर्गत मन्त्री अर्यालले कलंकी मालपोत कार्यालयको आज अनुगमन गरिन् ।

देशैभर मालपोत र नापी डिजिटल

कार्यालय अनुगमनपछि मन्त्री अर्यालले एक वर्षभित्र देशैभरका मालपोत र नापी कार्यालयलाई नमूना बनाउने गरी मन्त्रालय अगाडि बढेको बताउँदै आगामी असारभित्र काठमाडौँ उपत्यकाभित्रका सबै मालपोत र नापी कार्यालयलाई नमूना बनाइने बताईन् ।

‘आगामी असार मसान्तसम्म उपत्यकाका सबै मालपोत र नापी कार्यालय डिजिटल बनाउन लागेका छौँ । त्यसको शुरूआत कलङ्कीबाट गरिएको छ । त्यसपछि डिल्लीबजार र चाबहिलबाट काम शुरू गर्छौँ,’ मन्त्री अर्यालले भनिन्, ‘असार मसान्तसम्म उपत्यकाका सबै मालपोत कार्यालय डिजिटल बनाउछौं, त्यसपछि देशैभरका २४४ वटा मालपोत र नापी कार्यालय एक वर्षभित्र डिजिटल बनाएर सबै कार्यालय डिजिटलमय बनाउने गरी हामी अगाडि बढाउछौँ ।’

पुराना धमिरा लागेका कागजपत्र खिँचेर अहिले स्क्यानिङ गर्ने र डिजिटल भर्सनमा लगेर व्यवस्थित गर्नेगरी अगाडि बढेको छ भन्दै उहाँले केही कागजात पुरानो भएका कारण काम गर्न अलिकति ढिलाइ भइरहेको स्पष्ट पारिन्।

मन्त्री अर्यालले एकद्वार प्रणालीमार्फत जनताको काम गरिने बताउँदै भनिन्, ‘एक ठाउँबाट पेश गरेको डकुमेन्ट बढीमा आधा घण्टामा अर्को ढोकाबाट काम पुरा भएर डकुमेन्ट निस्कने वातावरण बनाउन खोजेका हौँ, यसो गर्दा ७० प्रतिशत भ्रष्टाचार कम हुन्छ भन्ने विश्वास छ ।’

अनलाइन सेवा शुरू भएका १९ कार्यालय हेर्दा पछिल्ला वर्षमा राजस्वमा निकै बढोत्तरी भएकाले डिजिटल सेवा सफल हुने मन्त्री अर्यालको विश्वास छ । अब सबै कार्यालयमा बैंकिङ कारोवारमार्फत काम हुने मन्त्री अर्यालले बताईन्।

easy care

प्रकाशित: ४ चैत्र २०७५, सोमबार